२०८१ चैत्र ८ शुक्रबार

एमाले, कांग्रेस, माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु हो : राजेन्द्र लिङ्देन l

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताएका छन्।

शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी स्थानीय तह निर्वाचनमा देशका प्रमुख पार्टीहरू कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताए।
ती पार्टीहरुलाई मत दिनु भनेको देश बिगार्ने काममा आफू पनि सहभागी हुनु भएको उनले दाबी गरे।

प्रमुख पार्टीहरूले पटक-पटक मौका पाउँदा पनि जनताले सम्झने गरी केही काम गर्न नसकेको भन्दै लिङ्देनले ती पार्टीहरूलाई मत दिएर देश बर्बाद पार्ने काममा सहभागी नहुन जनताहरूलाई आग्रह गरे।

‘हामीलाई अब समय छैन। हामीलाई पर्खने समय छैन। कुनै पनि पार्टी, कुनै पनि नेताले पटक-पटक मौका पाउँदाखेरी पनि जनताले सम्झनेगरी एउटा कुरा छोडेर जान सक्दैनन्। जनतामा आशा जगाउँदैनन् भने त्यसैलाई फेरि साथ दिइराख्नु भनेको त्यो गल्ती काममा आफू पनि सहभागी हुनु हो,’ उनले भने, ‘देश बिगार्ने काममा आफू पनि सहभागी हुनु हो।’

अब एमाले, कांग्रेस, माओवादीलाई कति हेरेपछि यो देश बन्छ होला? भन्दै उनले प्रश्न गरे, ‘तिनका पार्टीका प्रधानमन्त्रीलाई कतिपटक प्रधानमन्त्री र कति पटक म्याद थप गरिदियो भने यो देश बन्छ?’

अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको शिकार भएको बताए। उनले २०४६ सालपछिको देश पूर्ण रूपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गरे। ‘२०४६ को राजनीतिक परिवर्तनपछि निरन्तर रुपमा यो देश केही सीमित राजनीतिक दल र तिनका पनि केही सीमित नेताको मुठीमा कैद भएको छ। देश हामीले बुझ्ने गरी भन्ने हो भने कांग्रेस, एमाले, माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ। यो ३१/३२ वर्षमा देश पूर्ण रूपले बरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको छ।’

अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अभाव भएको उल्लेख गर्दै पैसा काला व्यापारीहरू र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरूको घरमा थन्किएको आरोप लगाए। उनले जनतालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कैद गरेर र झुक्याएर शासन गरिएको बताए।

‘आज बैंकमा पैसा छैन भनिन्छ। बैंकले लगानी बन्द गरेको छ। ठूल्ठूला चेकहरू साटिँदैन भनिन्छ। के हो यो? के कुराको संकेत हो? नोट कहाँ गयो होला? नोट बैंकमा नहुनुको अर्थ कहाँ गयो होला? मान्छेहरू भन्छन्, जान्नेहरू भन्छन्, नोट काला व्यापारीहरू र ३१ वर्षदेखि यो देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा जनतालाई कैद गरेर, झुक्याएर, शासन गर्ने नेताहरूको घरमा थन्किएको छ भनेर भन्छन्,’ उनले भने।

लिङ्देनले विद्यमान पार्टीहरूलाई मत दिएर यो देश बन्छ भन्नु र साँढेको टाङमुनि बाल्टी थापेर दुधको आशा गर्नु उस्तै भएको टिप्पणी गरे। उनले तिनै तहको निर्वाचनमा प्रमुख पार्टीको बाकस खाली गरिदिन आह्वानसमेत गरे।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 323 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार