काठमाडौंको चन्द्रागिरीमा फसेका ४३६ जनालाई प्रहरीले उद्धार गरेको छ। केवलकार नचलेपछि भालेश्वर मन्दिर परिसरमा दिनभर रोकिएका पर्यटकलाई नेपाल प्रहरीले उद्धार गरेको हो।
त्यहाँ फसेकाको उद्धार गर्न काठमाडौंका विभिन्न युनिटबाट १५० जना प्रहरी परिचालन गरिएको काठमाडौं परिसरका निमित्त प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिए।
प्रहरीले १७० जनालाई पैदल नै उद्धार गरेको हो। साँझ केवलकारबाट बाँकी २६६ जनाको उद्धार गरिएको एसपी मैनालीले बताए।
चन्द्रागिरी डाँडामा रहेका सबैको उद्धार भइसकेको छ। उनीहरुलाई मुख्य सडकमा झारेर आ–आफ्नो गन्तव्यतर्फ पठाइएको मैनालीले बताए।
बुधबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना पनि केहीबेर केबलकारमै रोकिएका थिए। उनलाई भने दिउँसै फर्काइएको थियो। अन्य पर्यटकलाई भने साँझ ८ बजेसम्ममा उद्धार गरिएको एसपी मैनालीले जानकारी दिए।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि केबलकारमा केहीबेर अड्किएका थिए।
अध्यक्ष तिमिल्सिनासँगै १४० जना केबलकारमा फसेका थिए।
पारिवारिक घुमघामका लागि बुधबार बिहान चन्द्रागिरी गएका तिमिल्सिना करिब १५ मिनेट केबलकारमा अड्किएका हुन्।
१५ मिनेटपछि विद्युत परिचालन भएपछि तिमिल्सिना चन्द्रागिरि पुगेका थिए।