२०८१ बैशाख १३ बिहीबार

देशकै ठुलो माहानगरमा नेकपा एमालेले आन्तरिक मतदानबाट मेयर र उपमेयर छान्ने!!

पोखरा महानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार छनोट गर्न नेकपा एमालेले मतदान गराउने भएको छ । नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार छनोट गर्न लागेको हो । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार मतदान गर्ने तयारी गरिएको छ ।
मनोनयन समेत शुक्रबार नै हुने एमाले पोखरा महानगर कमिटीले जनाएको छ । यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ ।
एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए, भने उपमेयरमा ११ जना छन् ।
मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।
उपमेयरका लागि एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री, पत्रकार सुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल र जीवन आचार्य, बामदेव ढुंगाना, टिकाराम पंगेनी, व्यवसायी संजीव बहादुर कोइराला, देवका पहारी (त्रिपाठी), बलराम गायक (गन्दर्भ) र हरिमाया गुरुङले नाम दर्ता गराएका थिए।

२०७९ बैशाख २, शुक्रबार प्रकाशित 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार