२०८१ माघ १३ आईतवार

माघ १६ देखि २० गतेसम्म खोप लगाउन विद्यालय खुल्ने!!

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म खुल्ने भएका छन् । गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप लगाउनका लागि विद्यालय सञ्चालन हुने बताए ।

आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले खोप लगाउने प्रयोजनका लागि चार दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

उनले भने, ‘यही माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि खोल्ने निर्णय भएको छ । त्यो समयमा हामीले विद्यालयमा खोप अभियान चलाउने निर्णय गरेका छौँ । हामीले निर्णय गरेका छौँ सम्बन्धित मन्त्रालयले सूचना जारी गर्छन् र कार्यान्वयनमा जान्छ ।’

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । कोभिड संक्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । लक्षित बर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पु¥याउने विषयमा पनि छलफल भएको छ ।

त्यस्तै बैठकले हवाइजहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउन पर्ने व्यवस्था गर्न भनेको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्ने व्यवस्था मिलाउन भनिने भएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय परिचय पत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई भन्ने निर्णय गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पत्तालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भन्ने पनि बैठकले निर्णय गरेको छ ।

विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपालमा रहेका विदेशी नागरिकलाई पनि व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ ।

२०७८ माघ ४, मंगलवार प्रकाशित 0 Minutes 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।