२०८१ फाल्गुन ६ मंगलवार

बागमती प्रदेशमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै ।

११ कात्तिक, हेटौंडा । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।

नेकपा एमाले विभाजन भएपछि १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।

कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले हिजो नै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनले आज दिउँसो सवा तीन बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेताहरुले मन्त्रालय सम्हाल्ने तयारी भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा लामाले जानकारी दिए ।

लामाका अनुसार कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने छन् । उनीहरुले कुन-कुन मन्त्रालय सम्हाल्ने भन्ने टुङ्गो लागेको छैन । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।

२०७८ कार्तिक ११, बिहीबार प्रकाशित 1 Minute 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।