
काठमार्डौ- नेकपा एमालेका सचिव गोकर्ण विष्ट सरकारको दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णयविरुद्ध उत्रिएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता विष्टले अध्यादेश ल्याउने प्रतिगामी निर्णयको सबैले विरोध गर्न आह्वान गरेका छन् ।
एमाले एकताका लागि क्रियाशील माधव नेपाल पक्षका नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको र यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने बताएका छन् ।

विष्टले आफ्नो वक्तव्यमा भनेका छन्, ‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।’