
पोखरा सडक महोत्सवमा ठुलो दुर्घटना स्याङजाका सुनिलको मृत्यु
। अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले लेकसाइड क्षेत्रमा आयोजना गर्दै आएको पोखरा सडक महोत्सवका क्रममा दुःखद घटना घट्यो । मूख्य सडकबाट भित्र पोखरा वडा नं. ६ कार्यालय र शान्तिपाटन मार्ग बीचमा मापसे गरी गाडी चलाउनेको लापरबाहीले पैदलयात्रुले अनाहकमा ज्यान गुमाउनुपरेको छ । आधा दर्जन सवारीमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए अनुसार ग २ च १११८ नम्बरको हाइलक्स गाडीले न्यू ईयर ईभ शुक्रबार राति साढे १ बजेको समयमा ६ वटा सवारीमा ठक्कर दिँदा २ जना घाइते भए । एक जना पैदलयात्रु र एक जना सवारी चालक घाइते भएकोमा पैदलयात्रु स्याङ्जा फेदीखोला घर भई पोखरा बस्दै आएका सुनिल गुरुङको उपचारकै क्रममा मृत्यु भएको छ । काहुँखोलाकी सरिना बराल घाइते छिन् ।
४० वर्षीय गुरुङलाई दुर्घटना लगत्तै सिर्जनाचोक स्थित मेट्रो अस्पताल लगिएकोमा उपचारकै क्रममा २ बजे मृत्यु भएको डिएसपी तिवारीले जनाए । मापसे गरी हाइलक्स चलाएका पोखरा लेखनाथका २९ वर्षीय सुवास बिकले पार्किङमा रहेका चार गाडीमा ठक्कर दिएका थिए ।
डिएसपी तिवारीले भने– ‘हाइलक्स चालकले ४ वटा रोकिराखेका गाडी र चलिरहेका २ वटा मोटरसाइकल/स्कुटरलाई पनि ठक्कर दिए । पैदलयात्रु गुरुङ पनि ठक्करबाट घाइते भए । पछि उपचारकै क्रममा ज्यान गयो ।’घटनामा संलग्न चालक बिक र गाडीलाई नियन्त्रणमा लिई कानुनानुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।