२०८१ बैशाख १३ बिहीबार

त्रिभुवन विमानस्थल भन्छ, ‘सम्झौतामा आगमन कक्ष बनाउने उल्लेख थियो, बसेबापत शुल्क लिने थिएन’

देशको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको जिम्मेवारी यतिबेला व्यवसायी दीपक मल्होत्राको कम्पनी आईएमएस ग्रुपको कब्जामा छ । कब्जा पनि तत्कालका लागि मात्रै होइन, कम्तीमा अझै २३ वर्ष र अदालतले मल्होत्राको पक्षमा फैसला दिए सम्भवतः अझै ३० वर्षभन्दा माथि ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय लगायतको सरकारी संयन्त्रको स्वीकृतिमा त्रिभुवन विमानस्थल कार्यालयले विमानस्थलको आगमनतर्फको व्यवस्थापनको जिम्मेवारी आईएमएस ग्रुप अन्तर्गतको आईएमएस एअरपोर्ट सर्भिसेजलाई दिने गरी २०६९ सालमा सम्झौता गरेको थियो ।

२०६९ साल कात्तिक ७ गते साविकको रसुवा–केडी जेभी नामक निर्माण कम्पनीसँग सम्झौता गरी त्रिभुवन विमानस्थल कार्यालयले बुट मोडल (निर्माण, सञ्चालन र हस्तान्तरण) मा निर्माण गरी सञ्चालन गर्ने गरी सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्षमा निर्माण सम्पन्न गरिसक्नु भए पनि निर्माण नसकिएको भन्दै सुरुमा १८ महिनाको समय थप गरिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । तर २०७२ वैशाखमा भूकम्प गए पनि निर्माणमा समस्या आएको कारण पछि फेरि समय थप गरेर काम अगाडि बढाइएको थियो ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार तत्कालीन समयमा वार्षिक ७० लाख रुपैयाँ भाडा बुझाउने गरी सम्झौता गरिएको थियो । सुरुमा केही समय भाडा बुझाए पनि पछि भाडा पनि नबुझाएको र अदालतमा मुद्दा परेको कारण त्यसको विवाद कायम नै रहेको छ । जसका कारण दीपक मल्होत्राको कम्पनी आईएमएस ग्रुपको आईएमएस एअरपोर्ट सर्भिसेजले पछिल्लो समय बहालबापतको भाडा बुझाएको छैन ।

विमानस्थल कार्यालयले पहिलोपटक समय थप गरेको समयपछिबाट भाडा लागु हुने दाबी गरेको छ भने आईएमएस ग्रुपले सञ्चालनमा आएपछिको भाडा मात्रै तिर्न सकिने भन्दै विवाद निकालेको थियो । त्यसलगत्तै सोही भाडा विवाद यतिबेला अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

कसरी दिइएको हो आइएमस ग्रुपलाई एअरपोर्टको ‘ठेक्का’ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको व्यवस्थापकीय जिम्मेवारी लिएको आईएमएस एअरपोर्ट सर्भिसेजलाई सुरुमा ठेक्का परेको होइन । सुरुमा रसुवा–केडी जेभी नाम गरेको निर्माण कम्पनीलाई उक्त ठेक्का परेको थियो । निर्माण कम्पनीले आफ्नै खर्चमा निर्माण गर्ने र ३० वर्षसम्म सञ्चालन गरी विमानस्थल कार्यालयलाई बुझाउने गरी उक्त ठेक्का दिँदा निर्माण कम्पनीका मालिक विमल पोद्धार थिए । तर विमल पोद्धार ३३ किलो सुन प्रकरणमा मुछिएपछि उक्त कम्पनीको स्वामित्व दीपक मल्होत्राको कम्पनी आईएमएस ग्रुपले किनेर एअरपोर्टको काम गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको स्वामित्वमा रहेको सिनामंगलतर्फको ५१ रोपनी जग्गामा व्यावसायिक भवन, पार्किङस्थल, आगमन कक्ष, बगैँचा आदि बनाउने गरी सम्झौता भएको थियो । सम्झौतामा जग्गाको बहालवापत वार्षिक ७० लाख रुपैयाँ भाडा सम्झौता गरिएको कम्पनीले विमानस्थल कार्यालयलाई तिर्ने उल्लेख छ । त्यसैगरी व्यावसायिक भवन, पार्किङ र अन्य आम्दानीको १५ प्रतिशत रकम पनि विमानस्थल कार्यालयलाई बुझाउने गरी सम्झौता गरिएको थियो ।

विमानस्थलको प्रवेशद्वारबाट दक्षिणपश्चिमतर्फ पर्ने सिंनामंगलक्षेत्रको ५१ रोपनी जग्गामा यतिबेला आईएमएस ग्रुपले अन्डरग्राउण्ड सुविधासहितको पार्किङ, चार तलाको व्यावसायिक भवन, आगमन कक्ष र सानो बगैंचासमेत बनाएको छ । र, आईएमएस ग्रुपले बनाएको व्यावसायिक भवनमा प्रभु बैंक, ज्योति विकास बैंक, द बेकरी क्याफे, सिद्धी पोलिक्लिनिक, हिमालयन जाभा कफी, थकाली रेस्टुरेन्ट तथा केही व्यापारिक समूहको कार्यालयसमेत रहेको छ । ती कार्यालयहरूबाट मासिक ६० लाख रुपैयाँभन्दा बढी भाडा असुल हुने गरेको छ ।

त्यसैगरी आईएमएस ग्रुपले सञ्चालनमा ल्याएको पार्किङस्थलबाट एएटा कार एक घण्टाभन्दा कम समय पार्किङ गरेमा पनि प्रतिघण्टा ५० रुपैयाँ र एकदिन पूरै पार्क गरेमा १ हजार २ सय रुपैयाँ शुल्क लिने गरिएको छ । त्यसैगरी मोटरसाइकल वा स्कुटर पार्किङ गरेमा प्रतिघण्टा २५ रुपैयाँ र प्रतिदिन ६ सय रुपैयाँ शुल्क लिने गरिएको छ । त्यसैगरी मिनिबस, माइक्रोबस आदि प्रतिघण्टा ७५ रुपैयाँ, बस तथा ट्रकको प्रतिघण्टा १२५ रुपैयाँ पार्किङ शुल्क लिने गरिएको छ । यी सबै शुल्क आईएमएस ग्रुपले विमानस्थल कार्यालयबाट स्वीकृति गराएको आईएमएस ग्रुपले बताएको छ ।

सम्झौता विपरीत यात्रुबाटै शुल्क असुल

विमानस्थल कार्यालय र आईएमएस एअरपोर्ट सर्भिसेजसँग भएको सम्झौतामा यात्रु आगमन कक्ष र यात्रु प्रतीक्षालय पनि बनाउने सम्झौता छ । सम्झौता अनुसार आईएमएस ग्रुपले यी दुवै संरचना बनाएको छ । तर विमानस्थलसँग भएको सम्झौतामा यात्रुसँग शुल्क लिने सम्बन्धमा भने कुनै सम्झौता नगरिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनले भने, ‘आगमन कक्ष र यात्रु प्रतीक्षालय बनाउने सम्झौता भएको हो । सम्झौतामा व्यावसायिक भवन बनाएर बहालमा लगाउने, पार्किङ शुल्क उठाउने पनि सम्झौता छ । तर आगमन कक्षमा बन्ने प्रतीक्षालयमा बसेबापत शुल्क लिने भन्ने सम्बन्धमा कुनै सम्झौता भएको थिएन । उनीहरुले करिब तीन÷चार महिनादेखि लिइरहेका रहेछन् । यसबारेमा अहिले पनि छलफल जारी नै छ । यदि उनीहरुले त्यहाँबाट पैसा लिने नै हो भने पनि अर्को पूरक सम्झौता गर्नुपर्ने हुन्छ ।

अहिले आईएमएस एअरपोर्ट सर्भिसेजले अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षतर्फ तीन प्रकारको यात्रु प्रतीक्षालय बनाएको छ । डिलक्स हल, सुपेरियर हल र सामान्य टहरा । हाल सामान्य टहरामा आफन्त वा यात्रुको प्रतीक्षा गर्दा कुनै शुल्क तिर्नुपर्दैन । तर टहरामा बस्नका लागि कुनै कुर्सी राखिएको छैन, त्यहाँ उभिएर नै यात्रुको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

