२०७९ मंसिर १९ सोमबार

देशमा कुन त्यस्तो बेथिति बाँकी छ, जसका लागि राजतन्त्र नै चाहिएको छ ?

देशमा कुन त्यस्तो बेथिति बाँकी छ, जसका लागि राजतन्त्र नै चाहिएको छ ?
पूर्वपञ्चहरूको पुरानो पार्टी राप्रपाका नयाँ अध्यक्ष राजेन्द्र लिङ्देनले तेज गतिमा राजा खोजिरहेको देखेर ठूला नेता पक्कै चकित र दिग्दार होलान् । तिनलाई लागिरहेको होला, कहाँ के कमी हुन दिइएछ र राजा चाहिएछ ?
सन् २०१० देखि पाँच वर्ष उरुग्वेका राष्ट्रपति रहेका जोसे अल्बर्टो ‘पेपे’ मुजिका कोरनाडोले राजधानी मोन्टेभिडिओको भव्य निवास छाडेर सहरबाहिरको सानो फार्महाउसमा कार्यकाल पूरा गरे । घरमा सुरक्षाका लागि जम्मा दुई प्रहरी थिए । सन् १९६० र ७० को दशकको वामपन्थी गुरिल्ला युद्धका यी कमान्डर १४ वर्ष जेल बसेका थिए । ६ पटक त उनीमाथि गोली प्रहार भएको थियो । उनले नयाँ धारासम्म जडान गरेनन्, पुरानै इनारको पानी तानेर पिए । श्रीमतीसँग मिलेर फलफूल र तरकारी उमारे । जनताको प्रतिमहिना औसत आम्दानी करिब चार सय पचहत्तर डलरभन्दा बढीको सबै तलब दान गरे । फेरि राजा सम्झन राजतन्त्रभन्दा यति भिन्न देखिने यस्तो सस्तो अनि चुत्थो गणतन्त्र नेपालमा छ र राजेन्द्रजी ?
हाम्रो गणतन्त्र पेपेको गणतन्त्र रहेन, न हो ची मिन्हको, न मन्डेलाको । नेपाली नेताहरूले गणतन्त्रलाई श्रीपेचको स्थानान्तरण मात्रै बुझेका रहेछन्, त्यसैले सिंहासन नै सिंहासन छन् देशमा । बुढानीलकण्ठ वा बालुवाटार, बालकोट वा खुमलटार, यी ठाउँ होइनन्, सिंहासनका नाम हुन् । हुुकुमप्रमांगी उस्तै छ । टोलटोलमा राजा फलेका छन् र तिनले साइजअनुसारका सिंहासन सँगसँगै बोकेरै हिँडेका छन् । तिनले पाए मन्च, नपाए पिर्का, त्यो पनि नभए डोजर र लोडरमै भए पनि सलामी लिइरहेका छन् । राजदरबारहरूको यति भव्य विकेन्द्रीकरण एउटा राजावादीका रूपमा तपाईंको जित होइन र राजेन्द्रजी ?
हाम्रा कुनै पनि राष्ट्रपतिले भारतीय राष्ट्रपति एवं महान् वैज्ञानिक अब्दुल कलाम आजादले झैँ औपचारिक कार्यक्रममै फाटेका चप्पल लगाएर राष्ट्रपति पदको मानमर्दन गरेनन् । क्रोएसियाकी पूर्वराष्ट्रपति कोलिन्दा ग्राबर कितारोविकले झैँ ‘इकनमी क्लास’को हवाई यात्रा गरेर यो महान् पदको गरिमा घटाएनन् । उरुग्वेका पूर्वराष्ट्रपति मुजिकाले झैँ राष्ट्रपति भवन खाली छाडेर पाँचकोठे सामान्य घरमा यो सर्वोच्च पदको प्रतिष्ठाको हुर्मत लिएनन् । तपाईंले शिर झुकाएको शाही सानलाई यो गणतन्त्रले बरु थप रंगरोगन गर्‍यो, घट्न त मरे दिएन । तैपनि तपाईंको राजशाही तिर्सना मेटिएन राजेन्द्रजी ?
हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीहरूले नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले झैँ सातामा दुई घन्टा सामान्य कलेजमा पढाएर मास्टरीको तमासा देखाएनन्, न उनले जस्तो विनासुरक्षाकर्मी साइकलमा अफिस गएर कहिल्यै शाही मर्यादा घटाए । हामीले त राजासमेत लजाउने गरी राष्ट्रपतिहरूका सवारीमा सडक मात्र होइन, आकाशसम्म खाली गर्ने गरेका छौँ । कुनै तामझाम कम होला र शाही मर्यादा क्षतविक्षत् होला भन्नेमा बरु ज्ञानेन्द्रलाई मतलब नहोला, गणतन्त्रलाई छ । तैपनि, तपाईंको शाही तिर्खा मेटिएन राजेन्द्रजी ?
हरेक नेता र तिनका निवासमा राजशाही छ । हरेक नेताको कार्यशैलीमा राजशाही छ । हरेक नेताको निर्णय–प्रक्रियामा राजशाही छ । यत्ति हो, शाही पोसाक अझैँ नारायणहिटीमै छ । त्यो पनि लगाइदिएहुन्थ्यो भन्ने हो राजेन्द्रजी ?
भारतका राष्ट्रपति राधाकृष्णन्को जन्मदिन मनाउन अनुरोध गर्नेलाई उनले शिक्षक दिवस मनाउन आग्रह गरे । त्यसैको सम्मानमा भारतमा शिक्षक दिवस सुरु भयो । उनले सातामा दुई दिन खाली राखेका थिए, हरेक नागरिकलाई भेट्न । न समय लिनुपथ्र्यो, न निवेदन दिनुपर्थ्यो । हामीकहाँ त्यस्तो सस्तो गणतन्त्र छ र राजेन्द्रजी ? राजा बिर्सिएलान् भनेर गेटमै फोन खोस्छौँ र कुराउँछौँ । हाम्रा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले अझैँ आँट नगरेको एउटै काम बाँकी छ, एक हजार एक सदस्यीय शुभजन्मोत्सव समिति र सार्वजनिक बिदा । अब त्यसका लागि प्रेरित गर्ने त राजेन्द्रजी ?
उरुग्वेका पूर्वराष्ट्रपति मुजिकालाई न महामहिम भन्नुपर्थ्यो, न श्रीमान् । न नामअगाडि ‘मिस्टर प्रेजिडेन्ट’ चाहिन्थ्यो, न ‘सर’ । उनको त नामै ‘पेपे’ राखिएको थियो । हामीकहाँ ‘तिमी’ नभन्न झन्डै अध्यादेश आएन । तपाईं आफैँ भन्नोस्, कहाँ के गल्ती गरेर कसरी बिर्साइयो राजा ? कुन तामझाम कम भयो वा कुन शाही मर्यादा क्षतविक्षत् गरियो ? वा, कुन जात्रा रोकियो र राजा चाहियो राजेन्द्रजी ?
मलावीकी प्रथम महिला राष्ट्रपति जोयस वान्दाले राष्ट्रपतिका निजी जेट र ६० वटा लिमोजिन बेचिदिइन् । दक्षिणी अफ्रिकाकी यी प्रथम र अहिलेसम्म एक मात्र महिला राष्ट्रपतिले यसरी आएको दश लाख डलर राष्ट्रलाई समर्पण गरिन् । झन्डै यस्तै प्रयास भर्खरै निवर्तमान पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि गरे । के हामीकहाँ पनि यस्तै सस्तो काम भयो र तपाईंको चित्त दुख्यो राजेन्द्रजी ? तामझाम र वैभव नदेखिने राष्ट्रपति र प्रधानमन्त्री बनेर नेताहरूले राजतन्त्र बिर्साएको अनुभव भयो र तपाईंलाई ? गणतन्त्रले कहाँ राजा बिर्सायो र तपाईंलाई सम्झना आयो ? यत्ति हो, राष्ट्रपति, प्रधानमन्त्री वा कोही बडे नेताले सिधै राजदण्ड समाइसकेका छैनन् । त्यो पनि ग्रहण गरिदिएहुन्थ्यो भन्ने हो राजेन्द्रजी ?
राजतन्त्रकै सम्मानमा हाम्रा कुनै पनि नेताले सादगीपूर्ण जीवन बिताएर शाही तामझामको मर्यादा घटाएका छैनन् । तिनका स्कर्टिङ हेर्नोस् । तिनका घाँटीका माला हेर्नोस् । तिनका मञ्च हेर्नोस् । तिनको जीवनशैली हेर्नोस् । तिनको बसाइ हेर्नोस् । हरेक नेता र तिनका निवासमा राजशाही छ । हरेक नेताको कार्यशैलीमा राजशाही छ । हरेक नेताको निर्णय–प्रक्रियामा राजशाही छ । यत्ति हो, शाही पोसाक अझै नारायणहिटीमै छ । त्यो पनि लगाइदिएहुन्थ्यो भन्ने हो राजेन्द्रजी ?
मान्छे मारेर नक्कली चालक खडा गर्न र राज्यको दुरुपयोग गर्न अब पारस सरकार नै चाहिने भन्ने पनि छैन । शीर्ष परिवारदेखि प्रदेश–प्रदेशसम्म उच्च कोटीका पारस सरकारहरू जन्मिएका छन् ।
ढल्दै गरेको सिंहासनको चिन्ता छाडेर अफ्रिकी महादेशमा टेलिकमका टावर हेर्दै हिँडेका थिए राजा ज्ञानेन्द्र । त्यस्तो व्यापार अब थप ज्ञानसहित नेताहरूले पनि सिकिसकेका छन् । देशमा कुन त्यस्तो बेथिति बाँकी छ, जसका लागि राजतन्त्र नै आवश्यक छ ? यत्ति हो, श्रीपेच अझैँ संग्रहालयमा छ । एउटै मात्र भएर पनि होला, त्यसलाई पहिरिइसकिएको छैन । के त्यो पनि धारण गरिदिएहुन्थ्यो भन्ने तपाईंको चाहना हो राजेन्द्रजी ?
पक्कै पनि तपाईंले राजा चाहिन्छ भन्न पाउनुपर्छ । हिजो गणतन्त्र चाहिन्छ भन्दा तातो गोली खानुपर्थ्यो, आज राज्यको सुरक्षामा माइक समाएर तपाईंले सानका साथ राजा खोजिरहनुभएको छ । गणतन्त्रका हजारौँ सहिद छन्, तपाईंको एउटै सहिद छैन र हुनुपर्दैन । नेताले जति विरूप बनाए पनि जनताले गणतन्त्र यत्तिका लागि ल्याएको हो ।
तर, राजा फर्किंदा केही झमेला छन् । अढाई सय वर्ष शासन गरेर बिदा भए राजा । त्यो बिदाइ बल्ल पन्ध्र वर्ष पुग्दै छ । पन्ध्र वर्षअघि देशमा दूधको नदी बग्थ्यो भन्न अलि छिटो हुन्छ । शासनको मर्यादा राख्न मौसुफले फेरि एकपटक इन्टरनेट काटिबक्सेला । रेडियो त बन्द गरिबक्सन्थ्यो, सोसल मिडियालाई के गरी बक्सेला ? फेरि एयरपोर्ट बन्द गरिबक्सेला । सेना उतारेर संकटकाल लगाइबक्सेला । यो झन्झट हुन्छ राजेन्द्रजी ! काठमाडौंमा उन्नाइस दिने जनआन्दोलनका वेला तपाईं झापामा राजाको चुनावको जिविस सभापति हुनुहुन्थ्यो सायद ।
चर्चिलले भनेका थिए, ‘इतिहास मप्रति दयालु हुनेछ किनकि म आफैँले यसलाई लेख्ने फैसला गरेको छु ।’ नेपाली राजतन्त्रले पनि आफ्नो इतिहास आफैँ लेखिसकेको छ । अब त्यसलाई इतिहासको शान्त कक्षमा सुत्न दिनोस् । हेर्नोस्, कति अप्ठेरो हुन्छ ज्ञानेन्द्र सरकारलाई नेपाली बोल्न । सरकारले के बिराउनुभएको छ र बोल्ने र सुन्ने दुवैलाई दु:ख हुने गरी फेरि अंग्रेजी टोनमा शाही सम्बोधन पढाउनुहुन्छ ? हेल्मेटसमेत फालेर यति उन्मुक्त जीवन बाँचिरहेका पारस सरकारले तपाईंको बिगार गर्नुभएको छ र उहाँलाई फेरि छोपेर शाही पिँजडामा लैजानुहुन्छ ? यति धेरै भेराइटीका तौल–तौलका राजाहरू हुँदाहुँदै ज्ञानेन्द्र वा पारस सरकारलाई अब दु:ख नदिऊँ । यो हाम्रो होइन, तपाईंकै गणतन्त्र हो । प्लिज, चित्त बुझाइदिनोस् राजेन्द्रजी !
नेताहरू सकेसम्म ठूलो राजा हुने दौडमा छन् र इतिहासको पुनर्लेखन होइन, इतिहासको भ्रष्टीकरणलाई सघाउँदै छन् । आज गणतन्त्रमा तन्त्र बलियो र गण कमजोर भएको छ । उत्तर छन्, उत्तरदायित्व छैन । राजतन्त्रकै संगीतमा बजिरहेको गणतन्त्रको यो गीत तपाईंको जित होइन र राजेन्द्रजी ?

२०७९ बैशाख २, शुक्रबार प्रकाशित 0 Minutes 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।