
काठमाडौँ । राष्ट्रिय सभाको आइतबार बस्ने बैठकमा नागरिकता विधेयक टेबुल गरिँदैछ ।
राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभाबाट पारित भएर आएको नागरिकता विधेयक टेबुल गरिने उल्लेख गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालद्वारा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराइनेछ ।
यसअघि, संघीय संसदको दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको उक्त विधेयक प्रमाणीकरण नभई सन्देशसहित पुनः प्रतिनिधि सभामा फिर्ता पठाइएको थियो । उक्त विधेयक प्रतिनिधि सभाले कुनै पनि परिवर्तन नगरी पारित गरेर राष्ट्रिय सभामा पठाएको हो । राष्ट्रिय सभाले पारित गरेपछि सोही विधेयक प्रमाणीकरणका पुनः राष्ट्रपतिसमक्ष पठाइने तयारी रहेको छ ।
नेपालको संविधानले दोस्रोपटक फिर्ता गर्ने अधिकार नदिएकाले यो विधेयक प्रमाणीकरण गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई छ ।