काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा भिख माग्न रोक लगाउँदै शुक्रबार सूचना जारी गरेको छ। यसले विभिन्न सामाजिक तथा आर्थिक कारणले सडकमा भिख मागेर गुजारा गर्न बाध्य व्यक्ति वा परिवारको व्यवस्थापन महानगरले कसरी गर्छ भन्ने प्रश्न उठेको छ।
मान्छे बिनाकारण अर्काको अगाडि हात पसार्दैन। त्यसको पछाडि सामाजिक र आर्थिक कारण हुन्छ। केही विकृति हुन सक्छ तर धेरैजसो अवस्थामा कतै केही सीप नलागेपछि मात्र मान्छे सडकमा माग्न बस्छ।
शारीरिक अक्षमता भएका कतिपय व्यक्ति सडकमा गीत गाउँदै वा आफूसँग भएको प्रतिभा प्रदर्शन गरेर पनि गर्जो टार्छन्। महानगरको सूचनाअनुसार अब त्यस्ता व्यक्तिले आफ्नो प्रतिभा प्रदर्शन गर्दै आर्थिक सहयोग माग्न पाउने छैनन्।
यस्तो अवस्थामा महानगरको नियमले आर्थिक समस्यामा परेर भिखको सहारामा बाँचेका वा सडकमा आफ्नो प्रतिभा देखाएर कमाइ गरिरहेका व्यक्ति अलपत्र पर्दैनन्? उनीहरूको जीविकोपार्जन निम्ति महानगरले के व्यवस्था गर्दैछ?
हामीले यिनै प्रश्न महानगरका सूचना अधिकारी वसन्त आचार्यलाई सोध्यौं।
सार्वजनिक स्थानमा भिख माग्नेहरूलाई हटाए पनि अलपत्र नपार्ने दाबी गर्दै आचार्यले भने, ‘उनीहरूको व्यवस्थापन निम्ति हामीले मानव सेवा आश्रममा राख्ने योजना बनाइसकेका छौं।’
आचार्यले धुवाँधुलो खाँदै सडकमा बसेकाहरूलाई आश्रममा व्यवस्थित ढंगले राखिने बताएका छन्।
‘यसबाट खाने-बस्ने टुंगो नभएका मानिसलाई सुविस्ता हुनेछ। समयमै सबै कुरा पाउने छन्,’ उनले भने, ‘यो त सबैका लागि राम्रो कुरा हो।’
केटाकेटीलाई सडकमा राखेर भिख मगाउने र त्यसका नाममा आफ्नो गुजारा गर्नेहरूको बिगबिगी बढेका कारण यस्तो कार्यक्रम ल्याएको उनले बताए। बाटोमा भिख माग्दै गरेको दृश्यले राम्रो सन्देश पनि नजाने उनको भनाइ छ।
‘अहिले जो मान्छे फुटपाथमा भिख माग्दै गरेका देखिन्छन्, तिनलाई प्राय: अरू कसैले एकाबिहानै त्यहाँ ल्याएर राख्छन्,’ उनले भने, ‘यसरी अर्कालाई भिख माग्न लगाएर आफ्नो गुजारा गर्नेहरूको गिरोह नै यहाँ सक्रिय छ।’
त्यस्तो गिरोहका मान्छेलाई सडकबाट उठाउने र वास्तवमै आर्थिक समस्यामा परेर भिख भाग्न बाध्य व्यक्तिहरू पहिचान गरी सहयोग गर्ने उद्देश्यका साथ यो नियम ल्याएको आचार्यले बताए।
‘काम गर्ने बहानामा कुनै पनि व्यक्तिलाई भिक्षा माग्ने काममा लगाउन पाइँदैन,’ आचार्यले भने, ‘त्यसैलाई दुरूत्साहन गर्न काठमाडौं महानगरपालिकाको ११औं नगर सभा अधिवेशनले यो नीति स्वीकृत गरेको थियो।’
उनले अगाडि भने, ‘महानगरले उनीहरूमाथि अमानवीय व्यवहार गर्यो भन्ने भ्रम हुन सक्छ तर त्यसो होइन। उनीहरूलाई झनै राम्रो स्थानमा राखिने छ जहाँ कुनै समस्या हुँदैन।’
अरू पनि परिवार नभएका बेसहारा व्यक्ति छन् भने मानव सेवा आश्रममा सम्पर्क गरी बस्न सक्ने उनले बताए।
साधु, सन्त, जोगी तथा भिक्षुहरूलाई भने यो नियम लागू हुने छैन। उनीहरूले पनि सडकमा जहाँसुकै भिक्षा माग्न पाउने छैनन्।
‘घरघर डुलेर वा सांस्कृतिक ठाउँहरूमा गएर भिक्षा माग्न सक्छन् तर सार्वजनिक स्थानमा गएर माग्न पाउँदैनन्,’ उनले भने।
महानगरले सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारी साधनमा बसेर भिख माग्न नपाउने भनेको छ।
अब प्रश्न उठ्छ, महानगरले भनेको मानव सेवा आश्रम के हो? कहाँ छ?
मानव सेवा आश्रम नेपालका सातै प्रदेशमा छन्। देशका १९ वटा जिल्लामा यसका २२ वटा शाखा छन्। काठमाडौंमा सामाखुसी र वनस्थली गरी दुई ठाउँमा यस्ता आश्रम सञ्चालनमा छन्।
यो आश्रम सबभन्दा पहिला २०६९ भदौ १३ गते मकवानपुरको हेटौंडामा रामजी अधिकारीले सञ्चालनमा ल्याएका थिए। यसले विभिन्न ठाउँका सडकमा बस्दै आएका मानिसको उद्धार गर्दै आएको छ।
‘सडकबाट ल्याएका मानिसलाई वनस्थली आश्रममा राख्ने गरिएको छ,’ आश्रममा काम गरिरहेकी अञ्जली महथाले भनिन्, ‘सामाखुसीमा भने वनस्थलीबाट छानेर ल्याएको मानिस मात्र राख्ने गरिन्छ।’
संस्थापक रामजीका अनुसार मानव सेवा आश्रममा झन्डै १६ सय जना आश्रित छन्। तीमध्ये ३० देखि ५० वर्ष उमेरका मानिसको संख्या धेरै छ। उनीहरू धेरैजसो मनोरोगी छन्।
महानगरले यो आश्रमलाई पहिल्यैदेखि सहयोग गर्दै आएको छ। महिनावारी घरभाडा तिरिदिने सम्झौता महानगरसँग भएको अधिकारी बताउँछन्। आश्रित व्यक्तिहरूका लागि बजेट छुट्याएर भने दिँदैन।
महानगरले नागार्जुन नगरपालिकामा आश्रमका लागि घर बनाउन सहयोग गर्ने सम्झौता पनि गरेको छ। यसका लागि १६ रोपनी जग्गा नागार्जुन नगरपालिकाले नै दिएको थियो।
उक्त जग्गामा आश्रमको घर बनाउनेबारे तीन महिनाअघि काठमाडौं महानगर, नागार्जुन नगरपालिका र आश्रमबीच सम्झौता भएको उनले जानकारी दिए। महानगरले १२ करोड रूपैयाँ बजेट छुट्याएको छ।