२०८१ बैशाख ८ शनिबार

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण लेनदेन l

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर बैंकबाट १९ करोड ऋण लेनदेन गरेको भेटिएको छ । अमात्यको नाममा बारामा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैंकबाट १९ करोड ऋण लिएको फेला परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

नक्कली पुर्जा बनाएर ऋण लेनदेन गर्ने ५ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बताए । पक्राउ पर्नेमा बिचौलिया कुसन प्रधान, जग्गाको धनी बनेका एसके महर्जन, मुक्तिलाल गौतम, कुमारी बैंकका ऋण अधिकृत सोनु ठाकुर र मूल्याङ्कनकर्ता राजेश चौरसिया छन् । कुसन सहित ४ जनालाई ब्युरोले कात्तिक ११ मा र राजेश चौरसियालाई कात्तिक २१ मा पक्राउ गरेको हो ।

कुसन प्रधानसँग एसके र मुक्तिलाल गौतमले पैसा लिनुपर्ने थियो । सो पैसा माग्दा कुसनले बाराको जग्गाको लालपुर्जा दिएको उनीहरूले प्रहरीलाई बताएका छन् । जग्गा राखेर बैंकबाट पैसा निकालेको थाहा पाएपछि योगेश्वर अमात्य उनका साथीले खबर गरेका थिए । तर, त्यसअघि नै बैंकले नक्कली जग्गा भन्ने थाहा पाएर एसके महर्जन र मुक्तिलाल गौतमलाई बोलाएर उनीहरूको नाममा रहेको काठमाडौँको घरजग्गा धितो लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

‘अहिले अमात्यको जग्गा फुकुवा भैसकेको छ’ ब्युरोका डिआइजी धिरज प्रताप सिंहले भने । कुसन सहितको समूहले नक्कली पुर्जा बनाएर गत असारमा बैंकबाट ऋण स्वीकृत गराएका थिए । तर, सो कुरा साथीमार्फत योगेश्वरले भदौमा मात्र थाहा पाएका थिए । त्यसपछि उनले ब्युरोमा उजुर गरेका हुन् । ब्युरोले आरोपीहरूमाथि सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको छ ।

२०७८ कार्तिक २५, बिहीबार प्रकाशित 0 Minutes 252 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार