
काठमाडौं/२५ पुस-सरकारले ‘नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम, २०७९’ सार्वजनिक गर्दै आगामी दुई वर्षमा देशलाई पूर्ण साक्षर बनाउने जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै सबैको समान पहुँच भएको र राष्ट्र समाज तथा जीवनसँग जोडिएको गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवाको नीति कार्यन्वयन गर्ने कार्यक्रम सार्वजनिक गरिएको हो ।
‘नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम, २०७९’ शिर्षक ६मा ‘गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार’ अन्तर्गत १० बुँदामा समावेश गरिएको छ ।
वर्तमान सरकार गठनमा सहभागि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजबादी पार्टी नेपाल, जनमत पार्टी र नागरीक उन्मुक्ति पार्टीले कार्यदल नै बनाएर न्यूनतम कार्यक्रम तयार पारेको हो ।
