
**नेपालका युवा ज्योतिष पण्डित प्रकाश गैरे अष्ट्रेलियामा लोकप्रिय**
अष्ट्रेलिया हाल नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्यको रूपमा चिनिएको छ। नेपालमा विद्यालय शिक्षा सम्पन्न गरेपछि अष्ट्रेलिया जाने विद्यार्थहरूको संख्या दिनप्रतिदिन बढ्दो छ, र यससँगै अष्ट्रेलियामा नेपाली समुदायको संख्या पनि लगातार वृद्धि हुँदै गएको छ।
अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई जोगाउनका लागि पण्डितहरूको आवश्यकता खासै महत्त्वपूर्ण बनेको छ। यसै क्रममा, युवा ज्योतिष पण्डित प्रकाश गैरेले अष्ट्रेलियामा आफ्नो प्रतिष्ठा स्थापित गरेका छन्। अष्ट्रेलियामा सबैभन्दा कान्छो ज्योतिष पण्डितका रूपमा परिचित प्रकाश गैरे आफ्नो उज्जवल व्यक्तित्व, मिजासिलो स्वभाव र परिपक्व दृष्टिकोणका कारण नेपाली समुदायमा निकै प्रिय मानिन्छन्।
नेपालको बागलुङ जिल्लाको पहाडघरमा जन्मिएका प्रकाश गैरे अहिले चितवनमा स्थायी रूपमा बसोबास गर्दै छन्। चार वर्ष अघि अष्ट्रेलिया गएका उनी आज एक प्रतिष्ठित युवा ज्योतिष पण्डितका रूपमा चिनिन्छन्। उनले आफ्नो ज्योतिष अध्ययन भारतको वृन्दावन र नेपालको देवघाट स्थित गुरुकुलमा गरेका थिए र अष्ट्रेलियामा कानुन विषयमा स्नातक शिक्षा पनि हासिल गरेका छन्।
प्रकाश गैरे नेपाली र भारतीय समाजमा दुवैमा सक्रिय छन्। विशेष गरेर नेपाली समाजमा, उनी एक प्रसिद्ध र सम्मानित पण्डितका रूपमा पहिचान प्राप्त गरेका छन्। २०१८ मा आयोजित दक्षिण एसियाली ज्योतिष सम्मेलनमा उनलाई ‘माता बिन्ध्यबासिनी सम्मान’ र ‘सर्वोत्कृष्ट युवा ज्योतिष सम्मान’बाट सम्मानित गरिएको थियो। यसका अतिरिक्त, उनले विभिन्न नेपाली संघसंस्थाबाट पनि सम्मान प्राप्त गरेका छन्।
समाजिक कार्यमा पनि सक्रिय रहेका प्रकाश गैरेले २०२२ को अक्टोबर र नोभेम्बर महिनामा अष्ट्रेलिया भ्रमण गरे, जहाँ उनले वैदिक गोष्ठी, विवाह, ब्रतबन्ध र घर पूजा जस्ता धार्मिक कार्यहरू सम्पन्न गरे। उनी अष्ट्रेलियामा जन्मेका र हुर्केका नयाँ पुस्ताका नेपाली युवाहरूसँग आफ्नो धर्म र संस्कारको महत्वबारे औपचारिक ज्ञान दिने उद्देश्यले विभिन्न कलेजहरूमा गएर आफ्नो दृष्टिकोण व्यक्त गर्छन्।
प्रकाश गैरेका अनुसार, केवल कर्मकाण्डमा मात्र सीमित नगरी हिन्दू धर्मको संरक्षण र प्रचारका लागि गहिरो अध्ययन आवश्यक छ। उनले भने, “मेरो प्रेरणा मेरो पिताजी, ज्योतिष भीम प्रसाद गैरेबाट आएको हो। उहाँको प्रभावले मलाई सानो उमेरदेखि नै यो क्षेत्रमा रुचि पैदा गरायो र अहिले यस क्षेत्रमा सफलता प्राप्त भएको छ। नयाँ पुस्तामा धर्म र वैदिक ज्ञानको समिश्रण गरेर यसको संरक्षण र प्रचारमा मेरो विशेष चासो छ।”
प्रकाश गैरेका योगदान र कार्यले अष्ट्रेलिया र अन्य स्थानहरूमा नेपाली समुदायका बीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाएको छ।