
नेपालमा थप १२,३०० जनाभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नेपालमा कोभिड महमारी सुरु भएपछि दैनिक पुष्टि भएका सङ्क्रमितको यो नै सर्वाधिक सङ्ख्या हो।
विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
अहिलेको वृद्धिसँगै देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ५७,००० नाघेको छ।
विगत दुई सातादेखि नेपालमा कोभिड-१९ निरन्तर बढिरहेको छ।
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।
बिहीवार एउटा सूचना प्रकाशित गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी र प्राध्यापक पनि सङ्क्रमित भएकाले त्यस्तो निर्णय लिइएको जनाएको छ।