नक्कली PCR रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियाहरु पक्राउ”
घटना विवरण :-
भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि. बाट बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पिसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पिसीआर रिपोर्ट बनाईदिने गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७८।१०।१८ गते बिहान अ. १०.३० बजेको समयमा नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमार छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट जारी भएका ८ थान नक्कली पिसीआर परीक्षण रिपोर्ट सहित एयरपोर्ट अगाडिबाट पक्राउ गरि जिल्ला भक्तपुर मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटार स्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा पुग्दा उक्त हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई फेला पारी नियन्त्रणमा लिइएको तथा काठमाण्डौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पताल अगाडि फेला पारी उक्त अस्पतालको ल्याबमा पुग्दा सोही ल्याबका कर्मचारी माधव मैनालीलाई फेला पारी नियन्त्रणमा लिइएको, सम्बन्धित व्यक्तिहरुको स्वाब संकलन तथा परीक्षण नै नगरी कान्तिपुर अस्पताल प्रा.लि. बाट PCR TEST Negative भनि उल्लेख भएका ४ थान नक्कली पिसीआर परीक्षण रिपोर्ट सहित जम्मा ४ (चार) जना ब्यक्तिहरुलाई यस महाशाखा बाट खटि गएको प्रहरी टोलीले पक्राउ गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिहरु समेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट पिसीआर रिपोर्ट Generate गर्न प्रयोग भएका कम्प्यूटर लगायतका उपकरण र PCR TEST दर्ता रजिष्टरहरु समेत नियन्त्रणमा लिईएको, फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको । साथै दुबै अस्पतालका PCR Lab हरु सिल गरि पिसीआर सम्बन्धी सबै सेवा हाल लाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरुः
उल्लेखित अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षण बिनै नेगेटिभ पिसीआर रिपोर्ट दिने गरेको ।
उक्त ल्याबहरुमा कार्यरत भनिएका बिशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो Digital Signature प्रयोग गरि रिपोर्ट दिने गरेको ।
कतिपय पिसिआर पोजेटिभ देखिएका स्याम्पलहरुको CT Value तलमाथि गरि नेगेटिभ रिपोर्ट दिने गरेको तथा पिसिआर रिपोर्टको मिति समेत तलमाथि गरी रिपोर्ट दिने गरेको भन्ने खुल्न आएको ।
उल्लेखित अस्पतालहरुले केहि बिचौलियाहरुलाई अस्पतालको कर्मचारी भनि परिचयपत्र समेत बनाई दिई सामुहिक स्वाब संकलन गर्न प्रयोग गर्ने गरेको ।
सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाहरुले आफैले आफ्नै स्वाव संकलन गरि बिभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको ।
बिचौलिया र ल्याबका कर्मचारी एवं व्यबस्थापनको मिलेमतोमा बिदेश जाने व्यक्तिहरुलाई पिसीआर रिपोर्ट Negative बनाइदिने भनि प्रति व्यक्ति रु. १० हजार सम्म असुल गरेको भेटिएको ।
QR Code बाट Scan गरी हेर्ने मिल्ने गरी सक्कली जस्तै Report बनाउने गरेको पाईएको ।
पक्राउ परेका व्यक्तिहरु :-
१. जिल्ला धनुषा बिदेह नगरपालिका वडा नं.४ घर भई हाल जि.ललितपुर ग्वार्को बस्ने बर्ष २५ को रोसन कुमार छिट्टान ।
२. जिल्ला धनुषा छिरेश्वर न.पा.वडा नं.१ घर भई हाल का.जि.गौशाला बस्ने बर्ष २५ को नागेन्द्र यादव ।
३. जिल्ला काभ्रेपलान्चोक तेमाल गा.पा.५ घर भई हाल जि.भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.५ सल्लाघारी बस्ने बर्ष २९ को माधव मैनाली ।
४. जिल्ला सर्लाही बलरा न.पा.वडा नं.७ घर भई हाल जि.भक्तपुर कौशलटार बस्ने बर्ष २४ को नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा ।
फरार रहेका ब्यक्तिहरु :
१. जिल्ला रौतहट राजदेवी न.पा. ४ बसतपुर घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको PCR Lab सञ्चालक अ. बर्ष ४० को भावेश मिश्र ।
२. हाल जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल प्रा.लि. को PCR Lab सञ्चालक अ. बर्ष ४० को निर्मल गिरी ।
बरामद सामग्रीहरुः
१. पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको Computer Monitor थान १, Laptop थान १, CPU थान ३ ।
२. पिसिआर दर्ता रजिष्टरहरु, नक्कली पिसिआर रिपोर्टहरु, रसिद ।