१३ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ ।
कतिपयले पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको आलोचना गर्न थालेका छन् । रुसभित्रै उनले चालेको कदमको चर्को विरोध हुन थालेको छ । बिहीबार राति सेन्ट पिटर्सबर्गको प्रमुख सडकमा पुटिनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन भएको छ । अन्य सहरमा समेत युक्रेनमा भएको हमलाको विरोध भएको थियो ।
विरोध प्रदर्शनमा अधिकांश युवायुवती सहभागी थिए । उनीहरूले ‘रुस युद्धको खिलाफ रहेको’ र ‘पुटिन हत्यारा भएको’ भन्दै नाराबाजी गरेका थिए ।
‘पुटिन हत्यारा हुन् ! पुटिनले रुसलाई लज्जित बनाएका छन्’, विरोध प्रदर्शनमा सहभागीले नाराबाजी गरेका थिए, ‘युक्रेन जिन्दावाद ! युक्रेन जिन्दावाद !’
‘यो युद्ध कति लम्बिने भन्ने कुरा चिठ्ठा जस्तै हो’ एक प्रदर्शनकारीले भने, ‘यी व्यक्ति (पुटिन) ले अब के गर्छन् भनेर कसैले अनुमान गर्न सक्दैन ।’
लामो समयदेखि युक्रेनसँगको तनावले युद्धको रुप लेला भनेर रुसीहरूले विश्वास गरेका थिएनन् । तर सैन्य कारबाही गर्ने पुटिनको घोषणापछि दोस्रो विश्व युद्धपछि कै ‘अँध्यारो अध्याय’ खोलेको भन्दै उनीविरुद्धको आक्रोश निकै बढेको छ ।