२०८१ बैशाख १३ बिहीबार

“अर्थमन्त्री जनार्दन शर्मालाई अलिकति पनि लज्जा छैन ?” खगराज अधिकारी l

काठमाडौं, १ असार । नेकपा एमालेका स्थायी समिति सदस्य खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको विकल्प नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “बजेट पढ्ने अघिल्लो राती साढे १२ बजेर घिमिरे थरका पूर्व नायबसुब्बा किन अर्थ मन्त्रालय पसे ? अग्रवाल, न्यौपाने आदि घराना अनि जुत्ता, रड, चाउचाउ, गाडी आदिकोे राजस्वका दरमा फेरबदल गर्ने अधिकार कसरी पाए ? त्यसैले अर्थमन्त्रीले राजीनामा दिएर संसदीय छानबिन समितिलाई सहयोग गर्नुपर्छ । उनी धेरै दिन रहे भने सीसीटभी फुटेज लुकाउन सक्छन् । डा. रामशरण महतले विदेशी डलर लुकाएर विदेशी खातामा राखेको हामीले पत्ता लगाएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो । अहिले पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्छ तर किन मौन हुनुहुन्छ ?”
नेकपा एमाले अर्थमन्त्री शर्माको अनैतिक कार्यको फड्के किनाराको साक्षी नबस्ने पनि अधिकारीले बताए । उनले भने, “हामी प्रधानमन्त्री वा अर्थमन्त्रीको व्यक्तिगत विरोधी होइनौं । हामीले प्रणाली बचाउनुपर्छ । सीधै डकैती गरेको बुझ्दाबुझ्दै पनि निजले संसदमा उपस्थिति भएर कसरी जवाफ दिन सकेको ? अलिकति लोकलज्जा हुँदैन ? उल्टै हामीलाई पो लाज भइरहेको छ । कमसेकम नेकपा एमाले यस्तो अनैतिक कार्यको फड्के किनाराको साक्षी बस्दैन ।”
अब शर्मालाई पदमा राख्नै नमिल्ने उनले बताए । अधिकारीले थपे, “अब पनि उहाँलाई पदमा राखिरहनु हुन्छ ? उहाँ त्यो अनुहार लिएर अर्थमन्त्रीका रुपमा संसदमा आउनै हुन्न । यस्तालाई साथ दिने के नेता होलान् ? कस्ता नेता होलान् ? मुलुकलाई लुटखसोटमा लान मिल्दैन । अर्थमन्त्रीसँग सम्बन्धित कुरालाई हामीले गम्भीरतापूर्वक लिएका छौं ।”
उनले अमेरिकासँग सैनिक समझदारीमा हस्ताक्षर गर्नु गम्भीर आपत्तिजनक हुने पनि बताए ।

२०७९ असार १, बुधबार प्रकाशित 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार