२०८० चैत्र १६ शुक्रबार

काठमाडौं एक : प्रकाशमानका घेराबन्दी अनेक

यहाँ चर्चा गर्न खोजिएको काठमाडौं क्षेत्र नम्बर १ बाट संसदीय चुनाव लड्ने तयारी गरिरहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको हो। तर, चर्चा सुरु गरौँ– प्रकाशमानका पिता स्व. गणेशमान सिंहको प्रसंगबाट।

नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहले ०५१ भदौ ३१ गते पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग द्वन्द्व चर्किएपछि सिंहले त्यस्तो अप्रिय निर्णय लिएका थिए।

कांग्रेसमा आन्तरिक द्वन्द्व चर्किनुको मुख्य कारण थियो– ०४८ सालको आम निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारका कामकारबाही।

प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो आम निर्वाचनमा २०५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ११० स्थानमा जित निकालेको थियो। पार्टीले बहुमत प्राप्त गरेपछि तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए।

सरकारका कामकारबाहीलाई लिएर सर्वोच्च नेता गणेशमान सिंह र प्रधानमन्त्री कोइरालाबीच असमझदारी बढेको थियो। त्यही असमझदारी नै पछि गएर सिंहको पार्टी परित्यागको कारण बन्यो।

सिंहले मौखिक तथा लिखित रुपमा तत्कालीन सरकारलाई सुझाव दिन्थे, आलोचना पनि गर्थे। तर, प्रधानमन्त्री कोइरालालाई सिंहको सुझाव र आलोचनाले कुनै फरक पर्दैनथ्यो। उनी आफ्नै ढंगले अघि बढ्थे। आफूलाई सर्वमान्य नेता भनिए पनि पार्टीमा आफ्ना कुरा नसुनिएपछि सिंह असन्तुष्ट बनेका थिए।

०५१ भदौ २८ गते प्रकाशित अखबार उद्धृत गर्दै डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस (भाग–९)’ मा लेखेअनुसार कोइरालाले प्रतिनिधिसभा विघटन गरेपछि सिंहले यसो भनेका थिए–

‘…म किन पार्टीमा बस्ने? पार्टीमा मेरो कुनै महत्व छैन। कुनै दरकार छैन। अपमान, अपमान, त्यसपछि फेरि अपमान। भनेको एउटै कुरो हुँदैन। सहमति भएको कुरा पनि पालना हुँदैन। मानिस नेपाली कांग्रेसको सरकार छ भन्छन्। मलाई सर्वोच्च नेता भन्छन्। जवाफ मैले दिनुपर्ने, अपजस मैले भोग्नुपर्ने, तर कामचाहिँ मनपरी हुने। म किन बसूँ पार्टीमा?’

अब गणेशमानका छोरा प्रकाशमान सिंहको चर्चा गरौँ –

‘ह्याट्रिक’को कथा
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६४ सालमा पहिलो संविधान सभा निर्वाचनको तयारी चलिरहेको थियो। नेपाली कांग्रेसका नेताहरु आफूले लड्दै आएको निर्वाचन क्षेत्रका मतदाता आ–आफ्नो पक्षमा पार्न प्रयासरत थिए।

राजधानी काठमाडौँको मुटुमा रहेको निर्वाचन क्षेत्र नम्बर १ मा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला लड्ने गाइँगुइँ चल्यो।

२०४८ पछिको उपनिर्वाचनमा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई हराउँदा अन्तरघात गर्ने कांग्रेसका मतदाताको बाहुल्य रहेका कारण पनि यो क्षेत्र गिरिजाप्रसाद कोइरालाका लागि छुट्टयाइएको पार्टीकै नेता–कार्यकर्ताहरु बताउँथे।

०४८ र ०५१ का दुईवटा संसदीय निर्वाचनमा पराजय बेहोरिसकेका नेता प्रकाशमान सिंह पनि ०६४ को संविधानसभा चुनावमा सुरक्षित स्थानको खोजीमा थिए। तर, क्षेत्र नम्बर १ बाट तत्कालीन प्रधानमन्त्री कोइराला उठ्ने हल्ला सुनेर उनी निर्णयमा पुग्नसकेका थिएनन्।

एक दिन सिंह समय मागेर कोइरालालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगे। उनले काठमाडौँ–१ मा आफूले निर्वाचन लड्न चाहेको कुरा प्रधानमन्त्री समक्ष राखे। कोइरालाबाट सकारात्मक संकेत पाएपछि उनी बालुवाटारबाट फर्किए। र, निर्वाचनको तयारीमा जुटे। पार्टीले प्रकाशमानलाई काठमाडौँ–१ को उम्मेदवार बनायो।

टिकट लिएर काठमाडौँ–१ मा गए पनि उनलाई तत्कालीन संस्थापन पक्षीय नेता–कार्यकर्ताहरुले सजिलै स्वीकारेनन्। कांग्रेसकै नेता–कार्यकर्ताहरुले भने– ‘प्रकाशमान हारमा ‘ह्याट्रिक’ गर्न यहाँ आए।’

कारण थियो– २०४८ र २०५१ मा उनले निर्वाचनमा बेहोरेको पराजय। प्रकाशमानले २०४८ मा नेकपा एमालेका साहना प्रधान र २०५१ मा मनमोहन अधिकारीसँग पराजय भोगिसकेका थिए।

उनले २०४८ मा काठमाडौँ–४ बाट प्रधानसँग र २०५१ मा अधिकारीसँग काठमाडौँ–३ बाट प्रतिस्पर्धा गरेका थिए। २०४८ मा प्रकाशमानले १९ हजार ५०४ मत पाउँदा विजयी साहना प्रधानको पक्षमा २८ हजार ६८० मत खसेको थियो।

यस्तै, २०५१ मा अधिकारी १५ हजार ६९२ मतका साथ विजयी हुँदा उनले ११ हजार ३७८ मत प्राप्त गरेका थिए। २०५१ मा अधिकारी काठमाडौँ–१ बाट पनि देशभर नै सर्वाधिक मत ल्याएर विजयी भएका थिए।

पार्टीभित्रैका नेता–कार्यकर्ताले हारमा ‘ह्याट्रिक’ गर्न आएको भनिएका प्रकाशमानले अहिले काठमाडौँ–१ बाट जितमा ‘ह्याट्रिक’ गरिसकेका छन्। उनी ०६४ र ०७० को संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा लगातार तीनपटक काठमाडौं १ बाट विजयी भइसकेका छन्।

तर, आउँदो निर्वाचनमा प्रकाशमानलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाविरोधी कांग्रेसकै कार्यकर्ताबाट ‘खतरा’ बढेको छ। १४ औँ महाधिवेशनमा देउवालाई सघाएपछि इतर समूह उनीसँग असन्तुष्ट छ।

निरन्तर घेराबन्दी, तर वर्चस्व
प्रकाशमानलाई काठमाडौँ १ मा ०६४ देखि नै पार्टीभित्रबाट आन्तरिक असहयोग हुँदै आएको हो। जसको नेतृत्व गरेका थिए नेता हरिबोल भट्टराईले। २०५६ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका भट्टराईले मात्र २६ मत पाएका थिए। त्यसअघि उनी २०५१ मा पनि यो क्षेत्रमा निर्वाचन लडेका थिए। २०५१ मा उनले एमालेका मनमोहन अधिकारीसँग प्रतिस्पर्धा गरेका थिए। अधिकारी २५ हजार ६२७ मत ल्याएर विजयी हुँदा भट्टराईले कांग्रेसबाट १३ हजार ६४८ मत पाएका थिए।

पछिल्लो ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि प्रकाशमानसँग प्रतिस्पर्धामा उत्रिएका भट्टराईले १९६ मत पाए।

पार्टीकै केही नेता–कार्यकर्ताको असहयोग रहँदारहँदै पनि प्रकाशमान काठमाडौँ–१ मा कम्युनिस्टको लालकिल्ला तोड्न सफल भए। कम्युनिस्टसँग लगातार हार्दै आएको कांग्रेस ०६४ मा भारी मतका साथ विजयी भएको थियो।

उक्त निर्वाचनमा साविक विजेता प्रदीप नेपालले ६ हजार ७८९ मत पाउँदा प्रकाशमानले १४ हजार ३१८ मत ल्याएका थिए। भर्खर खुला राजनीतिमा आएको माओवादीका राममान श्रेष्ठले ४ हजार ८३६ मत र राप्रपा नेपालले १ हजार ४२ मत पाएका थिए।

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ–१ मा गणेशमान सिंहका छोरा र प्रचण्डकी छोरीबीच चुनावी प्रतिस्पर्धा भयो। प्रकाशमानले रेनु दाहाललाई हराउँदै दोस्रोचोटि बाजी मारे। प्रकाशमानले १५ हजार १३८ मत पाउँदा रेनुले ४ हजार ६४ मत पाएकी थिइन्। १० वर्षअघिसम्म बर्चस्व कायम गरेको एमाले दोस्रो स्थानमा समेत आउन सकेन।

पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा प्रकाशमानले काठमाडौँ–१ बाट तेस्रोपटक चुनाव जिते। तर, उनलाई विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले आच्छुआच्छु पारिदिए।

प्रकाशमानले १० हजार ९३६ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए। दुई उम्मेदवारबीचको मतान्तर ८१८ मात्र थियो। माओवादीबाट अनिल शर्माले टिकट पाएका थिए। उनी ५ हजार ३३६ मत ल्याएर तेस्रो भए। एमालेले माओवादीसँग गठबन्धन गरेर शर्मालाई सघाएको थियो।

काठमाडौँ–१ मा एमाले कमजोर देखिएको छ। २०७० सालमा रेनु दाहाल उठेका बेला कमजोर उम्मेदवार उठाएर भित्रीरुपमा प्रकाशमानलाई सघाउन खोज्दा यो क्षेत्रमा एमालेको मतदाता घट्न थालेका हुन्। २०७४ को चुनावमा पनि एमालेले मिश्रलाई हराउन जोड गरेको विवेकशील साझाका नेताहरुको गुनासो छ। यसरी अरुलाई हराउने बहानामा एमाले स्वयंले कांग्रेसलाई बलियो पारेको आरोप एमालेकै नेताहरु स्वीकार्छन्।

स्वतन्त्रको नजर
एमाले कमजोर रहेको र माओवादीको पनि मत घटेको अवस्थामा आगामी चुनावमा धेरै स्वतन्त्र उम्मेदवारको नजर यो क्षेत्रमा परेको छ। स्थानीय चुनावमा सिर्जना सिंह र केशव स्थापितलाई हराएका मतदाता अब प्रकाशमानविरुद्ध डोलायमान हुने सम्भावना पनि छ।

तर, आगामी चुनावमा काठमाडौँ–१ मा सत्तापक्षीय गठबन्धन कायमै रह्यो भने कांग्रेसको १० हजार र माओवादीको ५ हजार मत एकै ठाउँमा पर्न सक्छ। रवीन्द्र मिश्रको लोकप्रियता पहिलेजस्तो नरहेकाले उनले विगतको जस्तो सिंहलाई चुनौती दिइहाल्ने स्थिति देखिँदैन।

प्रकाशमानलाई यो क्षेत्रमा कम्युनिस्टले भने चुनौती दिन सक्ने सम्भावना न्यून छ। तर, यस क्षेत्रको विगतको इतिहास हेर्दा विद्रोही उम्मेदवारले धक्का नदेलान् भन्न सकिँदैन।

महानगरका चारवटा वडा मात्र रहेको यो निर्वाचन क्षेत्रमा मेयर बालेन्द्र शाह पक्षको समेत समर्थन रहने गरी ‘इनफ इज इनफ’ का अभियन्ता पुकार बमले उम्मेदवारी घोषणा गरिसकेका छन्। पूर्व डीआइजी रमेश खरेल पनि यहीँबाट लड्ने चर्चा छ। साझा विवेकशीलका नेता रवीन्द्र मिश्र पनि यहीँबाट चुनाव लड्ने तयारीमा छन्। एमालेले बलियो उम्मेदवार उठाउने सम्भावना अहिलेसम्म देखिइसकेको छैन।

प्रकाशमानले यसअघि ह्याट्रिक गरे पनि यो क्षेत्रमा ‘कांग्रेस भर्सेस स्वतन्त्र’ प्रतिस्पर्धा तीव्र हुने सम्भावना छ। पार्टीभित्रैको घेराबन्दीमा परेका प्रकाशमानलाई यसपटक घेरा तोड्नु निकै नै चुनौतीपूर्ण हुने देखिन्छ।

सिंह परिवारको गुनासो
०४८ सालको आम निर्वाचनपछि गठित सरकारका कामकारबाहीको आलोचना गर्दा अपमान महसुस गरेका गणेशमान सिंहका पुत्र प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न सघाए। तर, अहिले प्रकाशमानले आफू पार्टीभित्रैबाट ‘अपमानित’ भएको महसुस गर्न थालेका छन्। गणेशमानको परिवार नेपाली काँग्रेसमा विगतदेखि नै अपमानित भइरहेको उनको गुनासो छ।

सुविधाको कुरो गर्ने हो भने प्रकाशमानले तीनचोटि सांसद जिते। एकपटक राष्ट्रियसभाको सांसद बने। पटक–पटक मन्त्री पनि बने। पार्टीको महामन्त्री पनि बने। तर, आफू र आफ्नो परिवारलाई पार्टीभित्रैबाट निरन्तर खेद्ने काम भएको उनको गुनासो छ।

स्थानीय चुनावमा पत्नी सिर्जना सिंहलाई काठमाडौंको मेयरमा उठाएपछि प्रकाशमानलाई संस्थापन इतर समूहका नेता–कार्यकर्ताहरुले सामाजिक सञ्जालमा ‘आक्रमण’ गर्र्न थालेका छन्। प्रकाशमानले श्रीमतीलाई मेयरमा उठाउनका लागि ‘बार्गेनिङ’ गरेर महाधिवेशनमा देउवालाई सघाएको आरोपसमेत कांग्रेसभित्रैबाट लागेको छ।

सिंह आफू निकटस्थहरुसँग भन्छन्, ‘सिर्जना गोरखाबाट पार्टी राजनीतिक गरेर आएकी हुन्। उनलाई महिला संघले दबाव दिएर मेयरको उम्मेदवार बनाएको हो।’

काठमाडौँ–१ बाट लड्दा सधैं पार्टीकै नेताहरुबाट अन्तरघात व्यहोर्दै आएका नेता सिंह पछिल्लो समय, खास गरी १४ औं महाधिवेशन र स्थानीय चुनावपछि पार्टीभित्रबाट थप घेराबन्दीमा परेका छन्।

रामचन्द्र पौडेल समूह र कोइराला परिवारसँग सिंहको सम्बन्ध चिसिएको छ। पछिल्लो समय उनी सभापति देउवाको कार्यशैलीप्रति पनि सन्तुष्ट देखिँदैनन्। आफूसँग गरेको पूर्वप्रतिवद्धता अनुसार देउवाले पार्टीलाई विधिसम्मत ढंगबाट चलाउन नसकेको सिंहको गुनासो सुनिन्छ।

प्रकाशमानमाथि आन्तरिक घेराबन्दी त छँदैछ, स्वतन्त्र उम्मेदवारहरुले काठमाडौं १ मा उनीविरुद्ध थप घेराबन्दी कसिरहेका छन्। उनले यो घेरा कसरी तोड्लान् ? यसका लागि आगामी मंसिरसम्म कुर्नुपर्ने हुन्छ।

प्रकाशमान आफू निकटस्थहरुसँग गुनासो गर्दै भन्छन्, ‘हाम्रा एकथरी साथीहरुको सोचाइ के छ भने गणेशमानको परिवारले सधैं दुःखै खानुपर्छ, सुविधा त अरुले मात्र लिने हो, गणेशमानको परिवारले सुख पाउनुहुँदैन।’

२०७९ असार २०, सोमबार प्रकाशित 0 Minutes 688 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार