(समय र मान्छे)
घाम झुल्कने पूर्वबाट नै हो । चन्द्रमा अस्ताउने पश्चिममा पुगेर नै हो । केवल बिम्ब फेरिएको छ । परिस्थिति फेरिएको छ । खै कहाँ फेरिएको छ समय ? आखिर उही हो । उस्तै थियो । उस्तै छ ।
मान्छे भन्छन्, यो दुनियाँ हिजोजस्तो थियो, आज त्यस्तो छैन । आज जस्तो छ, भोलि यही रूपमा रहँदैन । धर्तीका श्रृंखला फेरिएका फेरियै छन् । सारा अवयवहरु बदलिएका बदलियै छन् । तर, हामी भने समय फेरिएको भ्रममा बाँचिरहेका छौँ ।
यसो गर्यो, उसो गर्यो उही समयलाई घान हाल्ने ! यस्तो पनि हुन्छ र ? कहिलेकाहीँ म पनि अलमलमा पर्छु । समय फेरिएको हो कि जीव र जीवात्माहरु फेरिएका हुन् ?
समय हो । मन हो । सबै कुरा सधैं याद भइरहन्छ भन्ने पनि हुँदैन । बिर्सन सकिन्छ । कतिपय कुराहरु मानसटलबाटै हराएर जान्छन् । जतिसुकै कोसिस गरे पनि सम्झन सकिन्न । तर, सम्झिने प्रयास गर्नु, विगतको त्यो विन्दुलाई छुने प्रयास गर्नु, छुटेको विन्दुलाई भेटाउने कोशिसको कौतुहल, जिज्ञासा वा छटपटी मनमा हुनु ठूलो कुरा हो जस्तो लाग्छ