तर यदि यात्रुका लागि प्रतीक्षा गर्दा डिलक्स रुममा जाने हो भने प्रतिव्यक्ति एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ भने सुपेरियरमा बस्न चाहेमा प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । सुपेरियरमा फ्रि वाइफाई, ट्वाइलेट र फ्लाइट इन्फरमेसन बोर्ड र कुर्सी राखिएको छ । त्यसैगरी १ सय रुपैयाँ तिर्नुपर्ने डिलक्स हलमा भने फ्रि वाइफाई, एअर कण्डिसनर, पिउने पानी, चार्जिङ पोर्ट, एटिएम मेसिन, ट्वाइलेट र फ्लाइट इन्फरमेसन बोर्डको व्यवस्था गरिएको आईएमएस ग्रुपले जनाएको छ । आफूले थप सेवा र सुविधा दिएको कारण शुल्क उठाउन पाउने आईएमएसले दाबी गरेको छ ।

‘यात्रु प्रतीक्षालय’ बनाउने भन्नुको अर्थ उभिने टहरामात्रै बनाउने भनिएको होइन । प्रतीक्षालयमा पक्कैपनि कुर्सी लगायतका सामान हुनु आवश्यक छ । तर आईएमएस ग्रुपले भने आफूले थप सेवा र सुविधा दिएको दाबी गर्दै थप शुल्क उठाउन पाउने दाबी गर्दै आएको छ ।

यात्रुका आफन्तसँग प्रतीक्षालयमा बसेबापत नै शुल्क उठाएको सम्बन्धमा विवाद भएपछि त्रिभुवन विमानस्थल कार्यालयले आईएमएस ग्रुपसँग बसेर छलफल गरेको थियो । छलफलपछि ६५ वर्षभन्दा माथिका वृद्धवृद्धा, ५ वर्षमुनिका बालबालिका, अशक्त र अपाङ्ग लगायतका व्यक्तिका लागि भने अहिले सुपेरियर हलमा निःशुल्क बस्ने व्यवस्था मिलाइएको छ ।

के कुन सम्झौताका आधारमा यात्रुका आफन्तसँग शुल्क उठाइएको हो भनी बुझ्न खोज्दा आईएमएस ग्रुपका कर्मचारीहरु एकले अर्कोलाई देखाउँदै पन्छने गरेका छन् । सिनामंगलस्थित कार्यालयमा सोमबार रातोपाटीका सम्वाददाता पुग्दा त्यहाँ जिम्मेवार कर्मचारी नरहेको भन्दै यसबारेमा केही भन्न नसकिने बताइयो । यसको व्यवस्थापनको काम आईएमएस डेभलपरले गरेको भन्दै ज्ञानेश्वरमा रहेको कार्यालयमा सम्पर्क राख्न भनियो । तर ज्ञानेश्वरमा रहेको कार्यालयमा सम्पर्क गर्दासमेत सम्झौताका सम्बन्धमा कुनै जानकारी नभएको भन्दै हेड अफिसमा सम्पर्क गर्न भन्ने गरिएको छ ।

मुद्दामा गएर भाडा नतिर्ने र सम्झौता लम्ब्याउने आईएमएसको षडयन्त्र

अहिले सिनामंगलस्थित आईएमएस ग्रुपले सञ्चालनमा ल्याएको व्यापारिक भवन, पार्किङस्थल, आगमन कक्ष आदि रहेको जग्गा तथा भवनको सम्बन्धमा उच्च अदालतमा मुद्दा चलिरहेको छ । मुद्दा चलिरहेको कारण आईएमएस ग्रुपले विमानस्थललाई भाडा तिर्नुपरेको छैन । पछि भाडा तिर्नुपर्ने फैसला आए पनि अहिले पैसा होल्ड गरेर अन्यत्र लगानी गर्दा राम्रै नाफा कमाउन सकिने र अदालतले मुद्दा सकिएको वा आईएमएसले भनेजस्तै पूर्णरुपमा सञ्चालनमा आएको मितिबाट भाडा तिरेमा आईएमएसलाई करिब ३ करोड रुपैयाँ बराबरको थप लाभ हुने देखिन्छ । अदालतबाट पछिको मितिबाट सञ्चालनमा आएपछिको भाडा तिर्ने गरी फैसला ल्याउन सकेमा उपभोग गर्न पाउने समय अर्थात् लिज समय पनि बढाउन पाउने भएकाले आईएमएस ग्रुप सकेसम्म उक्त मुद्दालाई लम्बाउने र अदालतबाट आफू अनुकूलको फैसला ल्याउने गरी मिहिनेत गरिरहेको छ । अदालतमा मुद्दा गएको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने जग्गाबापतको भाडासमेत पाउन सकेको छैन ।

२०७९ असार २२, बुधबार प्रकाशित 0 Minutes 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार