२०८१ बैशाख ८ शनिबार

कहालीलाग्दो ,त्रासदीपूर्ण र मानवीय सभ्यताको कालो धब्बा रुकुम चौरझारी घटनाको २ बर्ष

मानवीय उदय र सभ्यताको बिकास सङ्गसङ्गै शिक्षाको उदय र विकास भएको हुनु पर्दछ। मानिसको पूर्ण बिकास नै शिक्षा हुनुपर्ने हो।

समानतामूलक,समतामूलक र बिभेदरहित समाजको निर्माणको मुख्य आधारको रूपमा रहेको शिक्षाले समाजमा रहेका सामाजिक विकृतिबिसङ्गतिहरु,कुरीति, कु- संस्कार, अन्धबिश्वास र रुढीबादीका विरुद्ध जेहाद छेड्नुपर्ने हो तर शिक्षा सहितका प्रायः सबै उत्पादनका साधनहरुमा केही मुठ्ठीभर मानिसहरूले हैकम जमाएका कारण करीब ३७ सय बर्ष भन्दा अघिदेखि सकारात्मक वा नकारात्मक जे ध्येय राखेर जाति ब्यवस्थाको सूत्रपात गरेको भएता पनि त्यो बिभाजनले `फुटाउ र शासन गर´ को नीति जस्तै आफ्नो निहित स्वार्थ पूर्तिका लागि जनसमुदायलाई बिभाजन गरेको सिद्द भएको छ।

दक्ष जनशक्तिको बिभाजन गर्ने शासकहरुको कुत्सित षडयन्त्रका कारण श्रमजीवी, परिश्रमकामी, मेहनतकस जनसमुदायमा परम्परादेखि बिकास हुँदै आएको श्रम, सीप र कलामाथिको नाङ्गो हस्तक्षेप दिनदिनै बढ्दै आइरहेको छ। श्रम चल्छ, सीप र रगत चल्छ तर किन पानी चल्दैन ? वास्तवमा जातीय विभेद र छुवाछूत मानव उदय र सभ्यताको कलङ्क हो, बैज्ञानिक दृष्टिकोणले असत्य, सामाजिक रूपमा निन्दनीय र मानवीय दृष्टिले भयङ्कर अमानवीय र बर्बर असभ्यताको कुरा हो, शोषण , दमन, उत्पीडन , अन्याय, अत्याचार र बिभेदको चरम पराकाष्ठा हो।

नेपालको उदय र सभ्यताको विकासमा,हरेक खाले निरङ्कुश,तानाशाही ,फासिष्ट र एकतन्त्रीय शासन ब्यवस्थाको अन्त्य गरी मुलुकमा लोकतन्त्रको स्थापना गर्नको निम्ति हुनेखाने,टाठाबाठा उत्पादनका साधनमाथिको दोहन गर्नेहरुले सृजना गरेको तथाकथित `उत्पीडित ´समुदायको तर्फबाट ठूलो त्याग,समर्पण र वलिदान गरेको इतिहास दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ।

अझ ब्यवस्था मात्र हैन ,शासन ब्यवस्थाको प्रणाली नै परिवर्तन गर्न यो समुदायको तर्फबाट अबर्णित योगदान त्याग,समर्पण ,बलिदान गरेको ०६२/०६३ सालको शक्तिशाली जनआन्दोलन र १० बर्षको हतियार बन्द सहितको जनयुद्धमा निकै राम्रोसँग अनुभूत गर्न सकिन्छ,महसुस गर्न सकिन्छ , यो जीवीत यथार्थता हो र सच्चाइ पनि हो। यसरी मुलुकमा हुने ठूल्ठूला परिवर्तनहरुमा यी समुदायको तर्फबाट प्रभावकारी सहभागिता र उदाहरणीय भूमिका रहेको पाइन्छ तर पनि उत्पीडित समुदाय भनिने यिनै समूहहरुभित्र रहेको अन्तरजातीय विभेद पनि झन् साह्रो र मानवीय सभ्यताको तगारोको रूपमा रहनु अर्को दु:खद कुरा हो।

जाती ब्यवस्थाको उत्पत्तिदेखि नै जसलाई उत्पीडन मा पारियो ,ती समुदायका मानिसहरू एवं न्याय ,समानता र स्वतन्त्रताका सच्चा हिमायतीहरुले त्यस्ता खाले सामाजिक बिकृति र बिसङ्गतिहरुको उतिबेलै प्रतिबाद गरे, बिरोध गरे। यद्यपि उत्पादनका साधनहरुमा जसको बोलवाला थियो,तिनीहरूले सिङ्गो राज्यशक्तिको आडमा सामन्ती ब्यवस्थाको रूपमा रहेको जातीय विभेद र छुवाछूत जबर्जस्त थोपर्दै आए। बिरोधमा उत्रनेमाथि कुटपिट गर्ने,जिब्रो थुत्ने र जेल हाल्ने सम्म गरिन्थ्यो ।

तर,०६२-०६३ सालको शक्तिशाली जनआन्दोलन र जनयुद्धको फ्युजन पछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी र समानतामूलक शासन ब्यवस्थामा समेत दिनदिनै जातीय हिंसाका घटनाहरु घट्नु, अमानवीय एवं मानव सभ्यताको कलङ्कको रूपमा रहेका जातीय विभेद र छुवाछूतका घट्नाहरु घट्नु निकै लज्जाजनक र २१ औं शताब्दीको शिक्षा ,बिज्ञान र प्रबिधिको उल्टो कुराहरू हुन् ।

गणतन्त्रात्मक शासन ब्यवस्थाको मुख्य जग र आधार स्तम्भ ठानिएको भनिने माओवादी जनयुद्धको उदगम स्थल रुकुम पश्चिमको दु:खद त्यो घटनाले कसलाई पो अहिले पनि सिरिङ्ग-सिरिङ्ग र झस्याङ्ग-झस्याङ्ग बनाएको छैन र? अन्तरजातीय बिबाहको कारणले नबराज बि.क.सहित ६ जना होनहार युवाहरुको बर्बर ,निर्शम्स,पाशविक,अमानवीय ,घोर जंगली र क्रूरतापूर्वक हत्या भयो,सेतो पानी बग्ने भेरी नदीमा कहालीलाग्दो ढङ्गले ती ६ जना अबोध योद्धाहरुको रातो रगत बगेको १ बर्ष पुगेकोछ , रगतको आहालमा लत्पतिएका क्रूर अपराधिक मानसिकताले ग्रस्त ,मानवीय सभ्यता बिरोधी दोषीहरुलाई आफूलाई भयङ्कर क्रान्तिकारी ठान्नेहरुले उम्काउन खोजेका असम्भव कोसिस र प्रयास खेदजनक छन् नै । मानव अधिकारको रूपमा रहेको एउटा मानिसले अर्को मानिसलाई प्रेमिल माया गर्न पाउने अधिकारको चिरहरण भएको १ बर्ष पुग्यो,नैसर्गिक अधिकारको रूपमा रहेको अर्को मानिसलाई इच्छा गर्न पाउने,एक-अर्कामा मन पराउन पाउने सार्वभौम अधिकारको हत्या गरिएको त्रासदीपूर्ण घटनाका दोषीहरुलाई जुनसुकै कार्बाही गरे पनि कमै हुन्छ।

ती घोर अपराधीक,क्रूर र अमानवीय हत्यामा सम्लग्न निकृष्ट दानवीय चरित्र बोकेकाहरुको बारेमा खेद व्यक्त गर्न सक्ने अहिले पनि कुनै शब्दावली नै छैन। त्यो घटनाले जो कोहीलाई अहिले पनि भावबिह्वल बनाएको छ। एकाइसौ शताब्दीमा मानवीय सभ्यतालाई लज्जित बनाउने गरी घटाइएको त्यो घटनाको बारेमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीहरुलाई हदैसम्मको कानुनको दायरामा ल्याउने कुरामा यो वा त्यो हिसाबले प्रभावित पार्नु वा अवरोध गर्न खोज्नु दु:खद कुरा हुन् ।

जातीय बिभेदले ओतप्रोत मानवीय सभ्यता र सिङ्गै मानवताका कलङ्क र कुलङारहरुलाई धिकारदै समाजमा पुनः यस्ता दुस्कर्म नदोहोर्‍याउन नयाँ कदम चाल्नु पर्छ। यो लडाइँ कथित दलित र कथित गैर दलित बीचको होइन, मानव सभ्यताको हो। त्यसकारण राष्ट्रिय मानवअधिकार आयोग र अन्य अधिकारलकर्मीहरुले यो घटनाबाट के शिक्षा लिने र दिने भन्ने बिषयमा छलफल गर्नु पर्छ। यो घटना सुखी नेपाली र सम्मृद्द नेपालको बाधक हो। बिधमान जातीय छुवाछूत जस्ता अमानवीय भेदभावहरु यसरी नै मौलाउदै जादा ब्यबस्था बदलिए पनि अवस्था उहीँ रहयो भने यसले परिबर्तन पूर्ण हुन सक्दैन ।

जब सम्म यस्ता मुद्दाहरुलाई सामाजिक मुद्दा बनाइदैन तब सम्म प्रचलित कानूनको अर्थ रहदैन। नभए नवराज बिक, मैना सार्की, अजित मिजार जस्ता अझै मारिदै जानेछन् अनि नियम कानून निष्कृय भएपछि यसको मूल्य सारा राष्ट्रलाई नै भारी हुन सक्छ। जघन्य त्यो घटनामा गम्भीर ध्यानआकृष्ट भै यो घटनाको सत्य -तथ्य पत्ता लगाई दोषीहरूलाई हदैसम्मको कार्बाहीको पालना गर्न गराउन अनि पीडितलाई उचित क्षतिपूर्ति र ब्यवस्थापन अहिले पनि उत्तिकै आवश्यक छ, तर त्यो त्रासदीपूर्ण र कहालीलाग्दो घटनाको टालटुल र उक्साउनेहरु नै आज सरकारको महत्त्वपूर्ण बिभागीय नेतृत्वमा हुनु अर्को दु:खद र लज्जास्पद कुरा हो। मानवीय सभ्यताको कालो धब्बाको रूपमा रहेका जातीय बिभेदमा संलग्न हुने अपराधीहरुले कुनै बहानामा उन्मुक्ति नपाउन्।

नवराज बिक लगायत होनहार ती सबै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना।

लेखक,
झपट रानाभाट,
नेकपा एमाले कास्कीका लोकप्रिय नेता एवं निर्वाचन बिभाग प्रमुख हुनुहुन्छ ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 1 Minute 688 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार