२०८१ बैशाख ८ शनिबार

शहरी जीवनशैलीमा कौसी खेती, नमुना बनाउछु: साबित्रि हमाल ।

हिजोआज ‘गरे के हुँदैन र !’, ‘आफ्नै पौरख !’ जस्ता शीर्षकसहित काँक्रा, बोडी, करेला, खुर्सानीलगायत तरकारीका तस्वीर र भिडियो सामाजिक सञ्जालमा निकै देख्न पाइन्छ । गत वर्ष कोरोना नियन्त्रण गर्न भएको लकडाउनपछि यस्ता तस्वीर धेरै देखिन थालेको हो ।

गत वर्ष कोरोना संक्रमण फैलँदै गएपछि सरकारले लागू गरेको लकडाउन पनि लम्बिँदै गयो । मानिस घरैमा बस्न बाध्य भए । त्यस्तोमा धेरै सहरवासीले समय व्यतीत गर्ने उपायको रूपमा आफ्ना छत, बरन्डा, कौसी र खाली जग्गाको सदुपयोग गर्न थाले । केही सौखिनले पहिल्यैबाट गर्दै आएको यो काम कोरोनाको दोस्रो लहरसम्ममा अधिकांश घरवालाको प्रतिफलपूर्ण समय कटनी बनेको छ ।

कोरोनाकालमा कौसी खेती गर्नेमध्येकी एक हुन् साबित्रि हमाल र उनका श्रीमान बद्री हमाल । उनले कोरोना आउनुअघि पोखरा, बिरौटास्थित घरको बरन्डामा फूलहरूसम्म रोपेकी थिइन् । लकडाउनसँगै उनले आफ़नो छिमेकी र सहकर्मीहरूको घरको छतमा थरीथरीका तरकारी मौलाएको देख्न थालिन् । सामाजिक सञ्जालमा छिमेकि मध्य कसैले फोटो त कसैले भिडियो नै अपलोड गरेका थिए ।

‘अनि मलाई पनि जाँगर चल्यो’ हमाल भन्छिन्, ‘सुरूमा घरमै भएका बोरा, प्लाष्टिकका पुराना बाटा-बाल्टी र गमलामा काँक्रा, भान्टा, खुर्सानी रोपेको निकै राम्ररी फल्न थाले । त्यसपछि छतमा पनि मौसमी तरकारी आफैं उब्जाएर खाने बानी बस्यो ।’

पोखरा, सिमलचौर स्थित शिव कुमारी खड़काको घरको छतमा सिमी, काँक्रा, भान्टा, स्ट्रबेरीलगायतको हरियाली छाएको छ । विषादीरहित ताजा तरकारी खान पाइने, खाली समयमा व्यस्त भइने र घरमा हरियाली पनि देखिने भएकोले आफू छतको खेतीमा रमेको उनी बताउँछिन् । उनले २०७० सालदेखि नै कौसी खेती थालेकी हुन् । उनको छतभरि विभिन्न थरीका मौसमी तरकारी छन् । आफ्नो छतमा मात्र नभएर आफन्तको खाली जग्गामा समेत तरकारी लगाएको बताउँदै उनी भन्छिन्, परिवारको लागि तरकारी किन्न छाडेको निकै भइसक्यो ।’

यो वर्ष निषेधाज्ञा बाधक

गत वर्ष कौसी खेतीका लागि आवश्यक सामान होम डेलिभरीका लागि छुट थियो । फोन वा अनलाइन अर्डर गर्दा आवश्यक सामग्री घरमै आउँथ्यो । कोरोनाको दोस्रो लहरमा जिल्ला प्रशासनले कडाइ गर्‍यो । संक्रमण र मृत्युदर उच्च भएकाले सामान वितरक र ग्राहक पनि डराए । यसले गर्दा कौसी खेती सामग्रीका कारोबार पोहोरभन्दा कम भएको कलंकीका कोकोपिट व्यवसायी खोजराज कटुवाल बताउँछन् ।

‘यो वर्ष लकडाउनमा बजारको सामान नपाउँदा घरमा थुनिएकाहरूले जे छन्, तिनै सामग्रीबाट कौसी खेती गरे’ उनी भन्छन्, ‘हुन त यो चलन चार-पाँच वर्ष अघिबाटै केही बढेको हो, गत सालको लकडाउनपछि भने हृवात्तै बढ्यो ।’

त्यस्तै, बिरौटास्थित बिरौटा एगि्रकल्चर संचालक अधिकारिले निषेधाज्ञामा कृषिका सामान ढुवानी गर्न दिएको भए यो वर्ष पोखरा उपत्यकामा कौसी खेती निकै बढ्ने थियो भन्छन् ।

‘ढुवानी निषेध हुँदा हाम्रो त कारोबार सुक्यौ नै’ उनी भन्छन्, ‘लकडाउनमा परेका मानिसहरूले कौसी खेतीका लागि घरमै उपलब्ध सामानमा सीमित हुनुपर्‍यो ।’

कृषि ज्ञान केन्द्रमा निवेदनको चाङ

सरकारको कृषि ज्ञान केन्द्रले कौसी खेतीलाई प्रोत्साहन गरेको छ । केन्द्रका प्रमुख अधिकारी पोहोरको लकडाउनपछि यसमा निकै चासो बढेको बताउँछन् । घरको वरिपरि कुडाकर्कट राखिएका सानो ठाउँमा पनि केही न केही तरकारी रोप्ने चलन बढेको उनले बताए ।

उनका अनुसार, केन्द्रले शहरवासीलाई समूहको आधारमा तालिम, सामग्री र नगद अनुदान दिने गरेको छ । गत वर्ष कौसी खेतीका लागि डेढ सयभन्दा बढी आवेदन परेकोमा ८० वटा समूहलाई दुई करोड रुपैयाँ खर्चमा तालिम, सामग्री र नगद सहयोग गरेको अधिकारीले बताए ।

‘यो वर्ष झन् बजेट घटेर आएको छ’ अधिकारी भन्छन्, ‘स्थानविशेष तोकेर आएका समेत गरी ३६ वटा समूहलाई मात्र सहयोग गर्न सकिने भएको छ ।’

उनका अनुसार, यो वर्ष कौसी खेतीका लागि केन्द्रले थोरै बजेट पाएको छ । केन्द्रमा आवेदन भने गत वर्षकै जति परेको छ ।

२०७८ असार १४, सोमबार प्रकाशित 1 Minute 436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार