मेचीनगर, १७ पुस । झापाको काँकरभिट्टा स्थित मेची नदीमा निर्मित छ लेनको मितेरी पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि आज उक्त पुल सञ्चालनमा आएको हो ।
मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरुले आज दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर सो पुल सञ्चालन गर्नुभएको हो ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर पुलको रिबन काट्नु भएको थियो ।
काँकडभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५७५ मिटर लामो छ । पुलको सञ्चालन हुने जानकारी पाएपछि आज दिउँसो कार्यक्रममा सर्वसाधारण र रस्थानीय सामाजिक व्यक्तिहरुको भीड लागेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गर्नुभएको थियो । पुलको आधा भाग नेपाली सीमाभित्र बनेको छ ।
एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंकको भारु एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो । निर्माणको क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई तीन करोड ३७ लाख रुपैयाँ मुआब्जा नेपाल सरकारले दिएको थियो ।