
केही दिन अघि अभिनेता विपिन कार्कीले केही फिल्ममा ठूलो रकम पारिश्रमिक मागेको खबर सार्वजनिक भयो।
विपिनलाई फिल्ममा लिन चाहने केही निर्माता पछि हटे।
उनले उद्योगले धान्ने भन्दा धेरै पारिश्रमिक मागेको भन्दै आलोचना खेप्नु पर्यो।
विपिनले भने आफूले कसैसँग पनि ठूलो रकम माग नगरेको दाबी गरे। पारिश्रमिक धेरै लिएको भए आफूलाई यति धेरै फिल्मको अफर नआउने तर्क गर्दै विपिनले भने ‘मैले कहिलेकाहिँ पारिश्रमिक नलिएर पनि काम गरेको छु। म कुनैपनि प्रोजेक्टमा जोडिएपछि शतप्रतिशत दिने प्रयास गर्छु।’
उनले आफूले काम गर्न नसकेका फिल्मका मेकरले बजारमा ‘पख्लास’ भन्दै गलत हल्ला फिजाइदिएको बताए। हिजो मात्रै ‘प्रसाद २’मा अनुबन्धित भएका विपिन बलिउड फिल्म ‘एनिमल’ छायांकनका लागि मुम्बई जाने तयारीमा छन्।
विपिनले आगामी बैशाखसम्म आफ्नो सेड्युल निक्कै ब्यस्त रहेको बताएका छन्। उनले बैशाखसम्म कुनै फिल्मको अफर नगर्न समेत आग्रह गरेका छन्। उनले भने ‘मलाई फिल्मको अफर धेरै आउँछ।
आउँदो बैशाखसम्म मेरो सेड्युल प्याक छ। यसैले मलाई कसैले पनि फिल्म अफर नगरिदिनुहोला।’