२०८१ मंसिर १८ मंगलवार

बाँके : बाघ नियन्त्रणमा नआउँदा राप्ती सोनारीका नागरिक त्रसित।।

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय बासिन्दा त्रसित भएका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । 
बाघले दुई दिनकाे अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमणकाे प्रयास गरेको जनाइएको छ । 
राप्तीसोनारी –६ फत्तेपुरका लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीमा रहेकाे बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिनुभयो । बाघको शृङ्खलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अहिले निकै त्रसित भएका छन् ।  

बाघको आक्रमणबाट शनिवार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीवार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको ज्यान गएकाे थियाे । बाघको आक्रमणबाट बाँकेमा तीन महिनायता चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी–१ गाभर र नरैनापुरमा एक/एक जनाको ज्यान गएकाे थियाे । बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले तीन दिनयतादेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतङ्क मच्चाइरहेको ठाउँ राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।  
राप्तीसोनारी–५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा नागरिकमा त्रास फैलिएको बताउनुभयो । धेरैजसाे नागरिक कृषि पेसामा आबद्ध रहेकाले वन, जङ्गलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ । 
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बाघलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर जनतालाई त्रासमुक्त गर्न आफूले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताउनुभयो ।

२०७८ पुष २६, सोमबार प्रकाशित 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।