२०८१ माघ १ मंगलवार

निर्वाचनको मिति घोषणासँगै आयोग तयारीमा जुट्यो,बजेटका लागि अर्थ मन्त्रालयलाई पत्रचार!!!

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणासँग आयोग आजैदेखि तयारीमा जुटेको छ ।सरकारले मिति घोषणा गर्न आलटाल गर्दा आयोग दोधारमा परेको थियो ।उसले गर्दै आएको मतदाता नामावली संकलन कार्य रोकेको छ । २०७४ को निर्वाचनमा अब हुने निर्वाचनमा २० लाख मतदाता थपिएका छन् ।

तमाम आशंका र चौतर्फी दबाबका बीच सरकारले सोमबार आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।निर्वाचन आयोगले सिफारिस गरेको मितिभन्दा पाँच दिन अगाडि निर्वाचनको मिति सार्न प्रधानमन्त्रीका ज्योतिषीको भूमिका रहेको चर्चा चलेको छ ।निर्वाचनको तयारी गर्न अब आयोगलाई ३ महिना १० बाँकी छ । उसले कम्तिमा पनि १२० दिन आवश्यक पर्ने भन्दै आएको थियो । ७५३ ओटै स्थानीय तहको निर्वाचन एकै चरणमा हुने छ ।

केही दिन ढिलै भए पनि आयोगले तय गरेको मिति आसपासमा नै सरकारले घोषणा गरेको हो । उक्त मितिमा निर्वाचन गर्नरगराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

अब, निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जूमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्ने भएकोछ ।अघिल्लो पटक करिब ८ अर्ब रुपियाँमा स्थानीय तहको चुनाव सम्पन्न गरेको निर्वाचन आयोगले यसपालि निर्वाचन गराउन करिब १२ अर्ब रुपियाँसम्म लाग्न सक्ने अनुमान गरेको छ।

निर्वाचन खर्चको अधिकांश हिस्सा निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधानमा खर्च हुने भएकाले अघिल्लो निर्वाचनको तुलनामा यस्तो खर्च ३० प्रतिशतले वृद्धि भएको आयोगको अनुमान छ ।यसअघि २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो।

आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका लागि गृहकार्यका अतिरिक्त निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तयारीका लागि प्रक्रिया अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन गृह मन्त्रीलाई निर्देशन दिएका थिए । यसैबीच स्थानीय तहको निर्वाचन मिति घोषणा भएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वागत गरेको छ ।दलहरू अब निर्वाचनमा हाेमिने भएका छन् ।

२०७८ माघ २५, मंगलवार प्रकाशित 0 Minutes 363 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।