
कुनैपनि परिवारमा बच्चाको जन्म हुनु निकै खुसीको कुरा हुन्छ । बच्चाको जन्म संस्कार मनाउने परम्परा चाहिँ देश, धर्म, समुदाय वा सम्प्रदाय पिच्छे फरक फरक हुनसक्छ ।
संसारका कतिपय समुदायमा बच्चाको जन्म भएसँगै विभिन्न प्रकारका संस्कारहरु निभाइन्छ । जापानीको पनि आफ्नै मौलिक जन्म संस्कार र परम्परा छन् । नेपालीहरुको जस्तै न्वारन, पास्नीसंग हल्का फुल्का मिल्दोजुल्दो त केहि अनौठा जन्म संस्कारहरु प्रचलनमा रहेका छन् । जापानमा बच्चा जन्मे पछि एक वर्ष पुग्दासम्म मुख्य रूपमा गरिने पाँच संस्कारहरू ओशिचिया मेइमेइ शिकी, ओकुइजोमे, हात्सु-जेक्कु, इस्शोउ मोची र एराबितोरी हुन् ।
ओशिचिया मेइमेइ शिकी (बच्चाको नामकरण) रितिरिवाज वा प्रचलन अनुसार बच्चाको नाम राखिने कार्य हो । यो शिशु जन्मेको सातौं रात्रीमा गर्ने गरिन्छ । यस दिन नजिकका नातेदारहरू भेला गरेर बच्चाको नाम घोषणा गरिन्छ । यस दिन नवजात शिशुलाई सेतो कपडामा सजाइन्छ (परम्परागत रूपमा, नवजात शिशुहरूलाई जन्मेको १७ दिनसम्म सेतो लुगा नै लगाइन्छ) र अतिथिद्वारा पैसा वा उपहार दिइन्छ । साथै केहि विशेष परिकार खाएर मनाइन्छ ।
ओकुइजोमे (पहिलो खाना) ओकुइजोमे सामान्यतयाः बच्चाको जीवनको १०० औं दिनको वरिपरि हुन्छ । यस दिन विभिन्न परीकार तयार गरी बच्चालाई ’पहिलो खाना’ को रूपमा चखाइन्छ ।
हात्सु-जेक्कु (पहिलो पर्व) हिनामात्सुरी प्रत्येक वर्ष मार्च ३ मा मनाइने बालिकाहरूको उत्सब हो । जसलाई गुडिया दिवस वा बालिका दिवस पनि भनिन्छ । बच्चाको पहिलो हिनामात्सुरी विशेष तरिकाले मनाइन्छ । यस चाडमा बालिकाका आमाले हिना गुडियालाई रातो कपडामा सजाएर बाहिर नदीमा छोडिदिन्छन् । परम्परागत मान्यता अनुसार, हिना गुडियाले परिवारका बालिकालाई रोग र दर्भाग्यबाट सुरक्षा प्रदान गर्ने विश्वास गरिन्छ ।
त्यैसैगरी बालकको पहिलो बाल दिवस विशेष तरिकाले मनाइन्छ । प्रत्येक वर्ष मे महिनाको ५ तारिख मनाइने बाल दिवस पहिले केटाहरूको पर्व भनेर चिनिन्थ्यो । यस दिन परिवारका सद्स्यहरूले बालकको राम्रो स्वस्थ र तागतको सम्मान स्वरुप परम्परागत रूपमा आफ्ना सामुराई (योध्दा) को झल्को दिने खेलौनाहरु प्रदर्शन गर्छन् र आफ्नो घर टोल कोइनोबोरी (झण्डा जस्तो फरफराईने माछा आकारका नोबोरी) ले सजाउछन् ।
इस्शोउ मोची जापानी बच्चाको पहिलो जन्मोत्सवमा दिइने १ दशमलव ८ किलोको चामलको केक हो । बच्चा जन्मेको एक वर्ष पुगेपछि बच्चाको लागि गोलाकारको १ दशमलव ८ किलोको रातो र सेतो रंगको मोची (चामलको केक) बनाएर कपडामा बाढी बच्चाको ढाडमा बोकाइन्छ । यस विधीको उद्देश्य बच्चाको दीर्घायु, शान्तिमय जीवनको कामना र जीवनभर खानाको कमिको महसुस नहोस भन्ने हो ।
एराबितोरी (छनौट) एराबिटोरी बच्चाको पहिलो जन्म दिवसमा गरिने क्रियाकलाप हो । यसका लागि कलम, पैसा, रुलर र चपस्टिक जस्ता धेरै वस्तुहरू बच्चाको अगाडि राखिन्छ र बच्चालाई रोज्न दिइन्छ । दिइएको वस्तु मध्ये बच्चाले जे रोज्छ भविष्यमा बच्चाको त्यहि वस्तुसंग सम्बधित बाटो रोज्ने विश्वास गरिन्छ । जस्तै यदि उसले पैसा रोजेमा व्यवसाय गर्ने वा धन कमाउने, कलम रोजेमा लेखक, चपस्टिक्स रोजेमा कुक आदि ।