
सिडनी, अष्ट्रेलिया ।
अस्ट्रेलिया बस्ने एक नेपाली युवती जसले केटिसँगै बिवाह गरि दुई सन्तानको आमा बनिन् ।
टिकटकमा ‘राईमामो फ्यामिली’ नामको अकाउन्टबाट पोस्ट हुने भिडियोहरूमा सामान्यतया देखिने नेपालीको भन्दा फरक वैवाहिक जीवन देख्न सकिन्छ।
समाजमा समलिङ्गी हो भनेर कतिपयले खुलेर भन्न सक्ने अवस्था नभएकै समयमा मेलबर्न निवासी सृजना राईले भने समलैङ्गिक विवाह मात्र गरेकी छैनन् दुई सन्तानकी आमा भएर मातृ वात्सल्यको सुख भोग पनि गरिरहेकी छिन्।
दुई वर्षीय छोरा र भर्खर जन्मिएकी छोरीका साथ अब भने आफ्नो परिवार पूर्ण भएको बताउँछिन् राई। सामाजिक सञ्जाल टिकटकमा समलैङ्गिक सम्बन्ध र आफ्नो जीवन यात्राबारे उनले आफूलाई प्राप्त हुने जिज्ञासाको उत्तर दिने गर्छिन्।
आफू समलिङ्गी भएको खुलेर परिवारमा भन्न नसक्नेहरूका लागी सुझाव पनि दिने गरेकी बताउँछिन् सृजना राई। सुरुवातमा आफ्नो चाहानालाई लिएर खुल्न राईलाई पनि त्यति सहज भने थिएन।
स्कुल पढ्दादेखि नै केटीहरू प्रति नै आकर्षित हुने र केटासँग प्रेम गर्न रहर नलाग्दा चाहिँ आफ्ना साथीहरू भन्दा फरक भएको जस्तो भान हुने पनि उनको भनाई छ।
तर कलिलो उमेरका कारण त्यसो भएको होला भनेर आफूले खासै वास्ता नगरेको राईले एसबीएस नेपालीलाई बताइन्। साथै परिवारले पनि केटीहरूसँग मात्र घुलमिल हुँदा “छोरी सोझी छे” भनेर सोच्ने गरेको कुरा पनि उनले फुकाइन्।
“घरमा पनि साथीहरू ल्याउँदा खाली केटी साथीहरू मात्र ल्याउँथे, त्यो गर्दा बाबा ममी पनि खुसी हुन्थे,” उनले भनिन्।
“यसले चाहिँ बोइफ्रेन्ड बनाएको छैन यो मेरो ज्ञानी छोरी भन्ने, त्यस्तो सोच्नु हुन्थ्यो।”
आफूले नर्सिङ पढ्न थाले पछि कलेजमा केटीहरू मात्र हुनाले केटीहरू प्रतिको आकर्षण झन् प्रस्ट भएको पनि सृजना राईको भनाई छ। तर पनि परिवारलाई यसबारे भन्न आफूले केही बताउन नसकेको उनले बताईन्।
हाल वैवाहिक जीवनमा बाँधिएकी मामोलाई आफूहरूको भेट भएको केही वर्षपछि राईले नेपाल घुमाउन लागेकी थिइन्।