काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले व्यक्तिगत रूपमा आफू पार्टी अध्यक्ष केपी ओलीको पक्षमा रहेको भन्दै एकताको प्रयासलाई सार्थक निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।
उनले भने, ‘मैले आजसम्म मित्रघात गरेको छैन, जे भनिरहेको छु यो हाम्रो हितमा छ । व्यक्तिगत रूपमा म ओलीकै पक्षमा छु । तर, मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन, हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ ।’
उनले भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ ।’
गौतमले माधव नेपालसहितको एमाले एकतामा जोड दिदै महाधिवेशनबाट निर्वाचन हुँदा केन्द्रीय कमिटीमा माधव नेपालका ९ जना मात्र सदस्य कम रहेको स्मरण गराउँदै पार्टी आधा आधा विभाजित अवस्थामा रहेको बताए ।
यसअघि आफ्नो सम्वोधनमा ओलीले गौतमलाई ‘धेरै आउने जाने नगरी एमालेमै रहन’ आग्रह गरेका थिए । त्यसको जवाफमा वामदेवले आफू एमालेमा आइसकेको बताए । तर, पार्टी एकताको अपरिहार्यतामा उनले जोड दिए ।
उनले भने, ‘म तपाईंहरुसँग आइसकेको छु, अब फर्किन्न । तपाईंहरुसँगै बसिरहने हो । ख्याल गर्नुस् कि म लागिसकेपछि सफलता प्राप्त हुन्छ । विगतमा म लागेको अवस्थामा कसैले नपत्याएको सफलता प्राप्त भाको छ । अब फेरि म लाग्छु । नमर्दासम्म लाग्छु । तपाईंले ननिकाल्दासम्म लाग्छु ।’
उनले भने, ‘म तपाईंसँग आएको छु पार्टी एकता गराउनका लागि । मेरो प्रस्तावलाई सही ठान्नुहुन्छ भने एउटा माग गर्न चाहन्छु । कम्युनिष्टहरुसँग कार्यगत एकता तथा फुटेको पार्टी जुटाउने सम्वन्धमा हाम्रो पार्टीबाट तपार्इंले नेतृत्व गर्नुस् भनेर मलाई दिनुस् । तपाईंको मुख्य जिम्मेवारी यही भो भनेर छोड्दिनुस् । यति समयमा भन्न सक्दिनँ तर ढिलोचाँडो सबैको चित्त बुझ्ने गरी, कोही असहमत नहुने गरी पार्टी एकता गराउँछु । वामपन्थि एकता पनि गराउँछु । म पार्टीलाई पुरानो अवस्थामा पुर्याउन लाग्छु । मेरो आत्मविश्वास के छ भने म त्यसमा सफल हुन्छु ।’
आज म यति बोल्न पाउँदा धेरै खुशी भाछु । मरो खुशीको केही-केही मूल्य राखिदिनुस् । तपाईंसँग सँगै बसेर आलोचना गर्ने, कहिले रिस उठाउने नगरेको झण्डै दुई वर्ष भएको थियो । तपाईं वामदेवले फेरि विरोध गर्न थाल्यो भन्ने नठान्नुस् । म तपाईंको सबैभन्दा नजिक छु । अहिले पनि तपाईं सफल हुनुपर्छ भन्ने मान्यता छ मेरो ।’