२०८२ जेष्ठ ७ बुधबार

‘सुमधुर साँझ’ : आनन्द कार्कीको प्रस्तुति, जेनीसा गौतम सम्मानित

सिड्नी, अष्ट्रेलिया –वरिष्ठ गायक आनन्द कार्कीको विशेष प्रस्तुति समेटिएको सांगीतिक कार्यक्रम ‘सुमधुर साँझ’ अष्ट्रेलियाको सिड्नीस्थित ग्रान्भिलको ‘रातो घर’मा भव्य रूपमा सम्पन्न भएको छ। ग्रान्भिल नेपाली कम्युनिटीको आयोजनामा, युकेवी ग्रुप्सको व्यवस्थापन तथा समाजसेवी रञ्जु वाङ्ग्ले थापाको अगुवाइमा सम्पन्न कार्यक्रम सांगीतिक, सांस्कृतिक र सामाजिक विविधता समेटिएको महत्वपूर्ण कार्यक्रमका रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा गायक कार्कीले ‘बादल बर्षा बिजुली’, ‘जनम जनम जिउला संगै’, ‘दुश्मन हेरेको हेरै’, ‘रेलिमा रेलिमाई’ लगायतका कालजयी र आधुनिक गीत प्रस्तुत गर्दा दर्शकहरू भावनात्मक रूपमा तानिएर मन्त्रमुग्ध भएका थिए। विशेषगरी ‘रेलिमा रेलिमाई’ जस्ता गीतहरूले दर्शकलाई नाच्न र रमाउन बाध्य बनाएको थियो।

कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो। कलाकार जेनीसा गौतम, एनएसडब्लु तायक्वान्दो निर्देशक प्रकाश क्षेत्री, प्रशिक्षक प्रवीण थापा सहित चार जना खेलाडीहरूलाई डा. घनश्याम चापागाईंले प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको थियो।

कार्यक्रमको अन्त्यमा गायक आनन्द कार्कीलाई समाजसेवी रञ्जु वाङ्ग्ले थापाले नेपाली सांगीतिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानप्रति सम्मानस्वरूप मायाको चिनो प्रदान गरिन्।

उक्त कार्यक्रममा एनआरएन महिला मञ्चकी अध्यक्ष सङ्गिता चापागाई, नेपालिज हिन्दु सोसाइटीकी अध्यक्ष लक्ष्मी बस्ताकोटि, युकेवी अध्यक्ष रञ्जित शाह, अष्ट्रेलियन नेपाली पत्रकार संघ (ANJA) का अध्यक्ष कृष्ण तिवारी, ग्रान्भिल नेपाली कम्युनिटीका अध्यक्ष भिम बस्नेत तथा पूर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा वरिष्ठ पत्रकार हेमन्त काफ्लेले नेपाली समुदायमा एकता, आपसी सम्बन्ध र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने यस्ता कार्यक्रमहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबैको सक्रिय सहभागिताप्रति आभार प्रकट गरे।

यस प्रकार ‘सुमधुर साँझ’ले सिड्नीमा बसोबास गर्ने नेपाली समुदायबीच सांगीतिक रसास्वादनसँगै आत्मीयता र एकताको सन्देश फैलाउन सफल भएको छ।

२०८२ बैशाख ४, बिहीबार प्रकाशित 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार