२०८१ बैशाख ८ शनिबार

शैक्षिक सत्र शुरू भइसक्यो, ३३ लाख पाठ्यपुस्तक अझै छाप्न बाँकी थप सामग्री :

शिक्षा
शैक्षिक सत्र शुरू भइसक्यो, ३३ लाख पाठ्यपुस्तक अझै छाप्न बाँकी।

शैक्षिक सत्र शुरू भएको तीन साता बित्नै लाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन। विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पाठ्यपुस्तक अभाव भएको हो।

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ। विगतमा पनि केन्द्रले समयमै पुस्तक छाप्न नसकेको भन्दै केही वर्षअघि नै सरकारले निजी क्षेत्रलाई पुस्तक छपाइको जिम्मा दिएको थियो।

जनक शिक्षाले अझै ३३ लाख थान पाठ्यपुस्तक छाप्नै बाँकी रहेको छ। चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पाठ्यपुस्तक छपाइ सकिएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए।

जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ । “यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हो, अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरिसक्यौं, बाँकी पुस्तक असार पहिलो सातासम्म छपाइसक्छौं र अबको एक महीनाभित्र नै विद्यार्थीको हात हातमा पुस्तक पुग्छ,” झाले भने।

विक्रेता केन्द्र मार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण शुरू गरिसकेको जनाउँदै उहाँले काठमाडौं उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताए। बाहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक-दुई ट्रक पठाइरहेको पनि उनले जानकारी दिए।

केन्द्रका सूचना अधिकृत चित्र आचार्यले पुस्तक वितरण ढिलाइ हुँदा विद्यार्थीको हातमा पुग्न पनि ढिलाइ भएको दाबी गरे। आचार्यले भने, “शैक्षिक सत्र शुरू हुनुभन्दा १५ दिन अगाडि नै पुस्तक बिक्री वितरण हुनुपर्थ्यो, यस वर्ष स्थानीय तह निर्वाचनले गर्दा जेठ ९ गतेबाट मात्रै पुस्तक वितरण शुरू भयो, फेरि बाहिर हल्ला जस्तो सबै पुस्तक सबै ठाउँमा अभाव भएको छैन, केही कक्षाका सेटमा एक-दुई विषयको पुस्तक अपुग भएको छ, त्यो पनि असारको २० गतेसम्म सबै विद्यार्थीको हात हातमा पुग्छ।”

कक्षा ४, ७ र ९ को कोर्स नयाँ भएकाले ती कक्षाका सबै विषयको पुस्तक सेटमै सबै विद्यार्थीको हातमा पुगेको दाबी गर्दै उनले ५, ६ र ८ को पुस्तकको हकमा भने सेटमा केही विषय कुनै कुनै जिल्लामा मात्रै अपुग रहेको जिकिर गरे। यस वर्ष निजी विद्यालयले पनि जनक शिक्षाको केही पुस्तक केही कक्षामा लगाएका कारण केही विषय बजारमा अभाव भएकाले पुस्तक बढी छाप्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

कागजको नियमित आपूर्ति नहुँदा र जनक शिक्षाले स्थानीय तहको निर्वाचनको मतपत्र छपाइलाई विशेष ध्यान दिएर त्यसमै जनशक्ति एवं छापाखाना प्रयोग गर्नुपर्दा पुस्तक छपाइमा केही ढिला हुन गएको सूचना अधिकृत आचार्यले बताए। उनका अनुसार, अहिले जनक शिक्षाले दैनिक ८० हजार थान पुस्तक छाप्दै आएको र प्रज्ञा प्रतिष्ठानले २५ हजार थान गरेर दैनिक एक लाख पाँच हजार थान पुस्तक छाप्दै आएका छन्।

यसैबीच केन्द्रले पुस्तक छपाइमा ढिलाइ गरेपछि संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले समेत केन्द्रका प्रबन्ध निर्देशक झासँग सोधपुछ गरेको थियो। उनले रूस–युक्रेनबीचको युद्धका कारण कागज नआउँदा र स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइ गर्दा समयमै पुस्तक छाप्न नसकिएको बताए। 

असोज २४ गते चैतको १० गतेसम्ममा सम्पूर्ण कागज आपूर्ति गरिसक्नुपर्ने सम्झौता कागज सप्लायर्ससँग गरिए पनि त्यस बीचमा रूस–युक्रेन युद्ध शुरू भएपछि कागज आपूर्तिमा समस्या भएकाले पुस्तक छपाइमा ढिला भएको दाबी केन्द्रको छ।

संसदीय समितिले एक महीनाभित्र पुस्तक छापेर विद्यार्थीसम्म पुर्‍याउन निर्देशन दिएको थियो। 

२०७९ जेष्ठ १७, मंगलवार प्रकाशित 1 Minute 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार