२०८१ माघ २७ आईतवार

बिद्यार्थी दिवस र अनेरास्ववियु ॥

२०१७ साल पौष ०१ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित प्रधानमन्त्री बिपी कोईरालालाई अपदस्त गरी दलहरू माथि प्रतिबन्ध लगाउदै एकतन्त्रीय,फासिष्ट,तानाशाही पन्चायती ब्यवस्थाको स्थापना गरेपछि हाम्रो देश राजनीतिक-सामाजिक रुपले अस्थिर रह्यो, नेपाली जनसमुदायका स्वतन्त्रतापूर्वक बोल्न पाउने,पत्रपत्रिका प्रकाशन गर्न पाउने, विद्यार्थी सङ्गठनहरु खोल्न पाउने, भेला-सम्मेलन गर्न पाउने सम्पूर्ण अधिकारहरु पन्चायती शासकहरुले खोसे। २०१७ सालदेखि नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा रहेका केही राजनीतिकर्मीहरु समेत पन्चायती शासकहरुसङ्ग आत्मसमर्पण गरे, राष्ट्र,जनता र आफ्नो दल बिरोधी क्रियाकलापहरुमा उद्दत रहे जस्तै नेपाली काङ्ग्रेसका तत्कालीन महामन्त्री डा. तुलसी गिरी,नेकपा का महासचिव डा. केशरजंग रायमाझी ।

दलहरुमाथिको प्रतिबन्धका कारण निरङ्कुश पन्चायती ब्यवस्थाका विरुद्ध आमनेसामुनेको संघर्ष गर्न असम्भव जस्तै थियो । यसकारण क्रूर ,एकतन्त्रीय पन्चायती शासनका विरुद्ध मलामी उत्पादन गरी रातो कफन टाउकोमा बाधेर घाम र जून रहेसम्म पन्चायती शासन ब्यवस्था रहन्छ भन्नेहरुलाई युद्द्मैदानबाट तितरबितर पारी बहुदलीय शासन ब्यवस्थाको स्थापना गर्ने राजनीतिक उद्देश्य प्राप्ति का लागि साथै मानिसको सर्वाङ्गिण पक्षको बिकासको आधार को रूपमा रहेको शिक्षा सबैका लागि सर्वसुलभ ,समान र गुणस्तरीय शिक्षा प्रणाली स्थापना गर्नका लागि देशभक्त ,प्रगतिशील र जनवादी बिद्यार्थीहरुको प्यारो सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु ,ANNFSU, All Nepal National Free Students´ Union/ANNFSU) बि. स. २०२२ साल जेष्ठ ०१ गते आजका दिन स्थापना भएको हो।

यतिबेला अनेरास्ववियुका तर्फबाट सहादत प्राप्त गर्नुहुने आदरणीय दिबङ्गत अग्रज नेताहरू क. फणिन्द्रराज तिमिल्सिना (२०३८ मङ्सिर ०९) र क. मित्रमणि आचार्य (२०४२), चिनियाकाजी श्रेष्ठ (२००८ साल) लगायत नेपाल को उदयदेखि मातृभूमिको मुक्तिका खातिर जीवनको उत्सर्ग गर्नुहुने ज्ञात्- अज्ञात् सम्पूर्ण सहीदहरुप्रति आजको बिद्यार्थी – युवा दिवसमा रातो सलाम व्यक्त गर्न चाहन्छु।

