
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन नगरी एक्लाएक्लै चुनावमा गए एमालेले दुई तिहाई नघाउने निश्कर्ष सुनाउनु भएको छ । केन्द्रीय समितिको जारी बैठकमा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसहित उहाँ पक्षधर नेताहरुले गठबन्धन नगरे एमालेको एकछत्र बिजय सुनिश्चित रहेको तथ्यांक राख्नुभएको हो ।
सभापति र रामचन्द्र दाईहरुको निश्कर्ष गठबन्धन नगरी चुनावमा गए एमालेले जताततै जित्छ, दुई तिहाई कटाउँछ भन्ने छ, शेखर दाई (डा. शेखर कोइराला) को भने फरक धारणा आएको छ,’ बैठकमा आएको भनाई उधृत गर्दै कांग्रेसका एक केन्द्रीय सदस्यले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार प्रधानमन्त्री देउवाले त पाँच दलको गठबन्धन गर्दा पनि एमाले निकै भारी पर्ने अवस्था रहेको तथ्य आफूसँग रहेको सुनाउनु भएको छ ।
‘हाम्रो मान्छेहरु किन कुरै बुझ्दैनन यार, ओलीको आतंक बिर्सने ? एक्लै जाँदा कांग्रेसले ओलीसँग कहाँ जित्न सक्छ ? यस्तो पनि कुरा गर्ने ? मैले कांग्रेसलाई जिताउन गठबन्धन भनेको हो नि,’ बैठकमा देउवाको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्स डटकमसँग भने । कांग्रेस सभापति देउवा र बरिष्ठ नेता पौडेल पक्षधर सवैजसो केन्द्रीय सदस्यले पनि यही निश्कर्ष राखेको ती नेताको भनाई छ । डा. शेखर कोइराला पक्षधर नेताहरु गठबन्धनको बिपक्षमा उभिएपछि देउवाले कांग्रेस हराउन खोज्ने भन्दै जंगिनु भएको तथ्यसमेत उनले खोले ।
बैठकमा देउवाले आफू प्रधानमन्त्री भएकोले देशको अवस्थाबारे भन्न नहुने थुप्रै सूचना रहेको भन्दै एमालेलाई हराउन पाँच होइन, अरु दल पनि थप्नुपर्ने अवस्था रहेको तथ्य बुझ्न आग्रह गर्नुभएको छ । उहाँले सार्वजनिक रुपमा समेत यो कुरा राख्नुभएको छ । स्रोतका अनुसार देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित आधा दर्जन नेता जिताउने सर्तमा गठबन्धन गरी कांग्रेसको बहुमत ल्याउने रणनीतिमा लाग्नुपर्ने बताउनु भएको छ ।
देउवाका अनुसार भरतपुर महानगरको मेयरमा प्रचण्डपुत्री रेनू दाहाल र चितवनमा प्रचण्डलाई जिताउँदा अन्य क्षेत्रमा कांग्रेसलाई माओवादीले सघाउने बचन दिएको खुलासा समेत गर्नुभएको ती नेताले बताए । यस्तै माधवले पनि आफूले भनेको केही पालिका प्रमुख र आफू जित्ने गरी गठबन्धनको बातावरण मिलाइ दिन अनुनय गरेको खुलासा देउवाले गर्नुभएको उनले बताए ।
‘प्रचण्ड र माधवको मिसन एमाले हराउने भन्ने नै हो, आफूहरु केही सिट जिते सवैलाई रुखमा भोट हाल्न लगाउँछन, दुई चारसिट दिएर गठबन्धन गर्दा के बिग्रिन्छ र ?’ देउवाको भनाई उधृत गर्दै अर्का सदस्यले भने ।