२०८१ माघ १ मंगलवार

क्यानाडामा कृषि-खाद्य क्षेत्रका लागि कामदार लिने कार्यक्रम विस्तार गरिँदै

क्यानाडामा कृषि-खाद्य क्षेत्रका लागि कामदार लिने कार्यक्रम विस्तार गरिँदै ।

 

अन्टारियो। इमिग्रेसन, रिफ्युजीज एण्ड सिटिजनसिप क्यानाडा (आइआरसीसी) ले कृषि–खाद्य अध्यागमन पाइलट प्रोग्राम विस्तार गर्ने भएको छ।

अध्यागमन मन्त्री सिन फ्रेजरले यो कार्यक्रम २०२५ मे १४ सम्म सञ्चालन हुने घोषणा गरेका छन्।

कृषि र खाद्य उद्योगहरुमा अनुभवी कामदारहरुलाई क्यानाडामा स्थायी बसोबासका लागि सहजीकरण गर्न यो कार्यक्रम प्राथमिकतामा पारिएको छ।

यी क्षेत्रमा योग्य उम्मेदवारहरुलाई आवेदन दिने अवसर प्रदान गर्ने उल्लेख गर्दै मन्त्रीले ‘वार्षिक पेशागत क्याप’ हटाउने घोषणा पनि गरेका छन्।

आइआरसीसीले वर्षको अन्त्यसम्ममा यो कार्यक्रममा केही परिवर्तन पनि गर्ने भएको छ।

उम्मेदवारको सीपको स्तरलाई ध्यान नदिइ पाइलट कार्यक्रमका लागि सहभागीहरुको परिवारका सदस्यहरुलाई खुला कार्य अनुमति (वर्क पर्मिट) मा पहुँच बढाइने भएको छ।

क्यानाडामा बसोबास गर्ने आवेदकहरुलाई जागिर प्रस्तावसम्बन्धी आवश्यकताहरु पूरा गर्ने विकल्प दिइने जनाइएको छ।

कमजोर कामदारहरुका लागि खुला कार्य अनुमति अन्तर्गत प्राप्त कार्य अनुभव स्वीकार गर्न सुरु गरिने बताइएको छ।

आइआरसीसीले कामदारहरुलाई योग्य हुने अवसर समेत प्रदान गर्ने जनाएको छ।

मासु प्रशोधन, च्याउ र ग्रीनहाउस उत्पादन, पशुपालन उद्योगहरुमा श्रमिक अभावलाई कम गर्ने उद्देश्यले ‘एग्री–फूड इमिग्रेसन पाइलट २०२०’ कार्यक्रम सुरु गरिएको थियो।

क्यानाडामा २ लाख ४३ हजारभन्दा बढी मानिसहरु कृषि, शिकार, माछा मार्ने र वन क्षेत्रमा कार्यरत रहेको तथ्यांक छ।

ती क्षेत्रमा अझै पनि १४ हजारभन्दा बढी जागिरहरु रिक्त अवस्थामा रहेको जनाइएको छ।

कार्यक्रमका लागि योग्य हुन निश्चित मापदण्ड बनाइएको छ।

अस्थायी विदेशी कामदार कार्यक्रममा १२ महिनाको पूर्ण समय, गैर मौसमी क्यानाडेली कार्य अनुभव भएको हुनुपर्ने छ।

अंग्रेजी वा फ्रेन्च भाषामा क्यानेडीयन भाषा बेन्चमार्क स्तर ४ हुनुपर्ने छ।

उच्च विद्यालय स्तरको शिक्षा वा सोभन्दा माथिको विदेशी समकक्ष अध्ययन हुनुपर्नेछ।

क्यानाडामा, क्युबेक प्रान्त बाहिर प्रचलित ज्याला वा माथिकाृ पूर्ण समय, गैर मौसमी कामका लागि अनिश्चित कामको प्रस्ताव प्राप्त गरेको हुनुपर्नेछ।

कस्तो हो यो कार्यक्रम?

‘एग्री–फूड इमिग्रेसन पाइलट’ क्यानाडाको एउटा विशेष अध्यागमन कार्यक्रम हो, जुन कृषि–खाद्य क्षेत्रमा दक्ष कामदारहरुलाई आकर्षित गर्न र त्यस क्षेत्रमा काम प्रदान गर्न सञ्चालन गरिएको छ।

देशको कृषि र खाद्य उद्योगलाई प्रवर्द्धन गर्ने क्यानाडा सरकारको पहलमा २०२० मा यो कार्यक्रम सञ्चालन गरिएको हो।

यो कार्यक्रमअन्तर्गत ती क्षेत्रका लागि योग्य आवेदकहरुलाई तीन वर्षको अस्थायी कार्य अनुमति दिइन्छ। उनीहरुलाई क्यानाडाको स्थायी बसोबासका लागि आवेदन दिन पनि अनुमति दिइन्छ।

आवेदनका लागि योग्य हुन सम्बन्धित उद्योगहरुमा रोजगारदाताबाट पूर्ण समय, गैर मौसमी रोजगारको प्रस्ताव प्राप्त गरेको हुनुपर्छ।

मासु उत्पादन, नर्सरी, ग्रीन हाउस, फ्लोरिकल्चर, च्याउ उत्पादन, पशु उत्पादन माछा उत्पादनको क्षेत्रमा रोजगार प्रस्ताव प्राप्त गरेको हुनुपर्ने जनाइएको छ ।

यसैगरी आवेदकहरुमा भाषामा दक्षता, शिक्षा, कामको अनुभव, ‘सेटलमेन्ट कोष’ जस्ता योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने भनिएको छ।

२०८० बैशाख २९, शुक्रबार प्रकाशित 1 Minute 291 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।