आज जेष्ठ ०१ गते बिद्यार्थी दिवश । नेपाली बिद्यार्थी आन्दोलनको सगरमाथा ,सबैभन्दा ठूलो र शक्तिशाली सङ्गठन अनेरास्ववियु, अग्रजहरुको त्याग,वलिदान,निष्ठा,बिद्यार्थी समुदायप्रतिको समर्पण ,राष्ट्र, जनता ,राष्ट्रियता,जनजीवीका,सामाजिक परिवर्तन र ब्यवस्थाभित्र प्रणालीको परिवर्तनका निमित्त ऎतिहासिक, नमूनायोग्य, उदाहरणीय र वलिदानपूर्ण र अविस्मरणीय योगदान गरेको अनेरास्ववियुको इतिहास गौरवपूर्ण छ। यसका अगाडि तानाशाही पन्चायती र शाही शासकहरुले पनि आत्मसमर्पण गरे (कालापानी लगायतका नेपाली भू-भागबाट भारतीय सेना धपाउने आन्दोलनको नेतृत्व ,स्वास्थ्य लगायत सार्वजनिक यातायातका साधनमा ४५% छुटको आन्दोलन ,प्रवीण गुरुङ्गको हत्यामा संलग्न शाहज्यादा पारसको विरुद्धमा दरबारमा ५२३ हजार( ५ लाख २३ हजार ) हस्ताक्षर संकलन गरी दरवारमा बुझाई पारसको शाहज्यादा पद खोस्ने आन्दोलनको नेतृत्व, स्वतन्त्र विद्यार्थी युनियन को स्थापना ,शैक्षिक क्षेत्रमा रहेका तमामखाले विकृतिबिसङ्गतिहरु विरुद्धका आन्दोलन ,सबैका लागि सर्बसुलभ र गुणस्तरीय शिक्षाका लागि विभिन्न समयमा अनेरास्ववियुद्वारा संचालित गौरवपूर्ण आन्दोलनहरु, जनजीवीका र सामाजिक परिवर्तन सम्बन्धि विभिन्न समयमा यसले अगुवाई गरेका क्रान्तिकारी कदमहरु,बिद्यार्थीको मार्कसिट र प्रमाणपत्रको आधारमा बैङ्क ऋण सम्बन्धि आन्दोलन र यसको सूक्ष्म कार्यान्वयन) ।

यसकारण अनेरास्ववियुका प्रत्येक सदस्य र राष्ट्रले गौरव गर्ने दिन हो,आज अनेरास्ववियु स्थापनाको ५७ बर्ष शुरूवात हुँदै छ,आजको दिनमा यसको शहीदहरुको रगतले रक्तरन्जित पृष्ठभूमि ,अध्यारोको अन्त्यका निमित्त राखिएको तारा र करीब ६० डिग्रीको कोणमा अशिक्षा र अज्ञानताको समूल अन्त्य गर्न राखिको बिर्को खोलिएको कलमलाई आँखा चिम्म पारी १० बर्षको कलिलो उमेरमै अनेरास्ववियु एकताको पाचौंको सदस्यता प्राप्त गरेको,अनेरास्ववियु एकताको पाचौं लेखेको लोगो छातीमा खिपले टासेर लगाएको पूर्व अखिलको तर्फबाट गौरवबोध गर्न चाहन्छु ,अनेरास्ववियुको निर्माणमा जीवन समर्पित गर्ने अग्रजहरु प्रति सम्मान व्यक्त गर्न चाहन्छु, वर्तमान अखिलले समयनुसार आफ्नो भूमिका अदाह गरी देखासिकी र अनुशरण गर्न अनुरोध ,आग्रह र अपिल गर्दछु।

बिगतको अनेरास्ववियु

कुनैबेला यस्तो थियो, विद्यार्थी आन्दोलन भनेकै अनेरास्ववियुले नेतृत्व गरेको आन्दोलन हुन्थ्यो, विद्यार्थीहरुलाई राजनीतिक रुपले संगठित र आन्दोलित बनाउदै विचार र एजेण्डाको नेतृत्व अनेरास्ववियुले गर्थ्यो,अनेरास्ववियु आन्दोलनको सडकबाघ छ,थियोे र हुने कुरा सदैव जीवीत तुल्याउनु पर्छ । ती आन्दोलनहरुले नेपालको सामाजिक, राजनीतिक परिवर्तनमा निकै महत्वपूर्ण र निर्णायक भूमिका समेत खेलेको कुरामा कसैको दुई मत हुन सक्दैन ।

नेपालको इतिहासमा तानाशाही र जनविरोधी शासकहरुका विरुद्ध मृत्युको घण्टी कति बजे,मिनेट र सेकेन्ड हैन कुन मिलिसेकेण्डमा बज्छ ? भन्ने कुरालाई पर राख्दै बाचे नेता ,मरे सहिद भन्ने साचो यथार्थलाई आत्मसात गर्दै रातो कात्रो टाउकोमा बाधेर क्याम्पस, सडक, चोक र गल्लीमा निर्भीकतापूर्वक उभिएर तत्कालीन सत्ताको प्रतिगामी कुरुपता विरुद्ध मूर्दाबादका गगनभेदी नारा लगाउदै ,धावा बोल्दै सशक्त चुनौती खडा गरेको कुरा जीवन्त यथार्थता हो , अन्याय,अत्याचार ,शोषण र दमनका विरुद्ध साहसिक बहस गरिरहेको कोही युवा-विद्यार्थी हुन्थ्यो भने ती अनेरास्ववियुका नेताकार्यकर्ता र सदस्य हुन्थे ,सिङ्गै अनेरास्ववियु हुन्थ्यो र हो।

यदि शैक्षिक, सामाजिक वा राजनीतिक मुद्दा बोकेर शिक्षालयभित्र वा सडकमा आन्दोलन गरिरहेको कुनै भीड वा समूह हुन्थ्यो भने त्यो अनेरास्ववियु नै हुन्थ्यो । किनकि, ती प्रतिकुल बेलाहरुमा राजनीतिक रुपमा समाज बदल्ने अर्जुनदृष्टि र ध्येय बोकेका समाजवादी चिन्तन , विचार र दृष्टिकोणले लैसहरु अनेरास्ववियुका नेताकार्यकर्ता नै थिए र अहिले पनि हुनु पर्दछ।

व्यक्तिगत हित संगठनको हित अधिनस्त नै थियो ,ब्यक्तिगत जिम्मेवारी र सामूहिक नेतृत्व प्रणाली थियो र छ ,लेनिनबादी सङ्गठनात्मक पद्धति अपरिवर्तनीय छ अनि आन्दोलनको भविष्यमा नै आफ्नो भविष्य देख्ने स्वप्नजीवीहरु अनेरास्ववियु हुनु स्वाभाविक थियो नै , र छ । यसैको जगमा वि.सं.२०३६को शक्तिशाली विद्यार्थी आन्दोलन जसले पन्चायतको पूरै जग हल्लायो,शासक र राजालाई जनमत संग्रह गर्न बाध्य पार्यो, २०४६को जनआन्दोलन र २०६२/६३को ब्यवस्थामा प्रणाली परिवर्तनको आन्दोलन , यी सबैमा अनेरास्ववियुको भूमिका निर्णायक रह्यो नै वा पूर्व अखिलहरुको सशक्त र नेतृत्वदायी भूमिका रह्यो ।
वर्तमानको अखिल
वर्तमान भने केही फरक छ । राजनीतिक परिवर्तनको आन्दोलनको अन्त्य भएको छ ,अब वर्गीय रूपमा यसले आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ। तर, आजको अनेरास्ववियु विगतका आन्दोलनका सम्पूर्ण आदर्श र मूल्यबाट क्रमशः कमजोर र च्यूत हुँदै गइरहेको छ । हामी समाज बदल्ने उद्देश्यबाट बिमुख हुनुहुँदैन । अनेरास्ववियु जस्तो पवित्र सङ्गठन भित्र साम, दाम, दण्ड, भेदको राजनीति गर्ने विकृत मानसिकता दिनदिनै हुर्किरहेको छ । अहिले अनेरास्ववियुले ब्यवस्थित बैठक, भेला, गोष्ठी ,सम्मेलन गर्न सकिरहेको छैन , अभियान र आन्दोलनहरुले मृत्युवरण गर्दैछन् ,खराबहरुभित्र असल हुन खोज्ने यो कुरा अनेरास्ववियु र आन्दोलनको सुदूर भविष्यबिरोधी कुरा हो।

बरु अनेरास्ववियु भित्र पदको लुछाचुँडी, एजेण्डाहीन स्थायी गुटबन्दी, गुण्डागर्दी आदि तमामखाले विकृति र विसंगति चरमोत्कर्षमा पुगिरहेको छ । अनेरास्ववियु वास्वविक विद्यार्थीहरुको पहुँचबाट धेरै टाढा पुगेको छ, शैक्षिक संस्था र विद्यार्थीहरुको समस्या र दुःखहरुबाट बेखबर छ अनि गैर विद्यार्थीहरुको थलो बनेको छ, आजको अनेरास्ववियु।
यसले आन्दोलनलाई जोगाउने, ब्युँताउने, उपलब्धिहरुको जगेर्ना गर्ने चुनौतीको सामना गर्ने कुरालाई तिखार्नु पर्दछ। एकले अर्कोलाई सिध्याउने बाटोमा तीव्ररुपले अगाडि बढ्नु दु:खद कुरा हो, अनेरास्ववियु भित्र विवेकको अन्त्य हुँदै गइरहेको छ । हुनत यो अनेरास्ववियुको मात्र हैन ,सबै विद्यार्थी संगठनहरुको साझा हो ।

उल्लेखित प्रवृतिहरु सबै संगठनहरुमा व्याप्त छन् तर अनेरास्ववियुलाई बलियो नपार्दा विद्यार्थी आन्दोलनको नेतृत्व गर्न अरु झन् लायक बनिरहेका छैनन् । किन कि, यो आजको दिनसम्म विद्यार्थी संगठनहरुमा व्याप्त संरचनागत समस्या हो ।

आज विद्यार्थी आन्दोलन दिशा र अस्तित्वविहीन छ । विद्यार्थी आन्दोलन भन्ने गौरवपूर्ण वाक्य निर्माणमा अग्रजहरुको अवर्णित संघर्ष, त्याग र बलिदानी रहेको छ । यी आन्दोलनका जगमा नेपालमा ठूलाठूला सामाजिक-राजनैतिक उथलपुथलहरु सम्भव भए, तिनै आन्दोलनहरुले राजनीतिक नेतृत्व निर्माण गर्यो तर आज स्वयं विद्यार्थी आन्दोलन भने मरिरहेको छ अनि विद्यार्थी संगठनहरु भूमिकाका दृष्टिकोणले पतनको पथमा छन् ।

राजनीतिक रूपमा स्वतन्त्र नभएता पनि साङ्गठनिक रुपले स्वतन्त्र बिद्यार्थी सङ्गठनहरु आन्दोलनलाई सास हाल्नु पर्ने संगठनहरु आ-आफ्नो माउपार्टीको डरलाग्दो छाँयामात्र भइरहेका छन् । वास्तवमा यी बिद्यार्थी सङ्गठनहरु मौसमी ‘संयुक्त विद्यार्थी संगठन’ को नाममा ज्ञापनपत्रको खेतीपाती गरिरहेका छन् अनि विद्यार्थी संगठनहरुलाई असुलीखाने भाँडोमात्र बनाइरहेका छन् । यो अत्यन्तै डरलाग्दो समस्याको रूपमा बिद्यार्थी क्षेत्रमा झाङ्गिएको छ।

आज विश्वविद्यालयहरु दिनदिनै तहस नहस भइरहेका छन् ,दलीय भागवण्डामा चुर्लुम्म डुबेका छन् ,विश्वविद्यालय भित्र स्वार्थ ब्याप्त छन् ,नीजी शिक्षणसंस्थाको गोटीको सिकार भैरहेका छन् ,क्याम्पस भित्र संचालन हुने तह र बिषयहरु। विद्यार्थीहरु सरकारी शिक्षालयहरु छोडेर पूर्वाधार विहीन गल्ली-गल्लीका नीजि बिधालय र क्याम्पसतिर भौतारिरहेका छन्, मेडिकल लगायतका प्राविधिक शिक्षामा व्यापक र डरलाग्दो नीजिकरण र ब्यापारिकरण मौलाइरहेको छ,शैक्षिक माफियाहरुको चङ्गुलमा समग्र शिक्षा क्षेत्र नराम्ररी डुबेको छ, तीक्ष्ण, मेधाबी, अध्ययनशील र राम्रो अंक हासिल गर्ने विद्यार्थीहरु दिनप्रतिदिन विदेशिने क्रम बढ्दो छ, बौद्धिक चोरीका आरोप लागेका र भ्रष्टहरु विश्वविद्यालयमा पदाधिकारी नियुक्ति भइरहेका छन्,अनि यस्तो बेलामा निशर्त अनेरास्ववियु लगायतका बिद्यार्थी सङ्गठनहरु एजेन्डायुक्त ढ्ङ्गले आउनु पर्दछ। विद्यार्थी संगठनहरुमा एजेण्डाहीन, गुटबन्दी, पदको लुछाचुँडी, बैठक र सम्मेलनमा कुटाकुट, गुण्डागर्दी, क्याम्पस प्रशासनसँगको मिलेमतो नभए धम्कीमा भ्रष्टाचारको भागिदारी, कारोबार र भागबण्डा नमिले तोडफोड र आगजनी, नक्कली परिचयपत्र र शैक्षिक प्रमाणपत्रको दलाली, विद्यार्थीहरुमा आतंक सिर्जना, स्कुल-कलेजमा चन्दा असुलीको होडमा उद्दत बनिरहेका छन् ।यसले बिद्यार्थी आन्दोलनप्रतिको आकर्षण दिनदिनै ह्रास भैरहेको छ।

विद्यार्थी राजनीतिको यति धर्म निभाइसके पछि पार्टी राजनीतिमा नेतालाई सुमेरु पर्वत मान्ने, आवधिक निर्वाचन र पार्टी सङ्गठनभित्रको निर्वाचनमा आफूलाई संरक्षण गर्ने नेतालाई काँधमा बोक्ने, उसको प्रचार र आर्थिक संकलन र लाभमा कुद्ने, त्यसैको आधारमा शक्तिको अपचलन गर्ने, नियुक्ति, सरुवा बढुवा र फाइलको कारोबार आदि आदिमा उद्दत रहने कुराले बिद्यार्थी सङ्गठन दिनदिनै कमजोर भैरहेका छन् ।

समाजमा संरचनाको निर्माण मानिसले नै गर्दछन् र त्यही संरचनाको लागि काम गर्छन् । तर, त्यही संरचनाभित्र मानिसको क्रिया र गतिविधिले ज्ञान निर्माण गर्छ र त्यही ज्ञानले हिजोको संरचनालाई परिष्कार गर्छ वा बदल्छ । मानिस र संरचनाबीचको यो द्वन्द्वात्मकताले नै मानव सभ्यतालाई अघि बढाएको हुन्छ । त्यसमा ज्ञान निर्माण प्रकृयाको मुख्य भूमिका रहन्छ । आजका विद्यार्थी संगठनहरुमा ज्ञान निर्माणको प्रकृया करिब ठप्प छ । संगठनहरुमा संरचनागत अभ्यासको त्राण कमजोर भएको छ। नेताको रुचि र अरुचि नै संगठनको रुचि र अरुचि बन्ने गर्दछ । संगठनहरुमा सिद्धान्तको आधारमा विचार विमर्श, बहस र निष्कर्ष, विधि र प्रकृयाको निर्माण र पालना,आलोचना -आत्मालोचना , नयाँ सोच र दृष्टिकोणको अभ्यास भने वर्जित छ । जसका कारण विद्यार्थी आन्दोलन परिष्कृत हुन सकिरहेको छैन र आजको कन्तविजोग अवस्था विकराल भएको छ।

नेपालमा गणतन्त्र प्राप्तिको आन्दोलनले सफलता पाएसँगै विद्यार्थी आन्दोलन दिशाविहीन बनिरहेको छ।

जयतु संस्कृतम् (२००४) आन्दोलनबाट विद्यार्थी आन्दोलनको सुरुवात हुँदा मुख्य माग शैक्षिक अधिकारको थियो । अखिल नेपाल बिद्यार्थी फेडेरेशन (२००७), नेपाल राष्ट्रिय बिद्यार्थी फेडेरेशन (२०१३) हुँदै संगठित बन्दै गएको विद्यार्थी आन्दोलनले राजनीतिक अधिकारको मागलाई अघि बढाउदै यसप्रकार अनेरास्ववियु २०२२ जेष्ठ ०१ गते र नेविसंघ (२०२७) गठन भएका इतिहास हाम्रो अगाडि छन् । जुन बेला देशमा निरंकुश निर्दलीय पञ्चायती व्यवस्था भएको बखत नागरिकको राजनीतिक अधिकारको लागि लड्नु स्वभाविक नै थियो । किनकि, राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए अनि देशमा राजनीतिक स्वतन्त्रता बिना अरु स्वतन्त्रताको गुञ्जायस असम्भवप्रायः थियो। जहाँ अनेरास्ववियु नै अगुवा र नेता सङ्गठनको रूपमा रह्यो।

पार्टीहरु ‘पूर्णसत्ता’ मा थिए, देशमा पार्टीहरुको संस्थापनीकरणसँगै विद्यार्थी संगठनहरु पनि हेर्दाहेर्दै संस्थापन भए अनि राजनीतिको रसास्वादनमा तछाडमछाड शुरु हुनुथाल्यो जसले विद्यार्थी आन्दोलनलाई चाहि विघटनको बाटोमा पुर्‍याउदै छ भने विद्यार्थी संगठनहरुलाई पतनको बाटोमा दिनदिनै धकेल्दै छ।

त्यसकारण, आजको विद्यार्थी संगठनहरुको समस्या भनेको सामान्य समस्या होइन । यो समाजको सँस्थागत रुग्णताको ज्वलन्त उदाहरण हो । यस्तो संस्थागत परजीवीकरणको अभ्यास र प्रक्रियाबाट उत्पादन भएको युवा शक्ति देश निर्माणको महान अभियानमा सरिक हुन सक्दैन ।यसर्थ आजको विद्यार्थी आन्दोलनले आफ्नो कार्यदिशा र भूमिका प्रष्टसित तय गर्नु पर्दछ । त्यस्तै विद्यार्थी संगठनहरुमा व्याप्त संरचनागत समस्याहरुको पहिचान ,निराकरण र समूल अन्त्य गर्नतर्फ लाग्नु पर्दछ। विगत र वर्तमान एक अर्काका पूरक हुन् ,अनेरास्ववियुको गौरवपूर्ण बिगत,असल,मूल्य – मान्यता,संष्कृति र परम्पराको जगेर्ना गर्दै अनेरास्ववियुको नारा “देशभरिका सम्पूर्ण देशभक्त ,जनवादी र प्रगतिशील बिद्यार्थीहरु एक होऔ” भन्ने सार बिषयलाई आत्मसात गर्दै वर्गीय आन्दोलनमा अबका दिनमा मुख्यगरी लगाउनु पर्दछ। देश र जनताले माग्ने हरेकखाले भूमिकाका लागि अनेरास्ववियु लाई स्पातिलो तुल्याउनु पर्दछ।

यस अर्थमा अनेरास्ववियु स्थापना दिवस अर्थात बिद्यार्थी दिवसको सबैमा धेरै शुभकामना छ।

-✍️ क. झपट रानाभाट ।
नेकपा एमाले कास्की सचिवालय सदस्य एवं
निर्वाचन बिभाग प्रमुख, पूर्व अध्यक्ष, अनेरास्ववियु, कास्की ।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 1 Minute 734 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।