२०८० जेष्ठ २० शनिबार

समानुपातिकका लागि दल दर्ता गर्ने अन्तिम दिन आज !!

काठमाडौँ । आउँदो मंसिर ४ गतेका लागि तय प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिने समय आज आइतबार सकिँदैछ ।

निर्वाचन आयोगले भदौ १० देखि १२ गतेसम्म निवेदन पेस गर्न दिएको समयअनुसार आज आइतबार अन्तिम दिन हो । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ ।

गत साउन २२ देखि ३१ गतेसम्म आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए । दर्तामध्ये १२ वटा दलले तालमेल गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न चारवटा समूह बनाएका छन् । दर्ता दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउने आयोगले बताएको छ । आयोगले जारी गरेको सूचनामा भनिएको छ, ‘एकल चुनाव चिन्ह लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा त्यस्ता सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग अलग रूपमा निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिले र त्यस्ता दलहरूले निर्णय गरी अलग अलग व्यक्तिलाई अधिकार दिएकोमा त्यस्तो अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरी निवेदन दिनुपर्नेछ ।’

दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि छुट्टाछुट्टै निवेदन दिनुपर्नेछ । आयोगको निर्वाचन कार्यतालिका बमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।

२०७९ भाद्र १२, आईतवार प्रकाशित 0 Minutes 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार