
काठमाडौ, भदौ ७ कांग्रेस नेता एवं सांसद डा. मीनेन्द्र रिजालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उहाँकै निजी निवास बालकोट पुगेर भेट गर्नुभएको छ । रिजालले सोमबार झन्डै सवा घन्टा सौहार्दपूर्ण भेटघाट गर्नुभएको हो । भेटमा उहाँहरूबीच राजनीतिक विषयमा अन्तरंग कुराकानी भएको नेता रिजालले बताउनुभयो ।
सत्ता गठबन्धनसँग सकारात्मक सम्बन्ध नरहेका प्रमुख विपक्षी नेता ओलीसँगको भेटका लागि नेता रिजालले नै अग्रसरता लिनुभएको थियो ।
‘हामीबीच खुला रूपमा सन्तोषजनक कुराकानी भयो,’ रिजालले भन्नुभयो , ‘म मेरो पार्टीको नेतृत्वलाई जानकारी दिनुपर्ने ठाउँमा यसबारे बताउनेछु तर सार्वजनिक रूपमा यसबारे केही बताउन उचित हुन्न।
’यतिबेला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा समूहमा रिजाल हुनुहुन्न। पार्टी महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि उहाँले रक्षामन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
पाँच वर्षअघि प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनका कारण उत्पन्न असहज स्थितिमा पनि निर्वाचित सीमित कांग्रेस सांसदमध्ये रिजाल एक हुनुहुन्छ।
अघिल्लो निर्वाचन सहजै जिते पनि यसपटक उम्मेदवार बन्नसमेत रिजाललाई पार्टीभित्रै चुनौती छ। ओलीसँगको यो भेटलाई भने कांग्रेस वृत्तमै अर्थपूर्ण रूपमा लिइएको छ।