२०८१ बैशाख ११ मंगलवार

देशभित्र रोजगारी पाइदैन, वैदेशिक रोजगारीमा नगएर कहाँ जाउँ ?

गत चैत महिनामा कैलालीको टीकापुरका मन्दिप चन्द भारतबाट कोरोनाको त्रासले रोजगारी छोडेर नेपाल फर्किए । चन्द भारतको चेन्नईमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । भारतमा कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँग चन्द धेरै कष्ट भोगेर नेपाल फर्किए ।

कोरोना महामारीमा धेरै समस्या भोगेर नेपाल फर्किएपछि पुनः भारत काम गर्ने नजान्ने सोच बनाएर आएको चन्द बताउँछन् ।

‘के गर्नु भने जस्तो कहाँ हुँदो रहेछ । नेपाल आएको ६ महिना भयो । काम पाइँदैन्,’ उनले भने, ‘देशभित्र सामान्य रोजगारी नपाएपछि परिवार र छोराछोरी कसरी पढाउन आफैं भन्नुहोस न रु’

भारतमा सुरक्षा गार्डको काम गरेर मासिक २७ हजार कमाइ हुन्थ्यो । नेपालमा भएको १० कट्ठा जग्गमा धान रोपाइ गरेपछि काम नपाएको उनको भनाइ छ ।

यस्तै, बैतडीको दशरथचन्द नगरपालिकाका सागर क्षेत्री पनि ५ वर्षदेखि भारतको केरलामा रोजगारी गर्दै आएका छन् । क्षेत्री कोरोना भाइरसको महामारी फैलिएसँगै गत वैशाखमा नेपाल फर्किएको क्षेत्रीले बताउँछन् ।

केरला एक होटलमा मजदुरी गरेर मासिक २० हजार भारतीय रुपैयाँ कमाउने गरेको क्षेत्रीले बताए ।

‘गाउँघरमा काम पाइँदैन् । रोजगारी नपाएपछि जोखिमको परवाह नगरी घरखर्च चलाउन भारत जानुपर्ने बाध्यता नै छ,’ उनले भने, ‘भारतमा काम गर्ने नगए साँझ बिहान खान लाउन समेत धौधौ हुन्छ । रोजगारी नभएपछि पैसा हुँदैन । आफै त जसोतसो बाँचिएला तर, छोरोछोरी र परिवार कसरी पाल्ने रु उनीहरुको मायाले पिरोल्न थाल्यो ।’

भारतमा कमाएको पैसाले घरखर्च लगायत छोराछोरी पढाउने गरेको उनको भनाइ छ ।

क्षेत्री र चन्द जस्ता धेरै प्रदेश नम्बर ४, ६ र ७ का नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । यी प्रदेशबाट वार्षिक ५ लाख नेपाली रोजगारीका लागि भारत जाने गरेको सरकारी अनुमान छ । भारतमा होटल, सुरक्षा गार्ड, निर्माण क्षेत्रमा, मजदुरी र अन्य विभिन्न क्षेत्रमा रोजगारी लागि जाने गरेका छन् ।

भारतबाट कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरि पुरानै रोजगारीका लागि विदेशीदै छन् । केही महिना गाउँघरमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल देख्न थालेपछि चाँडपर्वका मुखमा फेरि भारत जान थालेका हुन् । भारत रोजगारीका लागि जाने नेपालीको सीमा र भारतका रेल स्टेशनमा भीड नै लागेको छ ।

खाडी, मलेसिया र अन्य देश फर्किदै

कतारबाट गत फागुनमा घर विदामा आएका भोजपुरका रमण लिम्बू पनि नेपालमा रोजगारीको अवसर नदेखेपछि पुनःश्रम स्वीकृति लिएर उडानको प्रतीक्षामा छन् । लिम्बू कतारको डिवाइज फनिर्चर कम्पनीमा कार्यरत थिए । उनी गत फागुनमा घर विदामा आएका हुन् ।

देशभित्र रोजगारी र केही गर्नेसक्ने सम्भावना नहुँदा पुनस् रोजगारीका लागि जान पुनःश्रम स्वीकृति लिएको लिम्बूले बताए ।

‘नेपालमा बेरोजगारी भएर बस्नुभन्दा मासिक ३० हजार कमाउन कतार जान लागेको हुँ । बाँच्नका लागि भएपनि वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘सरकारसँग बेरोजगारी युवालाई ६ महिनासम्म रोजगारी दिनसक्ने क्षमता छैन । हामी विदेश नगएर कहाँ जाउँ त रु’

सरकारले बेरोजगार नागरिकलाई देशभित्र रोजगारी दिने र अवसर सिर्जना गर्ने योजना नभएका कारण धेरै नेपाली जोखिम मोलेर विदेशिनुपर्ने उनको बुझाई छ ।

यसैगरी, काभ्रेका मिलन तामाङ पनि बहराइनबाट गत माघमा घर विदामा आएका थिए । मिलनले अर्को साता बहराइन जानका लागि पुनःश्रम स्वीकृति लिइसकेका छन् । बहराइनको ग्रिल कम्पनीमा मिलन काम कार्यरत थिए ।

‘स्वदेशमा बस्दा काम नपाएपछि आफूहरु मात्र होइन परिवारमै समस्या हुन्छ । कमसेकम बहराइन गयो भने परिवार पाल्न माध्यम त बन्छ । विदेशीको रोजगारीले धेरै चुलो बलेको छ,’ उनले भने, ‘स्वदेशमा बेरोजगार बस्नुभन्दा विदेशमा कोरोना लागेपनि औषधी खाँदै काम गर्ने हो । देशमा काम पाइन्छ भन्ने लाग्दैन ।’

सरकारलाई रेमिट्यान्स भए पुग्ने र बेरोजगार नागरिक विदेशमा मरून् या बाँचुन् भन्नेसँग सरकारको सरोकार नभएको उनको आरोप छ ।

तामाङ र लिम्बूजस्ता धेरै वैदेशिक रोजगारीबाट घर विदामा आएका कामदार पुनः विदेश फर्कन आतुर देखिन्छन् । उनीहरु त प्रतिनिधि पात्र हुन् । लिम्बू र तामाङ जस्ता धेरै घर विदामा आएका नेपालीहरू नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा फर्किने तयारीमा छन् ।

सरकारले गत असारमा वैदेशिक रोजगारीबाट घर विदामा आएका कामदारका हकमा पुनः श्रम स्वीकृति खुलाएको थियो । असार महिनायता करिब ५ हजारले विदेश फर्कन पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका ३० हजार कामदार रोकिएको विभागले जनाएको छ । उनीहरु सार्वजनिक यातायात नचलेका कारण रोकिएको विभागले जनाएको छ । वैदेशिक रोजगारीमा करिब ४४ लाख नेपाली विभिन्न देशमा कार्यरत रहेको सरकारी अनुमान छ ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएर करिब २ लाख स्वदेश फर्किन विभिन्न देशमा उद्धारको प्रतीक्षामा रहेका र करिब ४५ हजार चार्टर उडानमार्फत स्वदेश फर्किएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले रोजगारी गुमाएका नागरिकको आयआर्जन बढाउँदै उनीहरुको ज्ञान सीप क्षमताको प्रयोग गरी कृषि तथा गैरकृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र अर्थतन्त्र गतिशील बनाउने जस्ता क्रियाकलाप सञ्चालनमा समेत बजेटले प्राथमिकता दिएको छ ।

तर, विदेशमा सीप सिकेर आएका नेपाली स्वदेशमा केही गर्ने अवसर नपाएपछि पुनः विदेशिन बाध्य हुन्छन् । सामान्य अवस्थामा दैनिक ८ देखि १२ सय जना वैदेशिक रोजगारीमा विभिन्न देश जाने गरेको विभागले जनाएको छ ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार