समाज अनी देश बिकासमा महिलाको भुमिकाः परिष्मा थापा ।
समाज अहिले जटिल परिस्थितिमा गुज्रिरहेको छ । यससँगै नेपालको अर्थतन्त्र धरासायी हुने आंकलन गरिएको छ । झण्डै आधा आकास ओगटेका महिलाहरुको अवस्था र जिम्मेवारी सीमित हुन गए अवस्था झनै भयाभय हुने निश्चित छ । विवाह गरेर श्रीमानको घरमा गएर एक दुई वटा सन्तानको आमा बन्दैमा जिन्दगी सहज बित्छ भन्ने मनोसामाजिक चेत शहरिया महिलामा प्रशस्त भेटिन्छ । भौतिक सम्पत्ति जस्तै गरगहना, घर र घरमा सजिएका अमूर्त सम्मत्तिको होडबाजी चल्दै बाटोमा उभिएर झगडा गर्ने प्रवृतिमा दिनचर्या बिताएका शहरीया महिलालाई देख्दा आज समाज कुन दिशातिर गइरहेको छ भन्ने प्रश्न उब्जन्छ । श्रीमतीको छिमेकीसँगको होडबाजीलाई जिताउनकै लागि भएपनि श्रीमानहरु आफ्ना कार्यालयका चलअचल सम्पति भित्राएर आफ्नो घरमा राम्रै जोहो गरेको पनि देखिन्छ । यस्तै अनेकन माहोल सिर्जना हुँदा हरेक क्षेत्रमा दिन प्रतिदिन भ्रष्टाचार मौलाउँदो छ ।
व्यापारीहरु कालोबजारी गर्न खप्पिस देखिन्छन् । कर्मचारीहरु धर्म छाडा भइसके, विचौलियाहरुले राता रात करोडौंको घरबास जोडिसके, तर नेपालका गरीब र हुँदा खाने उत्पीडित वर्ग, जाति, समुदाय वा मजदुर वर्गको अवस्था उस्तै रहनुले समृद्ध नेपाल सुखी नेपाली भन्ने कुरा नेताका चुनाव जित्ने नारा मात्र बनेका छन् । हामीजस्ता स्वतन्त्र रुपले आफ्नो परिश्रम गरेर दिन बिताउन रमाउनेहरुले पनि अनैतिक धनबाट लिप्त भएका र गरगहनामा सजिएका महिलालाई ठूलो देख्ने र उनीहरुकै प्रसंशा गर्ने प्रवृतिले पनि उनीहरुलाई आत्मबल मिलेको छ । तसर्थ खराब प्रवृतिलाई निरुत्साहित गर्न हामी सचेत नागरिक सधैं सजग र सचेत रहनु आवश्यक छ ।
एक ठाउँबाट खराब प्रवृति मौलायो भने त्यसको हजारौं ठाउँमा तत्कालीन वा दीर्गकालिन असर पर्ने हुँदा हरेक क्षेत्रमा उत्तिकै जिम्मेवार र होसियार रहेर काम गर्नुपर्ने देखिन्छ । तसर्थ हामी सबैले नैतिकता र आफ्नो परिश्रममा रमाउने संस्कार विकास गर्नु जरुरी छ । सभ्य र शिक्षित समाजमा पनि जनचेतनाको कमि छ । अहिलेको यस विषम परिस्थितिमा काठमाडौ, चितवन जस्ता शिक्षित वर्गहरुको बसोबास हुँदै आएका जिल्लामा स्वाथ्यकर्मी र कोरोना संक्रमितलाई गरिएको अमानविय व्यवहारले पनि जुनसुकै समाजमा जनचेतनाको कमि महसुस गरिएको छ । यस परिवेशमा समाजलाई सुसूचित बनाई राख्नलाई पनि चेतना फैलाउने काममा महिला वर्ग उत्तिकै जिम्मेवार हुनु जरुरी छ । आफ्ना छोरा बुहारी छोरी ज्वाइँलाई डाक्टर नर्स बनाउनकै लागि जीवनभरी कमाएको सम्पत्ति खर्च गर्न लालाहित हुने तर, आफ्नै छरछिमेकमा समस्यामा परेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायत फ्रन्टलाइनमा काम गर्ने तथा कोरोना संक्रमितलाई मनोवैज्ञानिक असर पर्ने खालका गतिविधि गर्न सहयोग गर्ने महिला पुरुष जोसुकैलाई पनि अब जनचेतनाको पाठ पढाउनु जरुरी छ । जसका लागि महिलाहरुको भूमिका अधिक रहनु पर्दछ ।
समाजमा देखिएका कुसंस्कार र कुरुती बुझ्नका लागि पनि महिलालाई घर भित्र मात्र सीमित नराखी बाहिरी वातावरण पनि बुझ्न अग्रसरता बढाउनु पर्ने देखिन्छ । महिलाहरुले पनि आफू यो देशको जिम्मेवार नागरिक हो भनि चिनाउन आवश्यक छ । मानव भएर बाँच्न सिक्नु पर्दछ भन्ने भावना जगाउनु छ । ठाउँ–ठाउँमा महिला समूहहरु र महिलाका हकहितमा बोल्ने संघसंथाहरु प्रशस्त भएपनि तिनीहरुले उत्पीडित महिलाका बारेमा आवाज उठाउन सकेको देखिँदैन । कति महिलाकर्मीहरु त यसलाई सेवा भावले नहेरिकन पेसेवर भएको देखिन्छन् । उनीहरु आफ्नो फाइदाका लागिमात्र पेशा जोगाइरहेको पनि पाइन्छ । समाजमा पीडित महिलाका बुलन्द आवाजलाई सशक्तिकरण गरी रुढीवादी समाजमा परिवर्तन ल्याउन खोज्ने महिला अधिकारकर्मीहरुको नेतृत्वदायी भूमिकालाई समाजले अनावश्यक ठान्दछ ।
दिनहुँ गरीब महिलाहरुले प्रजनन् स्वास्थ्यको समस्याले अकालमै ज्यान गुमाउनु परेको छ । बोक्सीको आरोपमा अपहेलना खेप्नु परेको छ । परिवारको सेवामा रमाउन नसक्ने महिलाहरुले घर खान नजानेकी भन्ने आरोप खेप्नुपरेको छ । कतिपय शिक्षित महिलाहरु त घर भित्र नै बाँधिनु पर्छ भन्ने मनोसामाजिक चेत भएकाहरुको फन्दामा परेर मानव भएर बाँच्न पाएका छैनन् । तर केही महिलाले राम्रै अवसर पाएको देख्दा महिलाहरु धेरै सुखी छन् जस्तो पनि लाग्छ । आफूमा आँट र भरोसा लिएर अघि बढ्ने महिलाहरुबाट घर परिवार र समाजलाई योगदान मिलेको पनि छ । तसर्थ महिलाहरु अब यत्तिकै सजिने र सजाइने वस्तु मात्र बनेर बस्ने बेला यो होइन ।
अब महिलाहरु बाँचुन्जेल आफ्नो परिश्रममा रमाउन सिक्नु पर्छ । आफूले जाने गरेका कामलाई निरन्तरता दिन पाउनु पर्छ । आम महिला देश र समाजको हक हितमा लाग्नसके मात्र देशले काँचुली फेर्नेछ र समृद्द नेपाल र सुखी नेपाली भन्ने नाराले सार्थकता पाउन सक्छ ।