
नयाँ गुप्तचर प्रमुख नियुक्तिको तयारी
काठमाडौं । राष्ट्रिय अन्तर्राष्ट्रिय सूचना संकलन गर्ने र सरकारलाई सुझाव दिने निकाय राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचरी निकाय)को प्रमुख गणेश अधिकारीको अवकाशसँगै नयाँ प्रमुख नियुक्तिको तयारी गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नयाँ गुप्तचर प्रमुख नियुक्तिको तयारी गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको हो । तीन वर्षे कार्यकाल सकिएपछि अधिकारी अनिवार्य अवकाशमा जान लागेका हुन् ।
आन्तरिक तथा बाह्य गुप्तचरी निकायको प्रमुख बन्न अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रुपमा कार्यरत यदुलाल खरेल र यादवप्रसाद रेग्मीको दाबी छ । तर सरकारले खरेललाई अघि बढाउने तयारी गरेको छ । खरेलको समय थोरै भएकाले दुई वर्ष अधिकारीलाई नै निरन्तरता दिन खोजेको तर अधिकारीले अस्वीकार गरेपछि भने खरेलका लागि बाटो खुलेको हो । खरेल भएमा उनी सात महिना मात्रै सो पदमा बहाल रहनेछन् ।
एमालेको तर्फबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले २३ पुस २०७५ अधिकारीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेका थिए । त्यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा लगिएको थियो ।
हाल सो विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको छ । हालका प्रमुख अधिकारीको २३ पुसमा सकिदैछ । अधिकारी विभागको प्रमुखमा नियुक्त हुनुअघि तत्कालिन अवस्थामा बहाल रहेका दिलिप रेग्मीलाई बर्खास्त गरेर अधिकारीलाई नियुक्त गरेका थिए । हाल शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पूरा कार्यकाल राखेर अवकाशमा पठाउन लागेको हो । पुस २३ अघि नै सरकारले खरेल र रेग्मी मध्ये एक जनालाई नियुक्ति गर्नुपर्ने हुन्छ ।