२०८१ बैशाख १३ बिहीबार

सन्दर्भ १५ असार अर्थात् धान दिवस अनी इतिहास ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपालका किसानहरूले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् ।  १६ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ ।

असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चापका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठो मानिने खाद्यान्न धानको रोपाइँमा लाग्छन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार पन्ध्र बनेको छ ।

धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैकाे ध्यान  किसानतर्फ आकर्षित गर्न सक्नुपर्छ भन्ने अभिप्रायले हुनुपर्छ नेपाललगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान सशक्त रुपमा अगाडि बढ्दैछ ।

अहिले कृषि छाडेर जहाँ भए पनि हामीमध्ये धेरैको मानसपटमा वालापन वा युवा अवस्थाका मीठा सम्झनाहरु नविर्सने गरी रहेका छन् । त्यो दिन दहि र चिउरा नखाएको, हिलोमा नखेलेको या रोपाई गीत नगाएको हामीमध्ये कमै हुनुपर्छ । त्यसैले त कृषकहरुको बाहुल्यता भएको नेपालमा अझै पनि असार १५ को रौनकता र चर्चा किसानमा मात्र सीमीत नभई सम्पूर्ण नेपालीमा छाउने गरेको छ ।

तर, समय परिवर्तन भएको छ । त्यो रौनक, आनन्द र महिमा कम हुँदै छ । खेतिसँग गाँसिएको जनसंख्या घट्दो छ । खेति किसानीमा रमाउने र रोपाइगर्दैको बेला वाली भित्राउने समय सम्झदै रमाउने माहोल पनि कम भएको छ । धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दहि चिउरा खान रमाउने प्रचलन पनि कम हुँदै छ ।

जलवायु परिवर्तनका कारण हाम्रो वर्षा असार १५ कै आसपारमा सुरु हुनुभन्दा पनि केहि अघि वा पछि सरेको छ । महत्वपूर्ण रहेको असार १५को दिनले पनि धेरै उकाली र ओराली बेहोर्दै छ । अझ हाम्रो मुख्य खाद्य वाली धानखेतिसँग जोडिएका चुनौतिहरुको त पहाड नै बनेको छ ।

अहिले पनि असार १५ को चर्चा गरिरहँदा विभिन्न जिल्लामा भइरहेको मल, विउ तथा सिंचाइको अभावका बारे पनि ध्यान जान सकेको छैन ।

हामी आज असार पन्ध्र मनाइरहदा मुख्य तया तीन विषय हाम्रो सामु प्रमुख रहेका छन् । एक नेपालको सन्दर्भमा असार पन्ध्रको महिमा र यस विशेष दिनको महत्व । दोस्रो किसान अधिकार र यस दिनले उठाएका किसानका सवालहरु । तथा तेस्रो हाम्रो सभ्यता र संस्कृतिको रुपमा रहेको निधि मुख्य खाद्यवाली धान ।

अझ असार १५ अहिले पर्यटकीय पर्वको रुपमा समेत विकसित हुँदै छ । हिलोमा रेसलिङ खेलेका, स्कुल र कलेजका विद्यार्थीले हिलो खेलेका तथा विदेशी पर्याटकहरु समेत यस दिनमा धान रोपाइमा सरिक भएका र हिलो खेलेका तस्वीरले हाम्रो असार १५ रंगीने गरेको छ । यो खुशीकै कुरा भए पनि हामीले र मुख्य गरी किसानले मनाउने असार पन्ध्रको उदेश्य त्यतिमात्र होइन । हामी त्यसैमा रमेमा र गहनरुपमा नसोचे पछिल्ला केही वर्षमा देखिएझै असार १५मा अझ विकृति र विसंगति भित्रने, यो उल्लास र संघर्षको दिन भन्दा पनि एक काण्डको दिन बन्ने र हाम्रो बहश कृषि क्षेत्र, किसान, धान संस्कृतिबाट विमुख हुनेमा कुनै शंका छैन ।

त्यसैले आजका दिनमा हामीले कसरी नेपालको संस्कृति, खेतिपाती र धानको महिमासँग जोडिएको छ भन्नेबारे विष्लेषण गर्ने तथा आजको आवश्यकता, प्रतिकुलता र अवसरकाबारे छलफल र बहश चलाउन आवश्यक छ । असार १५ ले हामीलाई हाम्रो परिवेश र यहाँको एतिहासको बारेमा बताउँछ ।

त्यसैगरी यस दिनलाई किसान अधिकार दिवशको रुपमा पनि मनाइरहदा के हाम्रो देशका बहुसंख्यक सानाकिसानका अधिकार प्राप्त भएका छन् या छैनन् यसतर्फ पनि ध्यानाकर्षण गर्न जरुरी छ । किसान अधिकार र खाद्य अधिकार वीना आधारभुत मानव अधिकार , आर्थिक तथा सामाजिक सांस्कृतिक अधिकार, महिला अधिकार तथा ग्रामीण जनसमुदायको अधिकार संरक्षण नहुने भएकोले यस दिनलाई मनाइरहदा किसानको अधिकार प्राप्त गर्ने संघर्षको रुपमा समेत यसलाई लिन आवश्यक छ ।

२०७८ असार १४, सोमबार प्रकाशित 1 Minute 498 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार