२०८१ बैशाख ९ आईतवार

Routine of Nepal Banda को कथा ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-१० की बेलमती नेपालीलाई  क्यान्सर लागेकाे थियाे। उनको उपचारका लागि श्रीमान्‌ले भैंसी बेचे। त्यतिले नपुगेर एक हजार ७२० वर्गमिटरमा रहेको घरजग्गा बन्धकी राखेर गाउँकै साहुसँग पाँच लाख ६५ हजार रुपैयाँ ऋण लिए।
तर, जायजेथा सबै सकिंदा पनि उपचार गराउन चाहिने खर्च जुटेको थिएन। त्यही वेला ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबूक पेजमा सहयोग माग्दै उनीहरूबारे पोस्ट भयो। त्यसको एक सातामा  पाँच लाखभन्दा बढी रकम उठ्यो। अहिले बेलमतीको उपचार सफल भई यी दम्पती रुकुम फर्किसकेका छन्।
उपचार खर्च जुटाउन सहयोग गर्ने फेसबूक पेजबारे बेलमतीका पति खड्के नेपालीलाई खासै जानकारी छैन। “उहाँहरूले सहयोग नजुटाएको भए त उपचार बीचमै छाडेर फर्कनुपर्थ्यो होला,” खड्के भन्छन्।
गत पुसमा काठमाडौं बसुन्धराबाट १३ वर्षीय बालक घर छाडेर हिंडे। आफन्त र प्रहरीले महीना दिनसम्म खोजे, तर भेटाउन सकेनन्। बालकको परिवारले अन्ततः रुटिन अफ नेपाल बन्दको सहयोग लियो। त्यहाँ पोस्ट हुनासाथ बालक टोखाको एक नर्सरीमा काम गरिरहेको अवस्थामा भेटिए।
बालककी दिदी भन्छिन्, “हामीले त भाइ भेट्ने आश मारिसकेका थियौं। पोस्ट गरेको भोलिपल्टै भाइ भेटिएको खबर आयो। शुरूमा त हामीलाई विश्वासै भएन।”
यी उदाहरणले प्रस्ट पार्छन् फेसबूक पेज रुटिन अफ नेपाल बन्द कति प्रभावकारी छ भन्ने। छोटकरीमा ‘आरओएनबी’ भनिने यो पेजलाई लिएर खासगरी युवा पुस्ताको ‘क्रेज’ बेग्लै छ। सूचना, समाचार सम्प्रेषणदेखि सहयोग जुटाउन यो प्रभावकारी मानिन्छ।
महीनामा करीब २५-३० जना हराएको विषयमा पोस्ट हाल्छौं, त्यसमध्ये १०-१२ जना भेटिन्छन्। नागरिकता, पासपोर्ट जस्ता कागजात पनि उत्तिकै संख्यामा भेटिन्छन्,” रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल भन्छन्, “रगत नपाएर आत्तिएका बिरामीको आफन्तले यहीं पोस्ट गरेका कारण रगत पाएका छन्। उपचार खर्च नपाएका बिरामीलाई पनि आरओएनबीले खर्च जुटाइदिएको छ।”
रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल।
यसरी शुरु भयाे
पौडेल मूलधारको सञ्चारमाध्यमले नहाल्ने तर सर्वसाधारणका लागि अति महत्त्वपूर्ण हुने सूचना आरओएनबीले पोस्ट गर्ने बताउँछन्। २०६८ सालमा बन्दको ‘अपडेट’ दिन १६ वर्षे ठिटोले शुरू गरेको सामान्य फेसबूक पेज थियो, आरओएनबी। २०८० सालमा आइपुग्दा युवाको ठूलो जमातले आरओएनबीलाई विश्वास गर्न थालिसकेको छ।
आरओएनबीको प्रभाव राष्ट्रिय राजनीतिसम्मै विस्तार भइसकेको छ। त्यसको उदाहरण नेपाली कांग्रेस नेत्री आरजु राणाको टिप्पणी पनि हो। २०७९ असार ६ गते एउटा कार्यक्रममा कांग्रेस नेत्री राणाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आरओएनबीलाई ‘कन्सल्ट्यान्ट हायर’ गरेकाले चुनाव जितेको दाबी गरिन्।
“बालेन साहको सोसल मिडिया तपाईंले हेर्नुभएको छ? ‘उहाँले कतिमा कन्सल्ट्यान्ट हायर गर्नुभयो रुटिन अफ नेपाल बन्दलाई? उहाँको बारेमा आउँदै आउँथेन। यत्रो ठूलो ‘आउटरिच’ छ रुटिन अफ नेपाल बन्दको। उसले परिचालन गर्‍यो, एनालाइसिस गर्‍यो। राजनीति हो एभ्रिथिङ इज फेयर भन्छन्,” राणाले भनेकी थिइन्।
साहको जितलाई राणाले मात्र होइन, अरूले पनि आरओएनबीसँगै जोडेर हेरे। तर, पौडेल यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाउँछन्। पेज मार्फत कुनै पनि दलका नेतालाई समर्थन नगरेको दाबी गर्छन्। स्थानीय तह निर्वाचनका वेला स्वतन्त्र उम्मेदवार साहसँगै कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितबारे पनि बराबर पोस्ट हालेको उनको भनाइ छ। तथापि, साहकै पोस्टमा सबैभन्दा बढी ‘इंगेजमेन्ट’ भएकाले उनलाई समर्थन गरे जस्तो देखिएको पौडेलको तर्क छ।
नेत्री राणाको अभिव्यक्तिकै प्रभावले गत निर्वाचनमा आरओएनबीलाई ठूला पार्टीका दर्जनौं नेताले पोस्ट हाल्न आर्थिक प्रलोभन दिए। दबाब थेग्न नसकेर पौडेलले एक साताभन्दा बढी मोबाइल बन्दै गरे। कुनै नेता वा पार्टीलाई समर्थन गरेको ‘ट्याग’ लाग्ने बुझेपछि आरओएनबीले अब चुनावमा राजनीतिक पोस्ट नगर्ने नीति नै लिएको छ।
आरओएनबीको उदय
२०६८ सालतिर पौडेल एसएलसी दिएर ब्रिज कोर्स पढिरहेका थिए। गिभ मि गोल डटकम न्यूजपोर्टलमा खेल पत्रकारिता पनि गर्थे।
त्यस वेला विभिन्न राजनीतिक दलको आह्वानमा नेपाल बन्द भइरहन्थ्यो। बन्दका सूचना र समाचार मूलधारका सञ्चारमाध्यममा त्यति आउँदैनथे। सूचना नपाएर सर्वसाधारणले बाटोमा दुःख पाउँथे। पौडेल आफैं वनस्थलीबाट बागबजार ब्रिज कोर्स गर्न धाउँदा कहिलेकाहीं त आधा बाटोमा पुगेर बन्द भएको थाहा पाउँथे।

त्यो वेला विवेकशील आन्दाेलनका अगुवा उज्ज्वल थापा लगायतका नेताहरूले नेपाल बन्दको विरोधमा विभिन्न कार्यक्रम र प्रदर्शनको आयोजना गरिरहन्थे। पौडेलले यही बन्दविरोधी अभियानलाई साथ दिन र बन्दको सूचना दिन रुटिन अफ नेपाल बन्द नामक फेसबूक पेज खोले।
पेजमा पोस्ट भएका बन्दका जानकारी देखेर पेजमा फलोअर्स बढे। फलोअर्सले नै विभिन्न ठाउँबाट बन्दको सूचना र फोटोहरू पठाउन थाले। बन्दको अवस्था थाहा पाउन आरओएनबी गतिलो माध्यम भयो।
बिस्तारै पेजमा लोडसेडिङको तालिका पनि पोस्ट हुन थाल्यो। मानिस हराएकोदेखि कागजपत्र हराएको सूचना समेत पोस्ट हुन थाल्यो। पहिरोले राजमार्ग अवरुद्ध भएकोदेखि डढेलोका घटना पनि पोस्ट भयो। मूलधारको सञ्चारमाध्यमले स्थान नदिएका तर सर्वसाधारणसँग सरोकार राख्ने विषयलाई पौडेलले आरओएनबीको खुराक बनाए।
त्यसबीच ब्रिज कोर्स सकाएर पौडेल आईटी पढ्न थाले। वेभ डिजाइन, डिजिटल मार्केटिङ, एफिलियट मार्केटिङ, एसईओ, न्यूज प्लग इन सम्बन्धित फ्रिलान्सिङ काम पनि गर्थे। तर, आरओएनबीको लोकप्रियता यसरी चुलियो कि उनले ती काम चटक्कै छाडे। पेजलाई नै समय दिन थाले।
पेजमा आएका प्रतिक्रियाले पोस्टको विश्वसनीयता कायम राख्न पनि पौडेललाई सचेत गराउँदै लग्यो। सूचना ‘भेरिफाइ’ गर्दै पोस्ट गर्न थाले। “केही कुरा छिटो हालेर भाइरल त होला, तर मानिसले पत्याउँदैनन् भन्नेमा म शुरूदेखि नै सचेत थिएँ,” पौडेल भन्छन्।
युवाकेन्द्रित सूचना
पौडेलका अनुसार आरओएनबीले भइसकेको घटनाबारे मात्र पोस्ट हाल्छ। नकारात्मक तथा मानहानि गर्ने समाचार प्रकाशित नगर्ने त पेजको नीति नै छ। त्यस्तै, अनुसन्धानमूलक र खोज पत्रकारिता पनि नगर्ने भएकाले गल्ती हुने सम्भावना न्यून छ। “विवादमा पर्ने, कसैको मानहानि हुने र मूलधारको सञ्चारमाध्यमले जस्तो घटना नभई अनुमानको भरमा या स्रोतको आधारमा भनेर समाचार हाल्दैनौं, त्यसैले गलत सूचना जाने जोखिम कम छ,” उनी भन्छन्।
यद्यपि, आरओएनबीलाई मूलधारका सञ्चारमाध्यममा प्रकाशित समाचार ‘कपी पेस्ट’ गर्ने गरेको आरोप पनि छ। तर, पौडेल सो आरोप मान्न तयार छैनन्। उनी आरओएनबी मूलधारको सञ्चारमाध्यमभन्दा फरक रहेको र समाचारभन्दा युवाकेन्द्रित सामग्री प्राथमिकतामा रहेको बताउँछन्। समाचार मात्र हालेर यति लोकप्रिय हुन असम्भव भएको उनको बुझाइ छ।
आरओएनबीमा अहिले १० जना कर्मचारीले सूचना सङ्कलन गर्छन्। केही स्वयंसेवी पनि छन्। फेसबूकमा पोस्ट गर्न छुट्टै टीम नै छ। सबै गरेर २० जना कर्मचारी छन्।
अहिले आरओएनबीको पेजमा फलोअर्सको संख्या ३९ लाख ३६ हजारभन्दा बढी छ। अधिकांश पोस्टमा २० हजारभन्दा बढी ‘लाइक्स’ सामान्यतया हुने गरेको छ। “भ्रामक समाचारले एकछिन भ्यूज त आउला, तर पेजमा फलोअर्स बढाउन भ्रामक सूचना होइन नयाँ प्रविधि, किवर्ड, अल्गोरिदम जस्ता विषयहरूमा ख्याल राख्नुपर्छ,” पौडेल ‘फेक आरओएनबी’ बारे भन्छन्।

विज्ञापनरहित बनाउने योजना
विज्ञापनका लागि सयौं अनलाइन सञ्चारमाध्यम छन्, टेलिभिजन र पत्रपत्रिका छन्। विज्ञापनदाताले आफ्नै फेसबूक पेज बनाएर डलर तिरेर ‘बुस्ट’ गरे हजारौं/लाखौं लाइक जुटाउन सक्छन्। तर, पनि ठूला ठूला कम्पनी अहिले एउटा पोस्टका लागि आरओएनबीलाई हजारौं रकम तिर्न तयार छन्।
पौडेल सबै विज्ञापन स्वीकार गर्दैनन्। उनका अनुसार आएका प्रस्तावमध्ये ७० प्रतिशत विज्ञापन मात्र पोस्ट हुन्छन्। जसमा उनी ‘प्रोमोशनल कन्टेन्ट’ भनेर पनि लेख्छन्। आएका सबै विज्ञापन हाल्दा ‘अर्गानिक भिजिटर’ गुम्ने र सूचनाको लागि पेज फलो गरेका फलोअर्सलाई अन्याय हुने कुरामा उनी सचेत छन्।

विज्ञापनलाई लिएर आरओएनबीको छुट्टै आचारसंहिता पनि छ। यो पेजले रक्सी तथा चुरोटको विज्ञापन गर्दैन। कमाइको पाटोमा भने पौडेल त्यति खुल्दैनन्। कार्यालय सञ्चालन खर्च र कर्मचारीको पारिश्रमिक जुटाउने बाहेक पेजबाटै कमाउने सोच नरहेको उनी बताउँछन्।
पेजले सफलता चुमेसँगै पौडेल यसलाई गैरनाफामूलक ‘सिटिजन जर्नालिज्म’ का रूपमा अगाडि बढाउने सोचमा छन्। त्यसको लागि आरओएनबीपोस्ट नामक डोमेन सञ्चारमाध्यमका रूपमा सूचना विभागमा दर्ता समेत गराइसकेका छन्। पेजको सक्रियता गुम्ने र मार्ग परिवर्तन हुने भएकाले पेजमा भने यसका सामग्री शेयर गरेका छैनन्।
आरओएनबीपोस्ट विरुद्ध प्रेस काउन्सिलले हालसम्म आचारसंहिता उल्लंघन गरेको भनेर कुनै पत्र पनि काटेको छैन। तर, आरओएनबीले पनि वेलाबखत गलत र भ्रामक सूचना दिन्छ। कहिलेकाहीं भुलसुधार नगरी मेटाउँछ। कहिलेकाहीं सम्पादन गरेर ‘अपडेट’ गर्छ। “हामीले सामान्यतया भुलसुधार गर्ने अभ्यास गरेका छौं, तर कहिलेकाहीं टीमका सदस्यहरूले थाहा नपाई पोस्ट गर्दा अप्ठ्यारो पनि परेको छ,” उनी भन्छन्।
अहिले पौडेलले विभिन्न कम्पनी तथा ब्रान्डको डिजिटल मिडिया परामर्श तथा व्यवस्थापन गरिरहेका छन्। ई-कर्मकान्डका रूपमा छुट्टै ‘स्टार्टअप’ कम्पनी समेत शुरू गरिसकेका छन्। ‘ई-स्पोर्टस्’ पनि शुरू गरेका छन्। यी स्टार्टअपबाट कमाउने अनि आरओएनबीलाई विज्ञापनरहित बनाउने योजना रहेको उनी बताउँछन्। “पेजलाई लिएर ठूलो महत्त्वाकांक्षा राखेको छैन। पेज चलाएर मलाई कतै पुग्नु पनि छैन,” पौडेल भन्छन्, “यो पेज सधैंभरि डिजिटल नोटिस बोर्डका रूपमा नै रहन्छ।”

२०८० बैशाख २२, शुक्रबार प्रकाशित 1 Minute 421 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार