२०८१ बैशाख ८ शनिबार

१० महिनापछि सिड्नीमा कोरोनाले ५० जना अस्पताल भर्ना, एक जनाको मृत्यु l

२७ असार, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको राजधानी सिड्नीलगायत ठूलो इलाकामा कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप कडा गरिएको छ ।

सिड्नीमा संक्रमण बढ्दै गर्दा शनिबार साँझसम्म एक जनाको मृत्यु भएको छ र दर्जनौलाई सघन उपचारमा भर्ना गरिएको स्वास्थ अधिकारीहरुले बताएका छन् । सिड्नीमा ९० को दशकमा रहेकी एक महिलाको कोरोना संक्रमणले मृत्यु भएको हो ।

झन्डै पाँच हजार जनामा परीक्षण गरिएकोमा शनिबार साँझसम्म ७७ जनामा कोभिड-१० को संक्रमण पुष्टि भएको छ भने आइतबार साँझसम्म १०० जना पुग्ने अनुमान स्वास्थ अधिकारीले गरेका छन् ।

यो क्रम बढ्दै गएमा एक साता थपिएको लकडाउन अन्त्य हुनेमा आशंका छ र सरकारले त्यसभन्दा अगाडि नै कसरी यो समस्याको सामना गर्ने भन्ने विषयमा बहस शुरु भएको छ ।

यहाँको निति निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वविद्यालयका प्रोफेसरहरुले यो विन्टरलाई लकडाउन विन्टर बनाउनु पर्ने सुझाव दिइरहेका छन् । पटक -पटक लकडाउन थप गरेर जनतालाई निराश र अलमल गर्नुभन्दा लामो लकडाउन घोषणा गर्नु उचित हुने धारणा उनीहरुको छ ।

युनिभर्सिटी अफ न्यु साउथ वेल्स (युएनएसड्ब्लु)का सहायक प्रोफेसर तथा रणनीतिक स्वास्थ्य परामर्शदाता बिल बोमेनले चौथो चरणको लकडाउनको सुझाव दिएका छन्,जसमा अत्यावश्यक नभउका बजार बन्ददेखि पाँच किलोमिटर यात्रा सीमित गर्नेसम्मका निर्णयहरु पर्दछन् ।

प्रहरीले लकडाउन उल्लंघनकर्ता १०० भन्दा बढीलाई शनिबार जरिमाना गरेको छ । तीमध्ये म्यारिक्भिल इलाकामा एक्कै घरमा जम्मा भएर तास खेलिरहेका १५ जना र अबन इलाका जन्मदिन मनाइरहेका १० जना पनि थिए ।

ती इलाकामा नेपालीको बस्ती बाक्लो छ । रक्डेलमा भएको एक नेपाली व्यवसायले अघिल्लो साता नै पाँच हजार डलर जरिमाना तिर्नु परेको खबर प्रकाशित भएको थियो ।

सरकारले ‘घरै बसौ’ भन्ने आदेश जारी गरेको छ, जसमा अत्यावश्यक सामान खरीद गर्न एक घरबाट एक दिनमा एक जना मात्रै बजारमा निस्कन पाउने जानकारी गराएको छ । घरमा कोही पनि आगन्तुक नबोलाउन र समस्या भएमा सरकारसँग सहयोग माग्नु भएको छ ।

आफू बसेको स्थानीय सरकारी इलाकाभन्दा १० किलोमिटर बाहिर घुमफिरमा ननिस्कन र एउटै कारमा एकै घरका बाहेक कसैलाई नबोक्न पनि आदेश जारी गरिएको छ ।

लकडाउनका कारण घरबाट निस्कन नपाउँदा काम गुमाउनुका साथै अन्य कुनै समस्यामा परेको खण्डमा सरकारले सहयोग गर्ने विश्वास दिलाएको छ ।

”अहिले सुपरमार्केटहरु संक्रमणको केन्द्र भएकाले एक घरबाट दैनिक चाहिने कुरा किन्न एक जना मात्रै जाऔं र बाहिर निस्कँदा सधैं मास्क लगाऔं,” सरकारी स्वास्थ्य अधिकारीहरुको सुझाव छ ।

नेपाली भाषामा जारी गरिएको सन्देशमा पनि ‘घरमा कोही पनि आगन्तुक नबोलाउनुहोस र भिडियो कल, फोन वा सामाजिक सञ्जालबाट प्रियजनहरुसँग सम्पर्कमा गर्नुहोस’ भनिएको छ ।

सहयोग चाहिएमा सरकारी निकायहरु र सामाजिक सँस्थाहरुलाई सम्पर्क गर्न, कुनै लक्षणको आशङ्का भएमा वा संक्रमितसँग निकट भएको सम्भावना भएमा तुरुन्त र अनिवार्य परीक्षण गर्न तथा रिपोर्ट आउन्जेलसम्म आइसोलेशनमा बस्न अनुरोध गरिएको छ ।

आइसोलेशनमा बस्नु पर्दा आर्थिक, व्यवहारिक र मानसिक कुनै पनि समस्या हुँदा सरकारलाई जानकारी दिएमा सहयोग पाइने विश्वास दिलाउँदै सरकारी सूचनाहरुमा भनिएको छ , ‘परीक्षण गर्दा संक्रमित भैहालेमा आइसोलेशनमा बस्दा वा औषधि गर्नु पर्दा र खोप लगाउँदा अस्ट्रेलियामा कुनै शुल्क लाग्दैन ।’

२०७८ असार २७, आईतवार प्रकाशित 1 Minute 491 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार