२०८१ बैशाख १२ बुधबार

विवादित व्यवसायी पुनलाई मन्त्री आलेले किन बनाए हङकङको पर्यटन दूत?

हङकङबासीलाई नै तिन छक पार्नेगरी निर्माण र सेक्युरिटी क्षेत्रमा काम गरिरहेका हङकङका विवादास्पद व्यवसायी तेजप्रकाश पुनलाई ‘एक्सन मन्त्री’ प्रेम आलेले ‘पर्यटन दूत‘ कसरी चयन गरे?

मन्त्रीबाट विदा हुनु केही साताअघि मात्र आलेले गरेको यो निर्णय हङकङमा निकै चर्चामा छ, जसबारे नेपालखबरले गरेको खोजीनितीपछि प्राप्त सूचना आश्चर्यमा पार्ने खालको छ।

पर्यटन मन्त्रालय स्रोतको भनाइमा सो पदवी पाउन पुनले प्रेम आलेसँग निकै हिमचिम बढाएका थिए। आर्थिक लेनदेनमा खप्पिस आलेले नामका लागि जति पनि खर्चन सक्ने पुनको बानीबेहोरा बुझेपछि पुनसँग उनको मेल सम्भव भएको स्रोत बताउँछ।

पर्यटन मन्त्रालय सम्वद्ध एक अधिकारी भन्छन्, ‘मन्त्री आलेले राम्रै भेटी बुझेर पुनलाई हङकङको पर्यटन दूतको पदवी दिएको हुनुपर्छ।’

मन्त्रालय स्रोतले नेपालखबरलाई दिएको जानकारी अनुसार मन्त्री आलेले पुनलाई हङकङका लागि पर्यटन दूत नियुक्त गर्दा न मन्त्रालयमा छलफल गरे, न यो प्रस्ताव मन्त्रिपरिषदमै लगे। तर, उनले मन्त्रालयको लेटरप्याडको पत्र संख्या ३०२ मा ‘१० जुन २०२२ मा भएको मन्त्रीस्तरीय निर्णय’ भन्दै पुनलाई हङकङका लागि ११ जुनदेखि लागू हुनेगरी दुई वर्षका लागि पर्यटन दूत नियुक्त गरिएको पत्र बनाइदिएका छन्।

नियुक्ति पत्रमा हङकङमा नेपाली पर्यटनको श्रीवृद्धिका लागि उनलाई मन्त्रालयले नियुक्त गरेको जनाइएको छ। पत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको योजना तथा वैदेशिक सहायता शाखाका अधिकृत प्रकाश दुलालले हस्ताक्षर गरेका छन्। हामीले दुलाललाई पत्रबारे विस्तृत कुराकानी गर्न खोजेका थियौँ। तर, यसबारेमा आफूलाई भन्दा मन्त्रालयका प्रवक्तालाई सोध्न भन्दै उनी पन्छिए।

चोरबाटोबाट गरिएको निर्णयका कारण हुनसक्छ, नेपालखबरले प्राप्त गरेको पत्र कतिसम्म गोप्य राख्न प्रयत्न गरिएको छ भने पदवी पाउने पुन र उनका व्यावसायिक साझेदार तथा श्रीमती टीका (राधिका) गुरुङ (जो एनआरएनए महिला विभागको अन्तर्राष्ट्रिय सचिव तथा हङकङको निवर्तमान अध्यक्ष हुन्) ले सामाजिक सञ्जालमा हर्षपूर्वक लेखेको स्टाटसमा समेत पत्र राखेकी छैनन्। पुन दम्पतीद्वारा विभिन्न सञ्चारमाध्यममा लेखाइएका प्रायोजित समाचारमा समेत पत्र छापिएको छैन।

दम्पतीले सामाजिक सञ्जालमा आफैँले आफैँलाई बधाई दिएपछि म्याग्दी जिल्लाबासीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) को अन्तर्राष्ट्रिय सञ्जालका संरक्षक लगायतका आधा दर्जन संस्थामा आवद्ध पुनलाई बधाईको ओइरो लागेको छ। बधाई दिने र समाचार लेखिदिने पत्रकारहरुलाई उनले एकएकगरी कृतज्ञता ज्ञापन गरेका छन्।

सधैँ विवादमा रहिरहन रुचाउने आलेको अन्य विवादास्पद नियुक्तिजस्तै हङकङका लागि एकल अधिकार प्रयोग गरी उनले गरेको पर्यटन दूतको नियुक्ति पनि विवादरहित किन देखिएन भने यो औपचारिक प्रक्रिया बाहिरबाट गरिएको छ।

हङकङका लागि गरिने हरेक सरकारी निर्णयको आधिकारिक जिम्मा र जानकारी त्यहाँस्थित महावाणिज्यदूतावासलाई हुनुपर्दछ। तर यो रिपोर्ट तयार पार्दासम्म महावाणिज्यदूतावास हङकङलाई यो पत्रबारे कुनै जानकारी दिइएको छैन, न त अन्य सरोकारवाला संस्थाहरुलाई नै यसबारे जानकारी प्राप्त भएको छ। जबकि पत्रमा ‘महावाणिज्यदूतावास, एनआरएनए, ट्राभल व्यवसायी, मिडिया, कूटनीतिक नियोग र सम्बन्धित संस्थाहरुसँग सहकार्य गरी पर्यटन प्रवर्द्धनमा काम गर्न’ उनको नियुक्ति भएको भनिएको छ।

पुन दम्पतीले हङकङस्थित नेपाली महावाणिज्यदूत उदय राना मगरको सिफारिसमा आफू पर्यटन दूतमा नियुक्त भएको भन्दै सामाजिक सञ्जालमा रानालाई समेत कृतज्ञता टक्र्याउन भ्याएका छन्, तर मन्त्रालयको रेकर्डमा हङकङ महावाणिज्यदूतावासबाट पुन वा अन्य कुनै व्यक्तिलाई पर्यटन दूत सिफारिस गरिएको कुनै पत्र भेटिँदैन।

उसोभए पुन दम्पती किन झुटो प्रचार गरिरहेका छन्? यसको जवाफ पुनको पदचाप नपछ्याई पाउन सकिँदैन।

जहाँ हात हाल्यो, त्यहीँ विवाद
काठ तस्करीको आरोपबाट अझै मुक्त हुन नसकिरहेका आले जसरी आर्थिक लेनदेनका निम्ति बदनाम छन्, त्यो भन्दा बढी हङकङका पुनले बदनामी कमाएका छन्। एनआरएनएका संस्थापक कोषाध्यक्ष समेत रहिसकेका बेलायती सेनाका भूतपूर्व जवान पुनले नब्बेको दशकमा हङकङमा कन्स्ट्रक्सन र सेक्युरिटी सर्भिसबाट अकुत सम्पत्ति कमाएका थिए।

त्यतिबेला ‘ब्ल्याकमेलिङ पत्रकारिता’ मा कुख्याती कमाएका एकजना सञ्चारकर्मीको सहयोगमा उनले ठूलो रकम तिरेर वीरेन्द्र ऐश्वर्य सेवा पदक–२००२ र सुप्रबल गोरखा दक्षिण बाहु तेस्रो– २००४ हात पारेको उनैले सगर्व आफ्ना नजिककाहरुलाई सुनाउने गरेको हङकङबासी धेरैलाई थाहा छ।

चर्चामा रहन सधैँ केही न केही ‘स्टन्ट’ गरिरहने पुनले २०७४ सालमा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ करोड उठाइदिन्छु भन्दै महावीर पुनलाई डाकी भव्य ‘च्यारिटी डिनर‘ आयोजना गरेका थिए हङकङमा। त्यसका निम्ति उनले स्थापना गरेको हङकङ नेपाल व्यापार संघलाई अगाडि सारेका थिए। त्यतिबेला २ करोड रुपैयाँ संकलन भएको उनैको संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

तर, दुई करोड उठेको भने पनि हालसम्म जम्मा ४० लाख रुपैयाँ मात्र आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको भनाइ छ। त्यतिबेला उठेको रकम केन्द्रमा बुझाउन अनेक पटक ताकेता गर्दा पनि ‘भोलि भोलि’ भन्दै अहिलेसम्म बुझाइएको छैन।

ताकेता गर्ने मोनाकै एकजना सदस्य भन्छन्, ‘अहिलेसम्म त त्यो पैसाको ब्याज नै लाखौँ उठिसक्थ्यो।’

पुनले हात हालेका आयोजना कुनै पनि विवादरहित छैनन्। उनको पारिवारिक संस्था हङकङ व्यापार संघले महावाणिज्यदूतावास नेपाल र हस्तकला महासंघ नेपालसँग सहकार्य गरी निकै तामझाम सहित २०१७ मा राखेको २ दिने हङकङ–नेपाल व्यापार मेला नराम्ररी असफल भएको थियो।

त्यतिबेला हस्तकला महासंघको अगुवाइमा नेपालबाट लगिएका २५ जना हस्तकला व्यापारीहरुले नबिकेका सामग्री कौडीको भाउमा बेचेर फर्कनु परेको तितो अनुभव उनीहरुसँग छ।

त्यसरी नराम्रो अनुभव संगालेर फर्किएका पाटनका हस्तकला व्यवसायी सुरेन्द्रमान शाक्य भन्छन्, ‘त्यो मेलामा नेपाली उत्पादन देखाउने काम मात्र भयो। व्यापार नै भएन। अन्तिममा टिठ लागेर होला नेपाली दाजुभाइदिदीबहिनीहरुले अलिअलि किनेर सहयोग गरिदिनु भयो।’

त्यतिबेला नेपाल च्याम्बर अफ कमर्स, हङकङलाई बाइपास गरी कार्यक्रम आयोजना गरिएको भन्दै च्याम्बरसँग आवद्ध व्यवसायीहरुले मेला ‘बहिष्कार’ गरेका थिए।

लिबियामा नेपाली कामदार लगेर बिचल्ली पारेको र तिनलाई यातना दिएको कुख्यात घटनामा पुन दम्पती संलग्न रहेको खोजपत्रकारिता केन्द्रले सन् २०१० माप्रकाशित गरेको रिपोर्टमा उल्लेख छ। त्यसपछि केही वर्ष बेलायतमा भूमिगत जीवन बिताएका पुन ५ वर्षदेखि हङकङमा फर्किई पुरानै व्यवसायलाई निरन्तरता दिन खोजिरहेका छन्।

हङकङेली नेपाली समाजले पुनको इतिहासलाई बिर्सेर उनलाई समाजमा फर्कन निकै सहयोग गरे पनि माथिका प्रकरणले उनको ‘लागेको बानी’ अझै सुधार नभएको देखिन्छ। यसरी आफ्नो सामाजिक आनीबानीमा सुधार गर्न नचाहने एक जना विवादास्पद व्यवसायीलाई हङकङमा देशको नेतृत्व गर्दै पर्यटन दूत बनाउँदा त्यो पदको दुरुपयोग भयो भने के हुन्छ?

विवादास्पद निर्णय गर्ने विवादित मन्त्री आले जिम्मेवारीबाट हटिसकेपछि उनको स्थान जीवनराम श्रेष्ठले लिइसकेका छन्। उता हङकङको सम्बन्धित निकाय महावाणिज्यदूतावासले समेत आफूहरुलाई यसबारे कुनै जानकारी नभएको बताइरहेको सन्दर्भमा यस्ता निर्णयको जिम्मेवारी कसले बोक्ने?

२०७९ असार २१, मंगलवार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार