२०८१ बैशाख ६ बिहीबार

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु, प्रचार प्रसारमा रोक!!

आगामी माघ १२ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको छ ।

निर्वाचनको ७२ घण्टा अघिबाट मौन अवधि शुरु हुने व्यवस्था छ । जसअनुसार बुधवार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आइतवार मध्यरातबाट शुरु भएको हो ।
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नपाइने व्यवस्था छ । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका निर्वाचन चिन्ह, प्रचार सामग्री हटाउनु पर्नेछ । निर्वाचन आयोगका सहसचिव तथा सहप्रवक्ता कोमलप्रसाद धमलाले मौनावधि एउटा नैतिक बन्धन र कानूनी हतियार भएकोले आयोगले निर्वाचनको आचारसंहिता सार्वजनिक गरेको बताउनुभयो । सहसचिव धमलाले मौन अवधि शुरुभएपछि विभिन्न सामाजिक सञ्जालबाट प्रचारप्रसार एवं प्रकाशनका कामहरु गर्न बन्द भएको बताउनुभयो । उहाँले राष्ट्रियसभा निर्वाचनको लागि आवश्यक सम्पूर्ण तयारी सकिसकेको बताउनुभयो ।

सहसचिव धमलाले राष्ट्रियसभाको निर्वाचनमा आयोगले निर्देशित गरेका २१ बूँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढंगले सम्पन्न हुने बताउनुभयो । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ ।

निर्वाचनमा नौ दलका ४३ उम्मेदवार रहेका छन् । प्रदेश १ मा तीन, मधेस प्रदेश र बाग्मती प्रदेशमा समान २/२, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समान ३/३ पदका लागि निर्वाचन हुनेछ । सातै प्रदेशमा कूल २०२५ मतदाता रहेका छन् । आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

२०७८ माघ १०, सोमबार प्रकाशित 0 Minutes 208 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार