२०८१ बैशाख ६ बिहीबार

अमेरिकी मन्त्रीको चासोलाई दबाब भन्न मिल्दैन : कांग्रेस!!

नेपाली कांग्रेसले एमसीसी सम्झौतामा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूको चासोलाई दबाब भन्न नमिल्ने तर्क गरेको छ ।

कार्यसम्‍पादन समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी चासोलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन आएको पुष्टि गर्दै महतले एमसीसीमा भएको ढिलाईबारे चासो राखेको जानकारी दिए । ‘उहाँहरुको चासो, तपाईहरुले नै प्रस्ताव गरेर निर्धारण गरेको क्षेत्रमा हामी सहयोग प्रक्रिया अगाडि बढाएका हौं र तपाईहरुले नै पास गर्ने प्रतिबद्धता जनाउनुभएको हो । के कारणले यो कुरामा अफ्ठेरो परेको छ भनेर उहाँहरुले प्रश्न गर्नु स्वभाविक हो । कुनै अनौठो कुरा होइन,’ उनले भने ।

प्रधानमन्त्री एवं सभापति देउवाले सबैलाई सहमतिमा ल्याउने प्रयास भइरहेको र चाँडै टुंगो लगाउने जवाफ दिएको उनले बताए । उनले अमेरिकी मन्त्रीले राखेको चासो र जिज्ञासालाई दबाब भन्न नमिल्ने बताए । एमसीसी सम्झौताको प्रक्रियामा सरकारमा सहभागी सबै दल सहभागी भएको भन्दै अहिले अन्योलमा राख्नु उपयुक्त नभएको पनि बताए ।

‘बाबुराम भट्टराईदेखि लिएर ओलीजी, (खिलराज)रेग्मीजी, प्रचण्डजी, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवासम्म सबैको सहभागिता छ । प्रचण्डजीले पठाएको हो, जुनबेला प्रधानमन्त्री देउवा र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुनुहुन्थ्यो । महराजी विदेशमन्त्री हुनुहुन्थ्यो । उहाँ(महरा)कै नेतृत्वमा समिति थियो । र मन्त्रिपरिषदले पास गरेको हो । ओलीजीले त आफै प्रक्रिया अगाडि बढाउनुभएको थियो । सरकारमा आएका कुनै पनि पार्टीहरुले यसलाई नकारेको छैन । प्रक्रियालाई अगाडि बढाएको छ,’ उनले भने ।

महतले थपे, ‘हामी सबै सहभागी हुने, निर्णय प्रक्रियाबाट अगाडि पनि बढाउने र फेरि अहिले अन्योलमा राख्दा किन यस्तो भएको हो भनेर प्रश्न आउने कुरालाई हामीले अस्वभाविक रुपमा लिनुहुँदैन । बरु हामीले किन अगाडि बढाउन सकेनौं? के कारण हो भनेर स्पष्ट दृष्टिकोण आउनुपर्छ । हामी यसमा स्पष्ट छौं । नेपाली कांग्रेसको सत्ता बाहिर एउटा सत्तामा हुँदा एउटा दृष्टिकोण हुँदैन । हामी सत्य यथार्थको पक्षमा उभिन्छौं । यही कुरा अन्य दललाई गर्न अनुरोध गर्दछौं ।’

२०७८ माघ २९, शनिबार प्रकाशित 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार