
शिक्षा मेरो पहिलो प्राथमिकता हो ।
महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति गर्नेछौँ । पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरणको तय गरिनेछ । विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिनेछ । प्रभावकारी शिक्षण सिकाइका लागि प्रविधिको प्रयोग र बालबालिकासँग गरिने अन्तरक्रियाबारेमा विदेशबाट विशेषज्ञ झिकाएर शिक्षकका लागि आवश्यक तालिमको व्यवस्था गर्नेछौँ । यसले गुरु र शिष्यबीचको सम्बन्धलाई गाढा बनाउनेछ । बालबालिकालाई घरदेखि विद्यालय जाउँजाउँ लाग्ने वातावरणको निर्माण गर्नेछौँ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गर्छौं ।
साताको एक दिन पाठ्यक्रमभन्दा बाहिर विद्यार्थीलाई रुचि लागेका विषयका बारेमा अन्तरक्रिया गराइनेछ । कसैलाई रोबर्ट बनाउन, कसैलाई गीत गाउन, नाच्न, कसैलाई नाटक खेल्न मन पर्ला । साताको एक दिन त्यो अतिरिक्त क्रियाकलाप गरियो भने यसले विद्यार्थीको सम्भावना प्रस्फुटित हुन्छ । शिक्षाको डिग्रीबाहेक अन्य सीप भयो भने आयआर्जनमा पनि सहयोग पुग्न सक्छ । विद्यार्थीलाई आफैँ सक्षम बनाउने हाम्रो उद्देश्य हो ।
पूर्वाधार र विद्यार्थी नभएका विद्यालयलाई ‘मर्ज’ गर्छौं । कतै खेल मैदान छैनन्, कतै पर्याप्त कक्षाकोठा छैनन् । त्यसलाई मर्ज गराएर त्यहाँका विद्यार्थी र शिक्षकलाई व्यवस्थापन गर्न सक्छौँ ।निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आउने अवस्था बनाउने हाम्रो चाहना हो ।
शिक्षा संस्कारबाट सुरु हुनुपर्छ । हामी महानगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम भोलिबाट नै हुन्छन् । विद्यालयमा सकारात्मक वातावरण बनाउन आवश्यक बजेट छुट्याउछौँ र प्रभावकारी अनुगमन पनि गर्छौं ।
– बालेन शाह