२०८१ माघ १ मंगलवार

दाङमा जनपत्रकार सङ्गठनका अध्यक्ष सहित ८ जना पक्राउ।

दाङ : दाङमा प्रहरीले घोराही र तुलसीपुरबाट ८ जना बन्दकर्तालाई पक्राउ गरेको छ । तुलसीपुरको वीरेन्द्र चोकबाट ४ जना बन्दकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनपत्रकार संगठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली, युवा संघ नेपालका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दीपेन्दु, मजदुर सङ्गठनका नेता सञ्जय रहेका छन् । तुलसीपुर बजारमा सवारी साधनको चाँपी खोस्दै हिँडेकोले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज शीतल वलीले क्षमता भन्दा बढी ढुङ्गा नराख्न र बन्दको अवज्ञा नगर्न टिपरलाई सम्झाउँदै गर्दा रिपोर्टिङमा रहेका पत्रकार सहित ४ जनालाई पक्राउ गरेको बताए । यस्तै घोराहीबाट अखिल (क्रान्तिकारी )का जिल्ला संयोजक खुमन पौडेलसहित ४ जनालाई घोराहीको सर्राबाट प्रहरीले गिरफ्तार गरेको नेकपा दाङ जनाएको छ । यस्तै पौडेल, जिल्ला सदस्य हिमाल केसी, टार्जन वलीसहित ४ जनालाई घोराहीको सर्राबाट प्रहरीले पक्राउ गरेको पार्टीले जनाएको छ ।

शान्तिपूर्ण ढंगले बन्द गराउन सडका गएका विद्यार्थी तथा नेताहरूलाई प्रहरीले बिना कारण गिरफ्तार गर्नु निन्दनीय कार्य भएको र घोराही– तुलसीपुरबाट गिरफ्तार गरिएका सबै जनालाई निःशर्त यथाशीघ्र रिहाई गर्नुपर्ने नेकपा दाङले बताएको छ । नेकपाले तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पुर्जी जारी, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्धमा दाङ सहित देशैभर एक दिने बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ । बन्द बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गरिने छ ।

बन्दको समयमा अस्पताल, होटल, चियाखाजा घर, एम्बुलेन्स, प्रेस, लगायतका अत्यावश्यक सवारी साधन सञ्चालन गर्न दिइने छ । प्रेसको दुरुपयोग धेरै भएकाले वास्तविक पत्रकार हो ? होइन भन्ने विषयमा भने अलि निगरानी बढाउने इन्चार्ज वलीले बताए । बन्दमा सार्वजनिक सवारी साधन, उद्योगधन्दा, स्कुल, कलेज सबै भन्दै गरिने पार्टीले जनाएको छ ।

२०७९ भाद्र ७, मंगलवार प्रकाशित 0 Minutes 297 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।