
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार चितवनका विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो ।
आउने संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र बनाउन र स्थानीय तह निर्वाचनमा छोरीलाई पुनः मेयर जिताउने कसरतमा उहाँ निरन्तर चितवनमा खटिरहनुभएको छ । प्रचण्डलाई चितवनमा अन्य पार्टीका नेतालाई आफ्नो पार्टीमा ल्याउन त सकस परेको छ नै, आफ्नै पार्टीका नेता कार्यकर्तालाई जोगाएर राख्न पनि धौ धौ परेको छ ।
चितवनकै माडी र भरतपुरका विभिन्न कार्यक्रममा व्यस्त रहनुभएका प्रचण्ड आफ्ना कार्यकर्तालाई गठबन्धन नटुट्ने र गठबन्धनबाटै चुनावमा जाने भएकोले माओवादीले चुनाव जित्ने भन्दै सम्झाउँदै हुनुहुन्थ्यो । माओवादीका नेता कार्यकर्ता भने उहाँको कुरामा विश्वास गर्न छाडेका छन् । त्यसैले उनीहरू धमाधम माओवादी पार्टी छाड्दै छन् ।
प्रचण्ड जिल्लामा पार्टी मिलाउन लागि रहँदा उहाँकै निर्वाचन क्षेत्र चितवनको भरतपुरका माओवादी नेता खेमराज पौडेल बिहीबार नेकपा एमालेमा प्रवेश गर्नुभयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँ एमाले प्रवेश गर्नुभएको हो ।
चितवन महानगरपालिकाकाका पूर्व वडाध्यक्ष पौडेललाई बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । पौडेल २०४९ सालमा भरतपुर वडा नम्बर १ बाट वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ भरतपुरमा माओवादीको प्रभावशाली नेता हुनुहुन्थ्यो ।