
हेटौंडा- गाउँमा खानेपानीको समस्या बिकराल रहेको कुरा उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा । तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा ।
गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधि समेतलाई आफ्ना समस्याबारे व्यबहारिक रुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए–पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने । त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले । उक्त समस्या बुझाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भयो ।
एक कार्यक्रमका लागि मकवानपुरको अति बिकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दल आवद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रह अनुसार पानीको गाग्री डोकोमा राखेर बोक्नुपर्यो, त्यो पनि ठाडो उकालोमा ।
स्थानीयलाई उक्त क्षेत्रमा खानेपानीको समस्याले वर्षौंसम्म डोकोमा ‘गाग्री राखेर पानीको भारी बोक्नु निकै सकसपूर्ण छ । महांकाल बस्तीका २२ घरपरिवार तथा एक विद्यालय खानेपानीको समस्याबाट वर्षौदेखि आक्रान्त छ । विशेषतः स्थानीय महिला झिसमिसेमै ठाडो उकालो/ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन् ।
स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्न पुगेका प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका थिए ।
सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिची-मिची हाँसेका थिए । नेताहरुले पानी भरिएको गाग्री डोकोमा राखेर विद्यालयसम्म त पुर्याए, त्यसपछि उनीहरुको शारीरिक पीडा दयालाग्दो देखिएको स्थानीय वासिन्दा दयाराम तामाँगले बताए ।