२०८१ बैशाख १२ बुधबार

देउवासँगै भिड्न आए कर्ण मल्ल !!

देउवासँगै भिड्न आए कर्ण मल्ल

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक चुनाव लड्दैछन् । ०४८ को चुनाव जितेपछि एकैपटक गृहमन्त्रीको जिम्मेवारी पाएका देउवाले त्यसपछि राजनीतिकरुपमा कहिल्यैपछि फर्किएर हेर्नुपरेको छैन । डडेल्धुराबाट निरन्तर छ पटक चुनाव जित्दा उनी पाँच पटक त प्रधानमन्त्री नै भइसकेका छन् । तर, यसपटकको चुनावमा भने देउवाका लागि नयाँ स्वाद मिल्ने देखिएको छ ।

चुनावी परिणाम कसको पक्षमा पर्छ ? अनुमान लगाउनु हतारो हुन्छ । तर, यसपटकको चुनावी दृश्य भने विगतको भन्दा निकै फरक बनेको छ ।

विगतका निर्वाचनमा तीन पटकसम्म देउवाको निकटतम प्रतिस्पर्धी रहेका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्ट यसपटक देउवाको लागि भोट माग्ने भएका छन् भने दुई दशकसम्म देउवाकै चुनावी कमाण्डर बनेर काम गरेका कर्णबहादुर मल्ल प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।

हाल बीपी कांग्रेसको वरिष्ठ उपाध्यक्ष रहेका मल्लले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने उनलाई नेकपा एमालेले पनि समर्थन दिएको छ । डडेलधुरामा स्थानीय तहको निर्वाचनमा पनि बीपी कांग्रेस र एमालेको चुनावी तालमेल भएको थियो । लामो समयसम्म देउवाको सहयोगी भएर राजनीति गरेका मल्ल कांग्रेस डडेलधुराको दुई पटक सभापति भइसकेका नेता हुन् ।

पार्टीको १४ औँ महाधिवेशनमा डडेलधुराको क्रियाशील सदस्यता नवीकरण र वितरणमा देउवासँग विवाद भएपछि देउवा पक्षले मल्ललाई बाहिर राखेर अधिवेशन गरेको थियो । मल्लले विधिविपरीत भएको अधिवेशन सच्याउन माग गर्दै डडेलधुरादेखि केन्द्रीय कार्यालयसम्म समेत गरी महिनौँसम्म आन्दोलन, धर्ना र अनसन गरे । तर, उनको माग सुनुवाइ भएन ।

स्थानीय तहमा कांग्रेसविरोधी गतिविधि गरेपछि मल्ललाई देउवाले कांग्रेसको साधारण सदस्यबाट समेत निष्कासित गरे । त्यसपछि मल्ल बीपी कांग्रेसको केन्द्रीय वरिष्ठ उपाध्यक्ष मनोनीत भएका हुन् । स्थानीय निर्वाचनमा देउवाविरुद्व गतिविधि गरेका मल्ल कांग्रेसबाट निकालिएपछि अन्ततः प्रतिनिधिसभा सदस्यकालागि देउवाविरुद्व उम्मेदवारकै रुपमा उभिने भएका छन् । देउवालाई कमजोर पार्न एमालेले पनि मल्ललाई समर्थन दिएको छ ।

डडेलधुराको राजनीतिमा ०४८ सालपछि देउवाको एकलौटी छ । उनले ०४८ देखि हालसम्मका सबै चुनाव जितेका छन् । तर, यसपटक देउवा र उनकै पूर्व चुनावी कमाण्डरबीचको प्रतिस्पर्धा विगतको भन्दा रोचक बन्न सक्ने देखिएको छ ।

देउवा र मल्लको चुनावी आधार एउटै हो । मल्ल आफैँले विगतमा बनाएको संगठनको साथ पाउने अपेक्षामा छन् भने देउवा पनि उही कांग्रेसको संगठनको । यद्यपि यसपटक देउवालाई विगतका प्रतिस्पर्धीको भने साथ छ । विगतको आफ्नै विश्वासपात्र आफूविरुद्व खडा हुँदा देउवालाई प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रको भने साथ छ ।

डडेलधुरामा कांग्रेसपछि ठूलो दल नेकपा माओवादी केन्द्र नै हो । देउवासँग निरन्तर तीन पटक चुनाव हारेका माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका नेता भट्ट गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिँदैछन् । उनी ०६४ पछि देउवासँग निरन्तर पराजित हुँदै आएका छन् ।

भट्टले ०७४ मा एमालेसँग तालमेल हुँदा सबैभन्दा धेरै भोट २१ हजार ४९८ ल्याए । तर, त्यति हुँदा पनि देउवाले ६ हजार ९४८ मतान्तरले जिते । देउवाले २८ हजार ४४६ मत ल्याएका थिए । देउवाले भट्टलाई ०७० मा ११ हजार ५८८ र ०६४ मा एक हजार ३६२ मतान्तरले चुनाव जितेका थिए ।

जिल्ला सभापति भइसकेका मल्लसहित नेताहरू कांग्रेसबाट निकालिएपनि स्थानीय तह निर्वाचनको परिणाम कांग्रेसलाई खासै असर परेको छैन । वडाध्यक्षको मतको आधारमा डडेलधुरामा कांग्रेसको मत २१ हजार ७३५ छ भने माओवादी केन्द्रको मत १२ हजार ८७८ छ ।

जिल्लामा तेस्रो शक्ति रहेको नेकपा एमालेको मत १० हजार ४४९ मात्रै छ । एमाले विभाजित भएर गठित नेकपा एकीकृत समाजवादीको ५ हजार ४१ मत पाएको छ भने बीपी कांग्रेसले ३ हजार ६०४ मत पाएको छ । यो परिणाम हेर्दा सत्ता गठबन्धनको साझा उम्मेदवार देउवाको पक्षमा ३९ हजार ८१० मत देखिन्छ भने एमाले–बीपी कांग्रेस गठबन्धनको १४ हजार ५३ मत छ । मल्लनिकट नेताहरू भने देउवाविरुद्वको विद्रोहलाई महत्व दिनुपर्ने बताउँछन् । मल्ल आफैँ उम्मेदवार भएका कारण यो चुनावको परिणाम फरक हुने दाबीसमेत उनीहरूको छ ।

‘उहाँले डडेलधुरामा देउवाको उत्तराधिकारकोरुपमा काम गर्नुभएको हो, उहाँ आफैँ मैदानमा हुँदा परिणाम फरक पर्छ,’ मल्लनिकट एक नेताले भने, ‘डडेलधुरामा देउवाको पक्षमा पहिलेजस्तो जनलहर छैन ।’

अहिले चुनावी मैदानमा प्रतिस्पर्धी बनेका देउवा र मल्लबीच गुरू र शिष्यको सम्बन्ध छ । मल्ल देउवालाई राजनीतिक गुरूको रुपमा मान्छन् । युवा उमेरका मल्लको क्षमता देखेपछि ०४८ को निर्वाचनताका देउवाको नजर परेको थियो । त्यहीबेला देखि देउवा–मल्ल दुरी नजिकियो ।

मल्लले देउवा गृहमन्त्री हुँदा सचिवालयमा नियुक्ति पाए । देउवा दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा उनी निजी सचिव नै भए । त्यसयता निरन्तर मल्लले देउवाको राजनीतिक सहयोगी र विश्वासपात्रका रूपमा काम गरे । ०६७ सालमा पार्टीको १२ औं महाधिवेशनबाट सभापति देउवाकै समर्थनमा जिल्ला सभापति बनेका मल्ल ०७२ मा भएको १३ औं महाधिवेशनबाट पुनः सभापतिमा दोहोरिए ।

१२ औं महाधिवेशनमा सर्वसम्मत जिल्ला सभापति बनेका उनीविरुद्ध डडेलधुरामा देउवा समूहकै अर्को गुट खडा भएको थियो । १३ औँ महाधिवेशनमा उनले २ भोटले सभापति जितेका थिए ।

२०७९ आश्विन २२, शनिबार प्रकाशित 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । patibishwo@gmail.com हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार